शिक्षाको ‘ढिलासुस्ती’ले पढाइ खेर

काठमाडौं, १४ मंसिर । हुम्लाका १३ विद्यालयले अनुमतिविना कक्षा सञ्चालन गर्दा ५ सय विद्यार्थीको एक वर्षको पढाइ खेर जाने अवस्था आएको छ । जिल्ला शिक्षा कार्यालयले कक्षा सञ्चालनका लागि ‘मौखिक अनुमति’ दिए पनि फाइल भने ढिलो गरी शिक्षा विभागमा पेस गरेकाले स्वीकृत हुन नसक्दा विद्यार्थी मारमा परेका हुन् ।
ती विद्यालयको फाइल ढिला गरी प्राप्त भएकाले स्वीकृत नगरिएको विभागले जनाएको छ । चालु शैक्षिक सत्रबाटै कक्षा सञ्चालन गर्ने गरी अनुमतिका लागि ३ मावि, २ निमावि र ८ प्राविले जिशिकामार्फत आवेदन दिएका थिए । जिशिकाले पठाएको फाइल विभागले स्वीकृत नगरेपछि ती विद्यालय वार्षिक परीक्षा कहाबाट लिने भन्ने समस्या परेका छन् । मावि तहका कक्षा ९, निमावितर्फका कक्षा ६ र प्रावितर्फका विद्यार्थीको परीक्षा कहाँबाट लिने भन्ने अन्योल उत्पन्न भएको हो ।
जिशिकाले ती विद्यालयको नक्सांकनसहितको फाइल ढिलो पठाएका कारण स्वीकृत नभएको विभागका उपनिर्देशक रामशरण सापकोटाले जानकारी गराएका छन् । विभागमा ती विद्यालयको फाइल जिशिकाले कात्तिकमा मात्र पेस गरेको थियो । ‘नक्सांनसहितको फाइल ढिलो पेस भयो,’ उपनिर्देशक सापकोटाले भने, ‘त्यसैले यो वर्ष स्वीकृत हुन सकेन ।’ सापकोटाले ती विद्यालयलाई अर्को शैक्षिक सत्रका लागि स्वीकृति दिइने स्पष्ट पारे । स्वीकृतिविना कक्षा सञ्चालन गर्नु गल्ती भएको उनको भनाइ छ ।
कक्षा सञ्चालन अनुमति नपाएका विद्यालयमा चन्द्रप्रकाश मावि भदालदिपु, सैपाल मावि सेडा, सिद्धार्थ मावि वुराउसे, बलभद्र निमावि साता र बागेश्वरी निमावि ताग्ला छन् । यसैगरी, प्राविमा राष्ट्रिय प्रावि सैना, पागरपानी प्रावि कालिका, शंकरपाल प्रावि ठेहे, जनता प्रावि गैला, बुद्ध प्रावि श्रीनगर, शान्ति प्रावि मिमी, पार्वती प्रावि डाडाफया र पब्लिक एकेडमी जैला छन् । निमाविले मावि र प्राविले निमावि कक्षा सञ्चालनका लागि शिक्षा कार्यालयमा निवेदन दिएका थिए ।
वार्षिक परीक्षा आउन लाग्दा पनि कक्षा सञ्चालनको अनुमति नपाएपछि विद्यार्थीको एक वर्षको अध्ययन खेर जाने अवस्था आएको चन्द्रप्रकाश मावि व्यवस्थापन समितिका अध्यक्ष लालकेश जैसीले बताए । जिशिकाको लापरबाहीले आफूहरूले कक्षा सञ्चालन अनुमति नपाएको दाबी जैसीले गरे । ‘हामीले गत मंसिरमै फाइलसहित निवेदन पेस गरेका थियौँ,’ जैसीले राजधानीमा बुधबार पत्रकार सम्मेलन गरी भने, ‘शिक्षा कार्यालयले विभागमा फाइल ढिला पठायो ।’ थप कक्षा स्वीकृत गराउन पटक–पटक शिक्षा कार्यालय धाएको उल्लेख गर्दै उनले शिक्षा कार्यालयले ‘हुन्छ’ भनेपछि आफूहरू फर्किएको बताए ।
नयाँ कक्षा सञ्चालनका लागि शैक्षिक सत्र सुरु हुनुभन्दा दुई महिनाअघि नै फाइल पेस गर्नुपर्ने प्रावधान छ । तर, जिशिकाले नक्सांकनमा ढिलाइ गर्दा फाइल ढिलो विभागमा गएको उनको भनाइ थियो ।
उनका अनुसार जिशिकाले प्रक्रिया पुगेकाले स्वीकृत हुन्छ भनेर कक्षा सञ्चालन गर्न भनेको थियो । ‘तत्कालीन जिल्ला शिक्षा अधिकारी खगराज पौडेलले  नक्सांकन गर्न केही ढिलो भयो आत्तिनुपर्दैन, स्वीकृत हुन्छ कक्षा सञ्चालन गर्नुस् भने,’ उनले भने, ‘त्यहीअनुसार कक्षा सञ्चालन गर्‍यौँ पहिले नै स्वीकृत हुन्न भनेको भए अन्य व्यवस्थापन गर्ने थियौँ ।’

प्रतिक्रिया