साहित्यलाई पार्टीको दस्तावेज बनाइदिए

समकालीन नेपाली गद्य लेखन र कवितामा राम्रो नाम चलेका लेखक राजन मुकारुङको एउटै प्रकाशित उपन्यास हो– ‘हेत्छाकुप्पा’ जसले पाठकमाझ राम्रो स्थान बनायो । उनी मूलत: कवि हुन् । लेखनमा जातीय मुक्ति र नश्ल चेतनाको मुद्धालाई प्रखररूपमा उठान गर्ने उनको ‘सेतो आरोहण,’ ‘प्रारम्भ प्रक्षेपण,’ ‘जिकिरको गद्दी,’, ‘मिथक माया’ गरि चारवटा कवितासंग्रह प्रकाशित छन् । उनी ‘सिर्जनशील अराजकता’ साहित्यिक अभियानका अभियन्ता पनि हुन् । उनको दोस्रो उपन्यास ‘दमिनी भीर’ चाँडै प्रकाशित हुँदै छ ।
तत्काल तपाईं के मा व्यस्त हुनुहुन्छ ?
‘दमिनी भीर’ उपन्यास लेखी सिध्याएँ । साथीहरूले हङकङ बोलाएका छन् । डिसेम्बर पच्चीसमा हङकङमै पहिलो रिलिज गर्ने हो । त्यसकै तयारी भइरहेछ ।
कविता लेख्न छाडनुभयो ?
कविताबाटै साहित्यिक यात्रा थालेको हुँ । छाडेको भन्न मिल्दैन । अचेल अलि कम लेख्छु । यत्ति हो ।
तपाईंलाई जातिवादी लेखक भन्छन नि ?
म त आफूलाई नेपाली भाषा र साहित्यको विद्यार्थी ठान्छु । यसैमा फुल टाइमर भएको छु । मैले छान्ने विषयचाहिँ उत्पीडित जाति र सीमान्तीकृत् वर्गको हो । यसैलाई जातिवादी भनिन्छ भने मैले कोकोहोलो मच्चाएर रुवाबासी गर्नु छैन ।
अहिले संसारभर गद्यको लहर चलिरहेको छ । कविताको भविष्य कस्तो होला ?
कविताको आफ्नै शक्ति र सामथ्र्य छ । हिजोका सामथ्र्यवान कविताहरू पनि आज हामी उत्तिकै आवश्यकताका साथ पढिरहेका छौँ । विचार, विम्ब, शिल्प र शैलीयुक्त कविताहरू सधैँ बाँच्छन् । अरू त म ज्योतिषी होइन । मेरो काम लेख्ने मात्र हो । मलाई बकम्फुसे गफ गरेर दिन कटाउनु पनि छैन ।
कविता र गद्यको विषयवस्तुमा कुनचाहिँ बढी पुरातन छ ?
विषय कुनै पनि पुरातन हुँदैन । लेख्नेको विचारमा चाहिँ भर पर्ने कुरा हो । विषयवस्तु सर्वहाराको उठाउने तर लेख्दाचाहिँ शासकहरूको जयगान गर्ने, सत्ताको स्तुति गाउने भयो भने कुनै पनि काम लाग्दैन ।
मानिसको हातहातमा ल्यापटप, किन्डल र इन्टरनेट भएपछि फिक्सनको बिक्रिमा खतरा उत्पन्न हुन्छ, किताब पुरातात्विक महत्त्वको हुनेछ भन्छन्, तपाईंलाई के लाग्छ ?
खै, म कसरी पत्याऊँ ? यही समय आएपछि त हो नेपाली साहित्यको, त्यसमा पनि फिक्सनको बिक्री ह्वात्तै बढेको छ । यही समयले नेपाली साहित्यमा गहकिला फिक्सनहरू दिइरहेका पनि छन् । हाम्रो समयलाई ‘थम’ पुस्ता पनि भन्छन् क्यारे । हेर्नुभयो भने यही ‘थम’ पुस्ताको झोलामा तपाईं फिक्सनका कृतिहरू नै बढी देख्नुहुन्छ । मलाई चाहिँ खतरा लाग्दैन, बरु भर छ यही पुस्ता र समयसँग ।
नेपाली साहित्य विश्व साहित्यमा कहिले पुग्छ भनेर धेरै लेखक चर्चा गर्छन । कहिले पुग्छ त ?
चर्चा र चिन्ता गर्नु सुखदै कुरा होला भन्छु । तर, सरकारी कार्यालयमा उङ्दै, तलब थाप्ने दिन गन्दै यस्तो चिन्ता गरेरचाहिँ पुग्न गाह्रै होला † साँच्चीकै लेखक हुने आँट गरियो भने असम्भव पनि अवश्य छैन ।
कस्तो लाग्छ अबको परिवेशमा नेपालमा लेखेर बाँच्न सकिन्छ ?
साहित्यमा लागेको बीस वर्ष भो । पूरापूर दश वर्ष भो फुल टाइमर भा’को । महिना मर्नासाथ तलब थाप्ने कवि–लेखक म परिनँ । लेखेरै त बाँचेको छु ।
के लाग्छ, साहित्यमा वाद जरुरी छ ?
छ । समय र समाजको गतिलाई समाउने प्रगतिशील वाद भएन भने त त्यो साहित्यको के काम होला र हौ †
माटो र साहित्यको सम्बन्ध के छ ?
माटो पहिचान हो । साहित्य पहिचानकै गर्भबाट जन्मन्छ । जन्माउनुपर्छ । मैले लेख्ने साहित्यमा गोराको दम्भ गन्हायो भने मेरो साहित्य कसरी मौलिक होला र ?
के भन्नुहुन्छ–राजनीतिले साहित्य प्रभावित हुन्छ ?
हुन्छ र हुनुपर्छ । प्रगतिशील राजनीतिलाई त साहित्यमा लेख्नै पर्छ । टपक्कै टिपेर दल र नेताचाहिँ टाँस्नु हुँदैन ।
नेपाली साहित्यका पाठक कस्तो साहित्य खोजिरहेका छन् ?
अझ प्रगतिशील । आफ्नै समयको पात्र र चरित्र बोकेको । ‘हिरोइज्म’को होइन, चरित्र–विशेषको साहित्य ।
नेपाली साहित्यका उत्कृष्ट पाँच सिर्जना यहाँको रोजाइमा ?
पाँच मात्रै भन्नु भो । अप्ठ्ेरोमा परिहाल्छु म । हालसम्म पाठ्यक्रममा नपरेकाबाहेक धेरैवटा उत्कृष्ट छन् । यति नै भन्छु, ल ?
साहित्यमा कला वा राजनीति कुन पक्ष भएको राम्रो ?
दुवै सशक्त हुनुपर्छ । कला भएन भने साहित्य राजनीतिक दस्तावेज भइहाल्छ । राजनीतिक जीवनलाई साहित्यले बोकेन भने त्यो केवल आत्मालाप भइहाल्छ ।
राजन मुकारुङ किन लेख्छ ?
मेरो जाति, मेरो वर्गको पहिचान स्थापित गर्ने जिम्मेवारी पूरा गर्न ।
तपाईंका कविताका मूल आधार के हुन् ?
मेरो पहिचानमाथि गरिएको कुत्सित दमन र भेदभाव ।
कविताको आदर्शचाहिँ के हो ?
मुक्ति आन्दोलन ।
कविले कविताजस्तै जीवन बाँच्न सक्छ कि सक्दैन ?
कोसिस गरे राम्रो ।
दसवर्षे ‘जनयुद्ध’ साहित्यका लागि उर्वर भूमि थियो । हाम्रो साहित्यले यसलाई कुन रूपमा उपयोग गर्‍यो ?
जनयुद्ध भोग्नेले कलालाई ध्यान नदिँदा साहित्यलाई पार्टीको दस्तावेज बनाइदिए । नाराहरूको थुप्रो बनाइदिए । अलि पर बस्नेले वास्तविकता छाम्नै सकेनन् । आँट पनि गरेनन् । ‘एलिट वर्ग’ले त घिन मान्ने भइगयो । तैपनि, जनयुद्धले नेपाली समाजमा जुन चेतना छर्‍यो, त्यसलाई भने सबैले भरपूर प्रयोग गरेकै छन् ।
‘हेत्छाकुप्पा’को नायक को हो ?
आजको समय र युगमा पनि तपाईं यदि सीमान्तकृत्, उत्पीडित हुनुहुन्छ भने हेत्छाकुप्पाको नायक तपाईं आपैँm हो । यति भन्छु, म नायकत्व लेख्ने लेखक होइन । चरित्र लेख्न बढी रुचाउँछु । हाम्रो समयको चरित्र नै हो हेत्छाकुप्पाको नायक ।
अबका कविताले सम्बोधन गर्नुपर्ने विषय के–के हुन सक्छन ?
पहिचान, संघीयता, प्रगतिशील संविधान र प्रगतिशील जीवन ।

प्रस्तुति: दीप क सापकोटा

प्रतिक्रिया