कम्तीमा आठ/दस विरुवा रोप्न आह्वान

भक्तपुर, १३ मंसिर । ‘हरियो शहर सबैको रहर’ भन्ने नाराका साथ वन मन्त्रालयले छ लेनको कोटेश्वर–सूर्यविनायक सडकको विच भागमा वृक्षारोपण अभियान थालेको छ ।
अभियानको प्रधानमन्त्री बाबुराम भट्टराईले भक्तपुरको लोकन्थलीमा आज वृक्षारोपण गरेर उद्घाटन गरे । उनले शहर कंक्रिटमा परिणत हुँन लागेकोले सबै घरपरिवारले आ–आफ्नो बस्तीवरपर कम्तीमा ८/१० बिरुवा रोप्न समेत आग्रह गरे ।
बढ्दो जनसंख्या र शहरी करणले गर्दा वन बिनास भएको भन्दै प्रधानमन्त्री भट्टराईले मानवीय जीवनमा ठूलो समस्या पर्न शुरु भएको बताए । उनले भने, ‘वन विनास रोक्न र पर्यवरण बचाउन सबैले ध्यान दिनु पर्छ ।’
कोटेश्वर–सूर्यविनायक अन्तर्गतको नौ किलो मिटर लामो सडकमा गगनबेली, जामुनो, इन्द्रकमललगायत पन्ध्र सय बिरुवा रोपीसकिने जिल्ला वन अधिकृत कुम्बा लामाले बताए । विरुवा रोप्नका लागि कम्तीमा एक साता लाग्ने उनको भनाई छ ।
राजधानी उपत्यकाबाट शुरु गरिएको अभियान छिट्टै बाँकी शहरमा पनि गरिने मन्त्रालयले जानकारी दियो ।
कार्यक्रममा उपप्रधान एवम् परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठ, गृह मन्त्री बिजय गच्छदार, वन मन्त्री यदुवशं झालगायतका सरकारी उच्च पदस्थ अधिकारीको सहगभागिता रहेको थियो । (तस्विर गुगल)

प्रतिक्रिया