नोभेम्बर पलेँटीमा दार्जिलिङका स्याङदेन

काठमाडौं : लामो समयदेखि चल्दै आएको सांगीतिक शृंखला पलेँटीको नोभेम्बर महिनाको कार्यक्रममा गायक तथा संगीतकार विनोद स्याङदेन प्रस्तुत हुने भएका छन् । प्रत्येक अंग्रेजी महिनाको अन्तिम शुक्रबार नेपा–लयको ‘आर’शालामा आयोजना हुँदै आएको पलेँटीमा यसपटक दार्जिलिङका कलाकार स्याङदेन प्रस्तुत हुने भएका हुन् ।
स्याङदेन दार्जिलिङमा दोस्रो पुस्ताका स्थापित गायक तथा संगीतकारका रूपमा परिचित छन् । दार्जिलिङमा भएको द्वन्द्वका बेला स्याङदेनको घर र सँगै सांगीतिक सिर्जनाका रेकर्डहरू पनि जलेर नष्ट भएको पलेँटी समूहले जनाएको छ । दार्जिलिङको मगरजुङमा जन्मेका स्याङदेन सानै उमेरदेखि संगीतमा लागेका हुन् । १९७१ मा ७ कक्षामा पढ्दैदेखि गायनलाई आरम्भ गरेका स्याङदेनले त्यसयता अहिलेसम्म पनि संगीतलाई आफ्नो जीवनको महत्त्वपूणर््ा अंग बनाइरहेका छन् । स्याङदेनले यो पलेँटीमा गीतकार नोर्देन रुम्बा, हरिभक्त कटुवाल र संगीतकार शान्ति ठटालका सिर्जना पनि समेट्ने भएका छन् ।
‘पलेँटीमा सहभागी हुन पाउँदा सांगीतिक जीवनले पुनर्जीवन
(रिइन्कारनेसन) पाएजस्तो महसुस भएको छ,’ स्याङदेनले भने । सकारात्मक सोचका संगीतप्रेमीसित संगत गर्ने मौका पलेँटीले दिलाएकाले आफ्नो प्रस्तुति अझ राम्रो हुने विश्वास उनले गरेका छन् । स्याङदेनले पलेँटीमा करीब दुई घन्टा आफ्नो प्रस्तुति पस्कने छन् ।
नेपा–लयले सञ्चालन गर्दै आएको लघु सांगीतिक कार्यक्रम पलेँटी विगत ६ वर्षदेखि रेगुलर सञ्चालन हुँदै आएको छ । यो ६ वर्षमा देश तथा विदेशका गरी नेपा–लयले ४१ कलाकारलाई पलेँटीमा प्रस्तुत गरिसकेको छ । सन् ०१२ को अन्त्यमा कुन्ति र शीलाबहादुर मोक्तानको जोडी पलेँटीमा प्रस्तुत हुनेछन् । (सौस)

प्रतिक्रिया