बैकको ब्याज आम्दानी बढ्यो

काठमाडौं, १५ मंसिर । निक्षेपमा दिनेभन्दा कर्जामा दिने ब्याज दर उच्च रहेका कारण बैंकको कुल ब्याज आम्दानी बढेकोले चालू आवको त्रैमासिकमा बैंकको नाफा बढेको छ ।

मुलुकमा सञ्चालित ३२ वाणिज्य बैंकमध्ये २५ वाणिज्य बैंकको नाफा गत वर्षको सोही अवधिको तुलनामा बढी देखिएको वित्तीय विवरण बैंकहरूले सार्वजनिक गरेका थिए । बैकले चालू आवको पहिलो त्रैमासिकमा ४१ प्रतिशत वृद्धि देखिएको थियो ।
बैंकको कुल ब्याज आम्दानी गत वर्षको पहिलो त्रैमासिकको तुलनामा २५ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । गत वर्ष २ अर्ब रुपियाँ मात्र रहेको बैंकको कुल ब्याज आम्दानी चालू आवको पहिलो त्रैमासिकमा बढेर साढे अर्ब पुगेको छ । बैंक तथा वित्तीय संस्थाले तरलता प्रशस्त भएका कारण निक्षेपमा कम ब्याज दिन थालेका छन् । तर, ऋणमा दिने ब्याज दर भने एकदम झिनो बिन्दुमा मात्र घटाएका छन् । यसले बैंकको कुल ब्याज आम्दानी बढ्न सहयोग पुगेको हो । चालू आर्थिक वर्षको पहिलो तीन महिनामा ब्याज स्प्रेड ५ प्रतिशतभन्दा बढी रहेको छ । जबकि यो दर गत वर्ष ३ दशमलव २ प्रतिशत मात्र छ । कुल ब्याज आम्दानी भनेको बैंकले निक्षेपमा दिने ब्याज र ऋणका लिने ब्याजको फरक रकम हो ।
चालू आबको सुरुआतसँगै बैंक कर्जा लगानीमा आक्रामक देखिएको छ ।
राष्ट्र बैंकले तोकिएका कृषि क्षेत्रको साथै उपभोक्तामुखी योजनामा पनि बैंकले पहिलो त्रैमासिकमा धेरै लगानी गरेका छन् । घरजग्गा क्षेत्रमा कर्जा प्रवाह गर्न बैंकहरू अनिच्छुक देखिए पनि व्यक्तिगत घर निर्माण कर्जा एवं सवारीसाधन खरिद कर्जामा प्रदान गर्न बैंकहरू अग्रसर देखिएका छन् । अमेरिकी डलर बलियो भएर नेपाली मुद्रा कमजोर भएका कारण रेमिट्यान्समा उच्च वृद्धि हुँदा बैंकको निक्षेपमा पनि भारी वृद्धि भएको थियो । बैंकले बढ्दो निक्षेपलाई त्यत्तिकै नराखी त्यसबाट पनि ब्याज आम्दानी गर्न विभिन्न योजना सार्वजनिक गरेकाले कर्जाको वृद्धिदरसमेत राम्रो देखिएको छ ।
पहिलो तीन महिनाको बैंकको निक्षेप वृद्धिदर केही घटेको छ भने कर्जा वृद्धिदर बढेको छ । निक्षेपको वृद्धिदर कम हुनु र कर्जा वृद्धिदर बढी हुनुले पनि बैंकको खुद ब्याज आम्दानी बढेको हो । ‘ऋण लगानीबाट भएको ब्याज आम्दानी निक्षेपमा
दिनुपर्ने ब्याज खर्चभन्दा यो त्रैमासिकमा बढी देखिएको छ,’ किस्ट बैंकका नायब महाप्रबन्धक बिएन घर्तीले भने । उच्च तरलताका बाबजुद बैंकहरूले ऋणको ब्याज दरमा उच्च हेरेफर गरेका छैनन् । अर्कोतर्फ बैंकको आम्दानीको स्रोतका रूपमा रहेको सरकारी ऋणपत्र तथा प्रत्याभूतिमा भएको न्यून प्रतिफलले बैंकको आम्दानीमा असर गरेको छ । उच्च खुद ब्याज आम्दानीले बैंकको मुनाफा बैंकले बैकिङ मात्रै गरेर कमाएको पुष्टि हुन्छ ।
बैंकले अन्य क्रियाकलापबाट भन्दा निक्षेपमा कम ब्याज दिने र ऋणमा बढी ब्याज लिने गरेर बढी नाफा कमाएको हो । त्यसैगरी, बैंकको निक्षेप संकलनमा लागतमा भएको गिरावटले पनि बैंकको नाफामा वृद्धि भएको छ । बैंकहरूको निक्षेप संकलन लागत गत वर्ष ८ दशमलव ६ प्रतिशत रहेकोमा अहिले घटेर साढे ६ प्रतिशतमा सीमित भएको छ । खुद ब्याज आम्दानीमा वृद्धि भए पनि बैंकहरूको खराब कर्जा भने केही बढेको छ । त्यसैगरी, खराब कर्जा व्यवस्थाका लागि छुट्याइएको रकम गत वर्षको साढे एक अर्बबाट बढेर २ अर्ब ४० करोड रुपियाँ पुगेको छ ।

प्रतिक्रिया