म्युजिक भिडियोपछि चलचित्र

काठमाडौं : राजु सिंहको संगीतमा गायक दीप श्रेष्ठको स्वर रहेको चर्चित गीत ‘अचानो भो छाती…’को म्युजिक भिडियो सँगै नरेन खड्काले रंग क्षेत्रमा आफूलाई प्रवेश गराएका हुन् । कलाकारिता क्षेत्रमा प्रवेश गरेको ६ वर्ष लामो संघर्षपछि उनी म्युजिक भिडियो देखि चलचित्रको नायकसम्म बन्न सफल भएका छन् । उनको अभिनय रहेका चलचित्र ‘हमेसा’ अहिले प्रदर्शनको तयारीमा छ । कैलाली स्थायी घर भए पनि संयोगले मुम्बईमा जन्मिएका खड्का चलचित्र क्षेत्रमा जम्नका लागि अहिले काठमाडौंमा नै संघर्ष गरिरहेका छन् । ‘अचानो भो छाती…’ गीतको म्युजिक भिडियोपछि आधा दर्जन जति म्युजिक भिडियो, विज्ञापन चलचित्र र र्‍यापमा फेसन सो समेतको अनुभवसहित चलचित्रमा प्रवेश गरेका खड्काले छबिराज ओझाको सफल ब्यानरमा निर्माण भएको चलचित्र  ‘हमेसा’बाट डेब्यु गर्ने मौका पाएका छन् । ‘मैले त्यो ब्यानरको चलचित्रमा काम गर्ने अवसर त्यसै पाएको हैन,’ खड्काले भने, ‘सोही ब्यानरमा निर्माण भएका दुई चलचित्रमा चरित्र अभिनेताको काम गरेको थिएँ, त्यो कामको मुल्यांकन गरेर ‘हमेसा’मा मलाई नायकको भूमिका दिइएको हो’ ।
त्यसो त खड्काले कला क्षेत्रमा प्रवेश गर्नु अगाडी नै द्वन्द्व, अभिनय, नृत्यको प्रशिक्षण पनि लिएका थिए । प्रशिक्षणसहित प्रवेश गरेकाले पनि म्युजिक भिडियो हुँदै चलचित्रसम्म पुग्न सफल भएको खड्का बताउँछन् ।  ६ फिट अग्लो शरीरका धनी खड्का हेर्दा पनि उत्तिकै आकर्षक देखिन्छन् । उनको लक्ष्य पनि कुनै पनि अन्य नवप्रबेसीको जस्तै छ– फिल्म इन्डस्ट्रीको एक सफल कलाकार बन्ने । (सौस)

प्रतिक्रिया