“खुर्पा” को विवाद मिल्ने संकेत

काठमाडौं, १५  मंसिर । निर्देशक उद्धव अविदितले निर्माणाधीन चलचित्र ‘खुर्पा’ श्री पुण्यलक्ष्मी फिल्म्सलाई निर्माण गर्न दिने भएका छन् । मुहूर्त गरिएलगतै त्यसको स्वामित्वबारे दुई पृथक् निर्माण कम्पनीले चलचित्रको स्वामित्व आ–आफ्नो भनी दाबी गरेपछि चलचित्र विवादमा तानिएको हो । त्यसरी आ–आफ्नो स्वामित्व दाबी गर्ने दुई कम्पनी ब्रबिन फिल्म मेकर्स प्रालि र श्री पुण्यलक्ष्मी फिल्म्स प्रालि हुन् । छायांकनमा जाने तयारीमा रहेको ‘खुर्पा’को स्वामित्वबारे नै त्यसरी विवाद उठेपछि छायांकनमा जाने/नजाने अन्योल सिर्जना भएको थियो । तर, केही दिनपहिले ललितपुरमा आयोजित एक कार्यक्रममा चलचित्रका लेखकसमेत रहेका अविदितले चलचित्र निर्माण गर्ने अधिकार श्री पुण्यलक्ष्मी फिल्म्स प्रालिलाई सुम्पेको बताएका हुन् ।
दुई वर्षअघि पुण्यलक्ष्मी फिल्म्स प्रालिलाई आफ्नै लेखन र निर्देशन रहने गरी उद्धवले चलचित्र दिएका थिए । तर, पछि गएर उनले उक्त चलचित्र आफ्नै लेखन–निर्देशन रहने गरी ब्रबिन फिल्म मेकर्स प्रालिलाई दिएर चलचित्रको निर्माण प्रक्रिया अगाडि बढाएका थिए । आफूलाई निर्माणका लागि अनुमति दिनुका साथै सम्झौता गरेर पनि सोही कथानक अन्यलाई दिइएपछि चलचित्र निर्माणमा रोक लगाउन श्री पुण्यलक्ष्मी फिल्म्स प्रालिले पहल थालेकाले विवादले उग्ररूप लिएको थियो ।
चलचित्र विकास बोर्डमा ‘खुर्पा’ निर्माण इजाजतपत्र भने श्री पुण्यलक्ष्मी फिल्म्स प्रालिले लिएको छ ।


‘मैले स्क्रिप्ट दिएको दुई वर्षसम्म पनि पुण्यलक्ष्मी फिल्म्सले निमार्णकार्य सुरु गरेन । चलचित्र बनाउन आग्रह गर्दा ‘अहिले यस्ता चलचित्र चल्दैनन्, त्यसै तत्काल यो चलचित्र म बनाउँदिन, बनाउने भए तपाईं नै बनाउनुस्’ भनेर पुण्यलक्ष्मी फिल्म्सका निर्माता केशव घिमिरेले भने । अनि, त्यसपछि मात्र मैले ब्रबिन फिल्म मेकर्ससँग सोही चलचित्र निर्माण गर्ने भनेर आवश्यक प्रक्रिया थालेको हुँ,’ अविदितले बताए ।
‘लामो समय रोकेर पनि अन्तत: उहाँले चलचित्र निर्माण नगर्ने स्पष्ट भनिसकेपछि मात्र सहमतिअनुसार नै मैले वैकल्पिक निर्मातासित निर्माणकार्य अगाडि बढाउन थालेँ । त्यसपछि अचानक उहाँले नै चलचित्रको स्वामित्व दाबी गरेकाले चलचित्र विवादमा अल्झिन पुगेको हो,’ उनले भने । नाम एउटै भए पनि चलचित्रको कथा भने आफूले पुण्यलक्ष्मी फिल्म्सलाई दिएको कथानकभन्दा ब्रबिन फिल्म मेकर्सलाई दिएको कथानक फरक रहेको पनि अविदितले खुलाए ।
निर्माता घिमिरेले अविदितसँग आफूले कहिल्यै उक्त चलचित्र ‘निर्माण गर्दिनँ’ नभनेको जिकिर गर्दै चलचित्र निर्माणका लागि कलाकार तथा केही प्राविधिकसँग सम्झौतासमेत भइसकेको बताए । द्वन्द्व–निर्देशक र संगीतकारसँग निर्देशक (अविदित) नै बसेर सम्झौता गरेको जनाउँदै घिमिरेले अविदितले आफूप्रति बेइमानी गरेको आरोप लगाए ।
निर्देशक अविदितले भने आफूले कुनै बेइमानी नगरेको बताउँदै चलचित्र मुहूर्तको अघिल्लो दिन पनि निर्माता घिमिरेसँग बसेर सल्लाह गरेको र ‘मुहूर्त गर्नुस्, नाम दिन्छु’ भनेर मौखिक सहमति दिएको बताए । लामो समयदेखिको चिनजानले गर्दा तत्काल लिखितमा जान जरुरी नठानेर मौखिक सहमतिमै अगाडि बढेको पनि उनले बताए ।
मुर्हूतको चर्चाले घिमिरेलाई लोभी बनाएकाले नै उनले यो विवाद निकालेको अविदितको आरोप छ । उनले भने, ‘अब जे भए पनि निर्माता घिमिरेले नै चलचित्र बनाउँछु भन्छन् भने चलचित्र उनैले बनाऊन् तर म निर्देशन भने गर्दिनँ ।’
दुई कम्पनीले छुट्टाछुट्टै निर्माण प्रक्रिया थालेको चलचित्र खुर्पाका कलाकार र प्राविधिक भने प्राय: एउटै छन्, जसमा संगीतकार सुरेश अधिकारी, द्वन्द्व–निर्देशक रोशन श्रेष्ठ, कलाकार जेनिसा केसीलगायत छन् । मुर्हूत गरिसकिएको ‘खुर्पा’मा दिनेश दुलाल, निस्तेज निरौला, श्रीयानी संग्रौला, विष्ण्ुाभक्त पुँmयाललगायत थप कलाकार सार्वजनिक गरिएको छ भने पुण्यलक्ष्मीको ब्यानरतर्फ भने दिनेश थापा र केशव घिमिरे फरक रहेका छन् ।
(वार्तामा आधारित)

प्रतिक्रिया