नेबैंलि ठगीका अभियुक्त उपरकोटी पक्राउ

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल बैंक (नेबैंलि) लिमिटेडलाई ठगी भ्रष्टाचार गरेको फैसला सुनाए पनि फरार रहेका कर्णवीर सिंह उपरकोटीलाई प्रहरीले पक्राउ गरेको छ ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले निजलाई जोरपाटी, नारायणटार इलाकामा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरेको हो । बैंकलाई गैरकानुनी हानिनोक्सानी पुर्‍याई बैंकका कर्मचारी एवं कर्जावालालाई फाइदा हुने गरी कर्जा लिएको मुद्दामा विशेष अदालतले निजलाई ५४ लाख ८६ हजार दुई सय ३३ रुपियाँ जरिवानासमेत तोकेको थियो । १३ कात्तिक ०६२ मा सो फैसला भएको भए पनि हालसम्म लुकिछिपी बसेका थिए । उनलाई प्रहरीले आवश्यक कारबाहीको लागि काठमाडांै जिल्ला अदालत पेस गरेको छ । मोहन साहनी समूहअन्तर्गतको युनिभर्सल एपरल्सका सञ्चालक रहेका उपरकोटीले उक्त फर्मको नाममा बैंकबाट हाइपोथिकेसन शीर्षकअन्तर्गत बैंकका कर्मचारीसमेतको मिलोमतोमा कर्जा लिएर परियोजना सञ्चालन नगरेको प्रहरीले जनाएको छ ।
निजले सो परियोजनाका लागि लिएको कर्जा नतिर्दा बैंकलाई १ करोड ९ लाख ७२ हजार ४ सय ६७ रुपियाँ हानिनोक्सानी भएको छ । सो रकम अभियुक्तका साथै अर्का प्रतिवादी साहनीबाट असुलउपर गर्न अदालतको आदेशमा निर्देशन दिइएको छ । दुवैबाट असुलउपर हुन नसकेमा तत्कालीन कर्जा लगानी गर्दा मुख्य जिम्मेवार देखिएका बैंकका महाप्रबन्धक शेरबहादुर थापाबाट असुल गर्न अदालतको आदेशमा भनिएको छ । (सौस)

प्रतिक्रिया