मत-विमत

माधवी हाडेओखरजस्तो

सौर्य अनलाइन २०६९ मंसिर १६ गते ४:०४ मा प्रकाशित

मैले कम्युनिस्ट नभए पनि सन् १९४२ देखि नै मूर्तिपूजा गर्न छाडेको थिएँ । मेरा भाइ महेशमणिचाहिँ पहिला नै कम्युनिस्ट थिए । २००७ सालको पुसमा एकदिन उनलाई अस्पतालमा कुर्नुपर्दा राति उनीसँग तीनवटा किताब मागेर पढेँ र त्यसको भोलिपल्ट नै म कम्युनिस्ट भएँ । पछि म सक्रिय माक्र्सवादी भएपछि बिपी कोइरालाले नेपाली कांग्रेसमा बोलाउनुभयो । म नगएपछि मेरो ठाउँमा उहाँले तुलसी गिरीलाई राख्नुभयो ।
लामो समय लागेपछि ०४२ सालतिर मैले कम्युनिस्ट पार्टी छाडेँ । त्यो बेला हालका एकजना ठूला कम्युनिस्ट नेताको घरमा गएको थिएँ । त्यसबेला उनले छोराले लेखेको चिठी पढेर अनेकौँ दु:ख र गुनासो लेखिएको सुनाए । अर्का हालका माओवादी नेता हामीलाई भेट्न आउन लाग्दा उसलाई अर्को कोठाबाटै फर्काउँछु है भन्दै चिठी त्यहीँ छाडेर घरवाला नेता अर्को कोठामा गए । मैले अर्काको चिठी त्यसरी हेर्ने गरेको त थिइनँ तर त्यसदिन त्यो चिठी पढ्न मन लाग्यो । त्यहाँ त्यस्तो दुखको कुरा एक शब्द पनि लेखिएको थिएन । यो बनावटी कुराले मलाई निकै दु:ख लाग्यो । ती नेतालाई मैले नै कम्युनिस्ट बनाएर सकेसम्म माथि उठाएको थिएँ । यो घटनापछि म कम्युनिस्ट रहन सकिनँ ।
नेपालमा कम्युनिस्टहरूले किन संगठनअनुसारको प्रगति गर्न नसकेका होलान् भन्ने प्रश्न पनि आमरूपमा उठ्ने गर्छ । मेरो विचारमा संघर्षले खारिएका मान्छे कम्युनिस्ट आन्दोलनमा नलागेकै कारण त्यसो भएको हो । त्यसबाहेक युवा जोशमा नाराबाट आकर्षित भएर कम्युनिस्ट बन्ने र पछि विचार नै छाड्ने कारणले पनि यस्तो अवस्था आएको होला । हामी कम्युनिस्ट विचारधाराप्रति आकर्षित भएको समयमा राज्यले जे गरोस् भन्थ्यौँ अहिले अमेरिकाले सबै त्यही गरिरहेको छ आºना नागरिकप्रति । त्यसैले विकास र जनतालाई खुसी राख्ने प्रणाली आएमा जनताका लागि व्यवस्था र नाम ठूलो कुरा होइनजस्तो लाग्छ । कम्युनिज्मचाहिँ निकै टाढाको विषय हो ।
म ९० वर्षमा हिँड्दै छु र अहिले पनि लेखनमा सक्रिय छु । तर, म आफैँ हातले नलेखेर मुखले भन्दै अर्काको सहारामा लेख्ने गर्छु । यो बानीको पनि एउटा सन्दर्भ छ । वि.सं. ०२२ सालमा समीक्षा पत्रिकामा एकजना लेखकको लेख आयो । विचार र अक्षर दुवै हिसाबले त्यो लेख एकदमै स्तरीय थियो । उनलाई ‘कसरी यति राम्रो अक्षर लेख्नुभएको’ भनी सोध्दा उनले ‘मैले आफूले बोलेर लेखाएको मात्र हँु, लेखेको होइन’ भनेपछि मैले पनि त्यसैगरी सहयोगी पत्रकार शंकर दयाललाई डिक्टेसन गराएर लेख्न थालेँ । हातले लेख्दा पनि म काकाको नक्कल गर्ने हुनाले पहिलेदेखि नै सोझो डिको तान्दिनथेँ । पछि डिक्टेसन गराएर यसरी लेख्ने बानी नै पर्‍यो । अखबारी लेखन मात्रै नभएर साहित्य पनि म यसैगरी लेख्छु, लेखाउँछु । बानी नै यस्तै भएपछि जे लेखे पनि यसैगरी लेख्नुपर्ने अवस्था छ । अहिले ४ वर्ष यताचाहिँ स्वास्थ्यका कारणले पनि आफैँ लेख्न सक्दिनँ । अहिले नै चाहिँ म बनारस विश्वविद्यालयका संस्थापक मदनमोहन मालवीयबारे लेखाउँदै छु । म आइए पढ्दै उनी बितेका हुन् । १९१० मा उनले कसरी विश्वविद्यालय स्थापना गरे भन्ने विषयमा लेख्दै छु । मेरा पुर्खासँगको सम्बन्धका आधारमा म आफूले जानेका र सुनेका कुरा लेख्दै छु ।
मेरो विचारमा नारी सक्रिय रूपमा सहभागी नभएको व्यवस्था र समाजमा भएको परिवर्तन दिगो हुँदैन । मैले गन्दा ०३६ सालको जनमतसंग्रहको समयमा कांग्रेसको कार्यक्रममा लागेका हजारौँ मान्छेको जुलुसमा २१ जना महिला मात्र थिए । ६ महिनापछि पाल्पामा एउटा कार्यक्रमको सुरुमा १५ सयजना सहभागी भएकामा साढे ६ सय महिला थिए । अहिले हरेक सार्वजनिक कार्यक्रममा नारीको संख्या लगभग बराबरी छ । नारी जाति क्रान्तिबाट पर बसेमा त्यो क्रान्ति पूरा हँुदैन । मैले किताबका रूपमा वैदिककालका नारीबारे एउटा सामग्री तयार गर्दै छु । चाँडै बाहिर आउने त्यो किताबको नाम ‘वैदिक नारी चरित्र’ हुनेछ । वैदिक कालका १७ जना नारीको चरित्रबारे यसमा उल्लेख छ । त्यसमा ऋग्वेदको समय अर्थात् १८ सय इसापूर्वदेखि १२ सय इसापूर्वसम्मका नारी चरित्र छन् ।
नेपाली साहित्यप्रति मेरो रुचि नै केही फरक किसिमले सुरु भयो । बनारसमा बिए पढ्दा मैले नेपाली साहित्य रोजेँ । त्यसबेला नेपालीमा किताब नै थिएनन् भन्दा पनि हुन्छ । चारवटा किताब मगाएर पढेँ । १ सय पूर्णांकको परीक्षामा ६० नम्बरको हल गरँे । एउटा प्रश्नको उत्तर अंग्रेजीमा लेखेको कारण ५० नम्बर आयो । त्यसो गर्नुको कारणचाहिँ मैले नेपालीमा निबन्ध कहिल्यै पढेको थिइनँ । आफैँ लेखेर सिर्जना गर्ने विषयमा चाहिँ मेरो जीवनको प्रारम्भिक लेखनका तीन चरण छन् ।
सन् १९४१ मा बनारसमा ‘भागवत गीता’को पहिलो अध्यायको चारवटा भाषामा व्यंग्य अनुवाद गरेको थिएँ । त्यसपछि १९४३ मा बनारसमा घर आएको समयमा हिन्दीमा अज्ञात प्रेमिकालाई सातवटा रसात्मक प्रेमपत्र लेखेँ । मेरो विवाह भएको ४ वर्ष भएको थियो । मैले घरमा नराम्रो पर्ला भनेर खोजीखोजी ती पत्र च्यातँे । ती चिठी डरले च्यातेर ºयाँके पनि बाँकी एउटाचाहिँ शंकराचार्यको भागवत गीताको किताबमा राखेको रहेछु मैले । दिदीले किताब पल्टाउँदै जाँदा त्यो चिठी उहाँको हातमा परेछ । पछि त्यो चिठीले श्रीमतीसँग मेरो झगडा पनि गरायो, दुई घन्टासम्म रुवाबासी भयो । अन्त्यमा मैले चित्त बुझाउन सकेँ । यसपछि १९४८ मा वीरगन्जमा पढाउँदा मैले दासप्रथा उन्मूलनबारे ‘दासत्वमोचन’ भन्ने एकांकी नाटक लेखँे । त्यसबेला मोहनशमशेर मुलुकमा प्रधानमन्त्री थिए । त्यो समयमा नाटक देखाउनचाहिँ पाइएन । यी तीनवटापछि चाहिँ मैले सन् १९५० मा पार्टीमा लागेपछि र पत्रकारिता थालेपछि लेख्ने र पढ्ने क्रममा आलोचना, राजनीतिक लेखन र अन्य साहित्य लेखँे । जता गए पनि डायरीमा लेखेर बोकेर हिँड्ने गर्थें । ०१३ सालको अन्त्यमा ‘दैनिक हालखबर’मा प्रवेश गरेपछि साहित्यप्रतिको रुचि घुमाइफिराइ प्रवेश गराएँ । ०१६ देखि ‘समीक्षा’ सुरु भएपछि त आºनै रुचिअनुसार लेख्न पाइयो ।
मेरो पहिलो कृतिचाहिँ २०२१ सालमा छापिएको ‘कसले जित्यो कसले हार्‍यो’ भन्ने आठवटा कथाको संग्रह हो । यसका कथामा ९४ सालमा बाजेसँग बुद्धिचाल खेल्दाको अनुभवलाई प्रतीक बनाएको थिएँ । मलाई यी कथा निकै मन पनि परेका थिए । त्यसपछि ‘हाम्रा ती दिन’ भन्ने संस्मरण निकालेँ । बनारस जाँदा ६ वर्षको उमेरको सम्झना त्यसमा छ । त्यसपछि ‘माधवी’ निकालेँ । अहिलेसम्म ३३ वटा किताब निस्किएका छन् ।
‘माधवी’लाई साधारण पाठकका लागि लेखिएको किताब होइन पनि भन्ने गरिन्छ । यसलाई साहित्य लेखन दुईवटा धाराबाट हुन्छ भन्ने कुराबाट सुरु गर्नुपर्ने हुन्छ । एउटा पाठकको रुचिअनुसार र अर्कोचाहिँ कुन कालको साहित्य हो भन्ने कुरा । वर्तमान समयको नभएर निकै पुरानो समयको चित्र ल्याउने प्रयास माधवीमा गरिएको कारण अहिलेको भाषा, शैली र प्रस्तुतिले यस पुस्तकमा काम गर्दैनथ्यो । वैदिक समयको भाषा र जीवन आउनुपर्ने भएकाले पनि त्यो किताबको लेखाइ जटिल भएको र हाडेओखरजस्तो फुटाउनै गाह्रो किताब भएको टिप्पणी आएका हुन् ।

ऋग्वेद र वैदिक समयको भाषा र जीवन अहिले सबैले कहाँ बुझ्छन् र ? मैले त्यो किताबका लागि कौटिल्यको अर्थशास्त्रमा प्रयोग भएका २ सय ५२ शब्द प्रयोग गरेको छु । वैदिक वाङ्मयको प्राचीन संस्कृत कसैले बुझ्दैन पनि । पाठकलाई यसैले गर्दा यो हाडेओखरजस्तो भयो । अर्को कुरा, त्यो समयमा प्रयोग हुने वस्तु पनि त त्यसमा ल्याएको छु मैले, समयको जानकारी गराउनका लागि । उदाहरणका लागि गालबले सिकारीलाई भेट्दा सिकारीका हातमा बन्चरो हुन्छ । त्यहाँ सिकारीले प्रयोग गर्ने गरेको बन्चरोको बनावटलाई लिन सकिन्छ । त्यसबेला आजको भन्दा फरक बन्चरो प्रयोग गरिन्थ्यो । त्यहाँ इसापूर्व १३०० मा प्रयोग हुने बन्चरो प्रयोग गरिएको छ । मैले उपन्यासमा यी सबै व्याख्या गर्ने कुरा भएन । बुझ्ने मान्छेले पत्ता लगाउनुपर्‍यो ।
म आफैँलाई चाहिँ ‘माधवी’ कस्तो लाग्छ भन्दा पनि मैले कस्तो देखेको छु भन्ने मुख्य कुरा हो । मैले मराठी, बंगाली, हिन्दी भाषाका धेरै साहित्य पढेको छु, अंग्रेजीमा त यस विषयमा लेखिएको नै छैन । प्राचीन विषयमा लेखिएका धेरै किताब छन् तर ती सबै आधुनिक आँखाले हेरेर अहिलेकै भाषामा लेखिएका मात्र छन् । मैले प्रज्ञामा आफू रहेको समयमा भारत भ्रमणमा जाँदा भारतीय लेखक भीष्म साहनीको त्यही कथानकमा लेखिएको ‘माधवी’ नाटक पढेर उनलाई पनि माधवीमाथि अन्याय गरेको कुरा भनेँ । उनलाई मैले माधवीलाई फ्रेन्च ‘सी फँ’ सारी लगाइदिएजस्तो भयो भन्दा उनले हाँस्दै साहित्यमा यस्तो भइहाल्छ नि भने । माधवीको पात्र गालव विश्वामित्रको चेला थियो । ऊ कोसी किनारबाट वाग्मती किनारसम्म आउँदा ठाउँ–ठाउँमा ऋतुदान गर्दै महिलालाई गर्भवती बनाउँदै हिँड्छ । बरु यसमा कसैले प्रश्न उठाएका छैनन् । खासमा कुरा के हो भने त्यो बेला विवाह पद्धति नै सुरु भएको थिएन र पारिवारिक प्रणाली नै थिएन । समग्रमा भन्दा मलाई पनि माधवी स्तरीय कृति हो भन्ने लाग्छ ।

मेरो विचारमा साहित्यमा कल्पना र यथार्थ दुवै हुनुपर्छ । साहित्य जे विषयमा लेखिए पनि त्यसमा रसात्मकता थप्ने काम कल्पनाले गर्छ । कल्पनाविहीन साहित्य रुखो र अरुचिकर हुन्छ । साहित्य यथार्थभन्दा फरक नहुने भए पनि यसमा कल्पना जोडिन्छ नै † यससँगै साहित्यमा वाद वा विचारका कुरा पनि उठ्ने गरेका छन् । मलाई चाहिँ निकै पहिला त्यो दिगो होइन भन्ने लागेको थियो । अहिले लीलालेखनसमेत सेलायो, अझ तेस्रो आयाम त कहाँ पुग्यो कहाँ ? २० वर्षअगाडि आएको उत्तरआधुनिकतावाद कता हरायो–हरायो † त्यसैले म वादको पछि दौडिनँ ।

नेपाली साहित्यलाई विश्व साहित्यसँग तुलना गर्ने र अनेक टिप्पणी गर्ने गरेको पनि देखिन्छ । मेरो विचारमा हरेक मुलुकको साहित्यको आºनै स्थान र महत्त्व हुन्छ । त्यसरी हेर्दा विश्व साहित्य भन्ने हँुदैन । आºनै कुरा गर्दा नेपालीमा मलाई मन पर्ने लेखक बालकृष्ण सम हुन् । उनको ‘चीसो चुल्हो’ र ‘प्रेमपिण्ड’ नेपाली मौलिकता पनि भएका निकै गतिला कृति हुन् । बालकृष्ण जतिको नभए पनि देवकोटा र उनको ‘मुनामदन’ पनि हाम्रा सम्पत्ति हुन् । मैले नयाँ पुस्ताका लेखकको सबैभन्दा पछि पढेको किताब शारदा शर्माको ‘ताप’ हो । मलाई त्यो किताब मदन पुरस्कार दिनुपर्ने किताब हो भन्ने लागेकाले सार्वजनिक स्थानमै पनि भनेको थिएँ । नयाँ किताबहरूमा निकै कमले मलाई छुन्छन् ।

मलाई कति पत्रकार र जिज्ञासुहरूले हरेक कुरालाई दार्शनिक ढंगले हेर्नुहुन्छ होला भनेर विभिन्न प्रश्न पनि गर्ने गरेका छन् । समय र सभ्यता गोलो अर्थात् फेरि फर्किएर आउने हुन्छ कि नफर्किने किसिमको हुन्छ भन्ने प्रश्न केहीले गर्ने गर्छन् । यसबारे एर्नड टोयरुबी भन्ने लेखकले चाहिँ समय गोलो छ भनेका छन् । तर, म त्यसमा सहमत छैन । हरेक नयाँ सभ्यता पहिलाको भन्दा माथि जान्छ र उन्नत हुन्छ भन्ने मलाई लाग्छ । तर, यो घुमेर फर्किएर आउने खालको हँुदैन ।

अहिले मानव सभ्यताको विनाशका कुरा पनि निकै जोडसँग आएका छन् । यस सन्दर्भमा भन्नुपर्दा चाहिँ यो सौर्यमण्डलमा हुने परिवर्तनसँग सम्बन्धित कुरा हो । लाखौँ वर्षमा यस्ता परिवर्तन भएका पनि छन् । तर, कहिले के हुन्छ भन्ने समय मानिसले तोक्न सक्दैन र मिल्दैन पनि । पाल्पा र रामदीको बीचमा २ हजार फिट अग्लो ठाउँको डाँडामा नदीले बगाएर ल्याएको शालिग्राम हेरेको छु म आफैँले । अर्कोचाहिँ ०२१ सालमा तुलसी गिरी प्रधानमन्त्री हुँदा चितवन र नवलपरासीको सीमा क्षेत्र त्रिवेणी गुफानजिकै डाँडामा हात्तीको ‘फोसिल’ देखियो । यस्ता घटनाले म यस्तो निष्कर्षमा पुगेको हुँ । ती वस्तुहरू चुरे पहाडभन्दा पहिलाका हुन् ।

–प्रस्तुति : पदम गौतम

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय