राजनीतिमा युवा पुस्ता

विभिन्न कारणले मुलुक संकटले घेरिएको विषयमा आम नेपालीहरू सचेत छन् । भ्रष्टाचारीहरूले राज्यको सम्पत्तिमा ब्रह्मलुट मच्चाए, राष्ट्र कंगाल भयो र राजनीति गर्नेहरू धनी भए । महँगीले सीमा नाघेको छ, कुनै पनि दैनिक उपभोग्य बस्तु सर्वसुलभ तरिकाले बजारमा पाउन सकिँदैन । सामान्य जनतालाई दिनभर काम गरेर दुईछाक टार्न मुस्किल छ । आम युवाहरू बेरोजगार छन् । दलका पछाडि लागेका युवाहरू बाध्यताले राष्ट्र र जनताप्रति अनुत्तरदायी नेताहरूलाई काँध थाप्न बाध्य छन् । र, दैनिक १५ सय युवा कामको खोजीमा विदेशिन बाध्य छन् ।
नेपाली युवाहरूको भविष्य र राष्ट्रको भविष्यका बारेमा कुनै पनि राजनीतिक दललाई चासो र चिन्ता छैन । शान्तिपूर्वक बाँच्न पाउने जनताको जन्मसिद्ध अधिकार राजनीतिक दलहरूले आफ्नो अधिनमा राखेका छन् । राज्यमा अशान्ति मच्चाउने र विधि–विधानको उलंघन गर्ने सवालमा राजनीतिक दलका नेताहरू सबैभन्दा अग्रपंक्तिमा छन् । समाजमा शान्ति सुव्यवस्था कायम गर्न र राष्ट्र निर्माण गर्न युवाहरूलाई अग्रसर गराउने ठोस कार्यक्रम कुनै पनि राजनीतिक दलसँग छैनन् ।
सबै राजनीतिक दलले आफ्नो स्वार्थपूर्तिका लागि अलगअलग विचारको लगाम लगाएर आ–आफ्ना पक्षमा युवाहरूलाई खिँचिराख्ने र उनीहरूको चरम शोषण गरेर अयोग्य बनाएर फ्याक्ने लामो सिलसिला निरन्तर नेपालमा चलिरहेको छ । विगतको युवा पुस्ता आजको युवा पुस्ताभन्दा राष्ट्रवादी र देशभक्त थियो, आजको युवापुस्ता राष्ट्रवादी हुन सक्छ तर इमान्दार छैन कि भन्ने संका छ । विभिन्न कारणले संकटपूर्ण जीवन बाँचिरहेका युवाहरूले यतिबेला आफ्नो स्वविवेक चलाउँदै छन् भने आफ्नो अस्तित्व, राष्ट्रको अस्तित्व, आफ्नो संस्कृतिको अस्तित्व धरापमा परेको महसुस गरेका होलान् । त्यतिमात्र होइन आफ्नै देशभित्र आफू कुन राजनीतिक धरातलमा उभिएका छौँ भन्ने कुराको हेक्का पनि राखेका होलान् । जल्दाबल्दा आजका युवा वर्गले कुनै पनि राजनीतिक दलबाट दुरुपयोग भएर अयोग्यताको प्रमाणपत्र बुझेर होस् वा नबुझेर राष्ट्रिय राजनीतिबाट अलग–थलग भएर बस्नुपर्दाको पीडा कम्ता मार्मिक छैन ।
प्रजातान्त्रिक शासन व्यवस्थाको विकल्प छैन । तर, हाम्रा राजनीतिक दलका नेताहरूमा प्रजातान्त्रिक आचरण र व्यवहार देखिँदैन्, कसैले देखेका छन् भने त्यो भ्रम मात्र हो । प्रजातन्त्र, लोकतन्त्र वा गणतन्त्र जे भने पनि आम नेपालीको उन्नती र राष्ट्रको प्रगतिको साझा माध्यम हुनुपथ्र्यो तर त्यो हुन सकेन । अमुक राजनीतिक शक्ति र व्यक्तिहरूले राज्यमा हालीमुहाली गर्न पाउँदा मात्र त्यो प्रजातन्त्र वा लोकतन्त्र हुने अन्यथा नहुने भन्ने तर्क गर्नु मुर्खता मात्र हो । कुनै पनि राजनीतिक दलका पछाडि लागेको विशेष गरी युवावर्गले आफू सिद्धान्तमा बाँधिएको ठानेको छ भने त्यो पनि भ्रम मात्र हो । संसदीय व्यवस्थाको विकल्प खोज्दै क्रान्तिकारी नारा अघि सारेर माओवादीले एक दशकसम्म जागरुक युवाहरूलाई उचाल्यो र भ्रममा पार्‍यो । आफू त्यही व्यवस्थामा फर्किएर राज्यसत्ता चलाउने अवसर पाउँदा पनि आफूले आमजनता र युवाहरूबीच गरेका वाचा पूरा गर्न सकेनन् । युवाका हातबाट प्रचण्डले चड्कन खानु पर्ने अवस्था आयो । यदि, माओवादी नेताहरूले बाँडेको सपना पूरा गरेको भए चड्कन खानु र आरोप खेप्नुपर्ने थिएन ।
राष्ट्रमा नैतिकतामा आधारित जनमुखी विधिको शासन दलका नेताहरूले चलाउन सकेनन । मानिसको बाँच्न पाउने अधिकारको रक्षा भएन । राष्ट्रियताको सुरक्षा कुनै पनि राजनीतिक दलले गर्न सकेनन् । धर्म निरपेक्षताको नाममा यो राष्ट्रको पहिचान गुमाउने काम मात्र भएन धर्मको नाममा नेपाली जनतालाई आपसमै लडनु पर्ने अवस्था सिर्जना गरियो । अहिले हाम्रो मिलेर बसेको समाज भाँडिएको छ । विभिन्न खेमामा बाँडिएको छ । मुलुकभित्र यस्तो अवस्था छ भने दलका नेताहरूले राष्ट्रिय राजनीतिमा बाह्य हस्तक्षेपको दायरा पनि फराकिलो बनाउने काम गरे । नेपाली जनताको राष्ट्रिय एकतामा विभाजन ल्याउने जस्ता क्रियाकलाप दलहरूबाटै हुन थालेका छन् । यो आरोप होइन आजको यथार्थ हो । आ–आफ्ना पार्टी स्वार्थका लागि आम नेपाली जनता र युवावर्गलाई भ्रममा पार्ने काम भयो । राष्ट्र र जनताको हित र प्रगति सर्वोपरी हुनपर्ने हो दलहरूले यो विषयमा ध्यान दिन सकेनन् । राष्ट्र अप्ठ्यारोमा पर्‍यो । पार्टी ठूलो बनाउने, चुनाव जित्ने अनि निमुखा जनतामाथि शासन गर्ने ध्याउन्नमा लाग्दा सत्ता र शक्तिको दुरुपयोग भयो । अहिले यो राष्ट्र धर्मसंकटमा पर्नुको मुख्यकारण यही हो ।
देश विभाजन हुने हो कि भन्ने खतरा छ । तर, देशका सबै भू–भाग र जात जातिमा सर्वोपरि राष्ट्र हो भन्ने भावना विकास भइरहेको हुनाले राष्ट्र विभाजनतर्फ जाँदैन कि भन्ने झिनो आशा गर्न सकिन्छ । राष्ट्र र राष्ट्रियताका विषयमा विवाद छ । राजनीतिक दलहरूले राष्ट्र र राष्ट्रियतालाई आफू सत्तामा पुग्ने मुद्दाका रूपमा उठाउने गरेका छन् । यो गलत राजनीतिक संस्कार हो । वास्तवमा राष्ट्र र राष्ट्रियताको बलियो आधार भनेको आफ्नै धर्म, संस्कृति र संस्कारमा हुर्केको एकताबद्ध नेपाली समाज हो । नेपालीको मौलिक पहिचान पनि यही हो । यसलाई जोड्दै लैजाँदा मात्र राष्ट्रको प्रगति सुनिश्चित हुनसक्छ । लोकतान्त्रिक शासन व्यवस्थाका नाममा देशको अस्मिता लुटाउने, भ्रष्टाचार गर्ने, भाइ भाइबीच फूट र विभाजन ल्याउनेजस्ता अराजक र आपराधिक क्रियाकलाप हामीले कसैलाई गर्न दिनु हुँदैन ।
अलग–अलग विचारमा बहकिएको नेपाली समाजले राष्ट्रलाई विखण्डन हुनबाट जोगाउन सक्दैन, कुनै अमुक राजनीतिक दल र व्यक्तिको अनुशासनमा बाँधिने समाजले राष्ट्रको स्वाधिनता र भौगलिक अखण्डताको रक्षा झनै गर्न सक्दैन । राष्ट्र साझा हो, समस्या पनि हाम्रा साझा बनेका छन् । विगत जे भोगियो सामूहिक रूपमा भोगियो, भोलि आउने संकट पनि सबैले सामूहिक रूपमा भोग्नु पर्नेछ । सबैले यस विषयमा गम्भीरतापूर्वक सोच्नुपर्छ र बेलैमा सजगता अपनाउनु पर्छ ।

प्रतिक्रिया