पात्रको खोजी

किताब लेखिसकेपछि अरूलाई पढ्न दिने चलन रहेछ । चलनको सुरुवात गरेँ । कृष्णदिप सिग्देल, नयनराज पाण्डे, नारायण ढकालपछि चौथो नम्बरमा केदार शर्मा पर्नुभयो । केदार सरका सुझावरूपी वाणहरूले मलहमकै काम गरे । उहाँले पात्रसँगको सामिप्यता ठ्याक्कै थाहा पाउनु भयो । दुईवटा मुख्य पात्रलाई ‘जस्टिफाई’ गर्नुपर्ने लिखित सुझाव मध्येका महत्त्वपूर्ण सुझाव हुन् । यससँगै  अन्य पात्रको खोजीमा अनेक गल्लितिर बरालिएँ । केही अनुभव यस्ता छन् ।
सिमसिम पानी पर्‍यो । शंकर रिजाल त्रिपुरेश्वर आइपुग्नुभएछ । म भृकुटी मण्डप प्रवेश गरी रुख मुनि बसेँ । मोटरसाइकल आएर रोकियो । युग पाठक हुनुहुँदोरहेछ । झलक सुवेदी साथमै देखेँ । दुवैजना एउटा चिया पसलमा बस्नुभयो । उहाँहरूलाई परैबाट नियालेँ ।
शंकरजी आएपछि कुरा थाल्यौँ । मेरो ध्यान कुरामा, आँखा उहाँहरूतिर छ । युग पाठक जानुभयो । भृकुटी मण्डपलाई एक चक्कर लगायौँ । पानी सिमसिम परिरहेकै छ ।
‘दालाई कोल्ड कफी ख्वाउँछु, ठमेल जाउँ,’ शंकरजीले भन्नुभयो । बाइक रोकेको ठाउँतिर आउँदा एउटी केटी फुत्त अगाडि बढी । हामी रोकियाँै । ऊ तीनजना केटाहरू नजिक पुगी । रुखले छेकिई । आवाज सकेसम्म सानो बनाई । रुखलाई पन्छाएर हेरँे । केटाहरू लजाएर हाँसे । बाइक पुछ्ने बहानाले अझै नजिक गएँ । ओठ रातो पारेकी, हिप पछाडि उछिट्टिएका थिए । दाहिने कुममा धोक्रे ब्याग झुन्ड्याएर, त्यही हातले समाएकी थिई । हाइ हिलमा लच्किँदै स्लिम देखाउन तल्लीन थिई । दुवैतर्फको लजालु हाँसोले, आवाज घटायो । हेर्न तन्किँदा आँखा जुध्यो । उनी रुखको साहाराले छेल्लिई । कुरा उतातिर गरी । शंकालु दृष्टि हामीतिर बढाई । चोरीचोरी के सुन्नु, अरूका कुरा । ठमेल लाग्यौँ ।
ठमेल विदेशी पर्यटकहरूले खचाखच थियो । बाँकी कामका कुरा गर्नलाई कफी सपको दोस्रो तलामा उक्लियौँ । झ्यालको छेउमा बस्यौँ । सादा कोल्ड कफी उहाँले अर्डर गर्नुभयो । कस्तो होला, कोल्ड कफीको चित्र बनाउँदै छु । केही किताबका कुरा, पात्रका कुरा गर्दै रह्यौँ । मेरो दिमागमा आफ्नै किताबका पात्रहरू घुमिरहेछन् । कथा सुरु गरेँ । केही सुझाव आउँछ कि †
कोल्ड कफी आयो । मीठो हुँदोरहेछ ।
बेसुरको चिच्याहटतिर ध्यान तानियो । बाहिरतिर नियाल्यौँ । पछाडि गितार भिरेको पागल आकृति आँखामा पर्‍यो । उसको पहिरन जथाभावी छ । चारैतिर हेर्दै लेखिरहेछ ।
‘साइको जस्तो छ है, कुरा गर्न जाउँ । मैले खोजेको पात्र ठ्याक्कै त्यही हो,’ भनेँ । पाइपमा हावा मात्र आयो । कोल्ड कफी सकिएछ । शंकरजीले बिल मगाएर पैसा तिर्नुभयो । हामी त्यही पात्र गएतिर निस्कियौँ । चोकमा भेटियो, बेसुरसँग हिँडिरहेको । कुरा गर्ने मौका पर्खियौँ । डर लाग्यो ।
नसामा लठ्ठ परेका, पाखुरामा ट्याटु हानेका, एक हुल हिप्पीहरू थिए । आँट बटुलेर शंकरजी बोल्नुभयो । ऊ जवाफ नदिई हिप्पीहरूसँग मिसियो ।
सवारी साधन गुडिरहेछन् । मान्छेको हुल उत्तिकै छ । एक हुल केटी आएर हिप्पीसँग मिसिए । एउटा हिप्पीसँग त्यो पात्र कुरा गर्दै भित्री ठमेलतिर लागे । हामीले पछ्यायौँ । उनीहरू एउटा होटलतिर गएपछि हामी छोडियौँ ।
‘यहाँ ओहोरदोहोर गरिरहन्छ । गीत गाउँछ, सोधपुछ गर्दा जवाफ पाइयो । विभिन्न परिवेशबाट आएका, थरिथरि मनस्थितिका अरू पात्रले हाम्रो ध्यान खिचे ।
जेपी स्कुलतिरबाट देब्रे घुम्यौँ । चोकमा अलि बढी भिडभाड थियो । कसैले गाउँदै गरेको गीतको स्वर नजिकियो । भिडभाड छिचोल्यौँ । त्यही आकृति आँखामा पर्‍यो । माग्नलाई टोपी भुइँमा थापेको छ । त्यस्तो टोपी पहिला बाबुराम भट्टराईले लगाउँथे भन्ने यसलाई के थाहा †
माग्न कला चाहिने रहेछ । युरोपियनहरू यसमा पनि अगाडि रहेछन् । यहाँका माग्नेहरू दिनभरिमा दुई सय कमाउँदा हुन् । यसले बीस मिनेटमा दुई सय कमाउँदो रहेछ ।
कहिले नेपाली, कहिले अँग्रेजी गीत गाउँदा, कसैले ऊसँगै गाए । कसैले फोटो खिचे । एउटी पर्यटकले डलर दिइन् । उल्टो गाली गर्‍यो ‘फ…’ । टोपीबाट डलर टिपेर च्यात्यो टुक्रा टुक्रा पारेर । ती टुक्रा फुर्तिसाथ उडायो । तिनले हेरिरहिन् ।
यो दार्शनिक हो कि पागल ? हुन त मलाई केही पागलहरू दार्शनिक लाग्छन् ।
पन्ध्र बीस मिनेटमा पाँच रुपियाँ बाँकी राखेर पैसा बटुल्छ । अरू खल्तीमा राख्छ । ऊ विदेशीहरूप्रति लक्षित भए पनि तर्केर नहेरि जान्छन् ।
कोही पागल, कोही माग्ने भन्दा रहेछन् । होटलबाट सबै कुरा हराएकाले माग्न बाध्य छ । बाध्यता अनुरोधमा झल्किन्छ । घाँटीका नसा फुट्लान् भैँm गरेर फुल्दा सेतो अनुहार रातो हुन्छ । पसिना पुछेर लगाएको पातलो लुगा लुछुप्पै ।
गायन रोकेर उठ्यो । हामीले पछ्यायौँ । पर पुगेर रोकियो । कता जाने दोधारमा पर्‍यो । कुरा गर्ने नेतृत्व शंकरजीले लिनु भयो । कतै बसेर, कफी खाँदै, कुरा गर्न, राजी भयो ।
गफिँदै रेस्टुरेन्टमा पुग्यौँ । यो बेलायती बासिन्दाको नाम, एलेक्जेन्डर स्लोकोम्ब रहेछ । मेरो पहिलो प्रश्न, ‘डलर किन च्यातेको ?’
‘सबै कागज हो… । डलरधारि देशहरूले कमजोर देशलाई दास बनाइरहेका छन् ।’ नेपाली बीसको नोट देखायो । कुरा गर्दै थियो । मैले बुझिनँ । सहजताका लागि शंकरजीको मुखमा हेरेँ । उहाँ हिँड्नमा व्यस्त हुनुहुन्थ्यो ।
उसले अदुवावाला लेमन टी मगायो । मैले पनि । शंकरजीको फेभरेट ब्ल्याक कफी छँदै छ । पेट दुखेछ । पानी मगायो । दुई गिलास खायो । निकैबेरको कुरा पछि, आफ्नो वेभसाइड दियो । उनीहरू नेपालमा सामाजिक काम गर्दै रहेछन् । एउटी साथी पोखरामा छे रे † कविता लेख्दो रहेछ । हातमा हिन्दूहरूले लगाउने बाला लगाएको छ । ‘आइ लभ नेपाल ।’ बेसुरमा पाँच पटक भन्यो ।
चियामा चिनी हालेन । शंकरजीले सम्झाउँदा ‘भए पनि ठीकै नभए पनि ठीकै ।’ हाउभाउबाटै प्रस्ट्यायो । हामीसँग छुट्टिनलाई चिया छिटो छिटो खायो । निकै सतर्क छ ।
‘यसैगरी जीवन चल्छ । अदुवा औषधी हुन्छ ।’ उसले भन्यो । पैसा जतिखेर चाहियो, त्यतिखेर मागेर काम चलाउने, बाध्यता भएछ । यही बाध्यता जीवन दर्शन हुनुपर्छ । चिया सकेर हिँड्यो । गितारको ब्याग चारवटा टेबलमा ठोकियो । ठोकिएकोतिर ध्यान नदिई बतास जसरी बाहिरियो ।
नाम, वेभसाइड चेक गर्‍यौँ । बालबालिकाहरूलाई छात्रवृत्ति उपलब्ध गराउँदा रहेछन् । अनौठो पात्रको कोलाज बन्यो ।
स्वतन्त्रता चाहने एलेक्जेन्डर स्लोकोम्ब हामीबाट क्षणका क्षणमै बिलायो । तिखो स्वरमा गीत गाउँदै मागिरहेको पक्कै फेरि भेटिन्छ ।

प्रतिक्रिया