प्रचण्डले के गर्न खोजेका हुन् ?

प्रचण्डले आफू प्रधानमन्त्री बन्न कुनै खेल खेलिरहेका छन् भन्ने मलाई लाग्दैन । गिरिजाप्रसादले कृष्णप्रसाद भट्टराई र शेरबहादुर देउवाको सरकार ढालेजस्तो आफ्नै पार्टीको उपाध्यक्षलाई प्रधानमन्त्रीबाट विस्थापित गर्ने प्रचण्डको नियत पक्कै छैन । यसका लागि एउटै कारण पर्याप्त छ कि उनी प्रधानमन्त्री नभएरै प्रधानमन्त्रीको भन्दा बढी ‘पावर एक्सरसाइज’ गरिरहेका छन् । प्रचण्ड तत्काल प्रधानमन्त्री बन्ने माहोल पनि छैन अहिले ।
वैधानिक हिसाबले हेर्दा प्रधानमन्त्रीमा बाबुराम भट्टराईलाई निरन्तरता दिनु नै सबैभन्दा उपयुक्त विकल्प हो किनकि उनी संविधानअनुसार चुनिएर आएका प्रधानमन्त्री हुन् । अर्को प्रधानमन्त्री बनाउन संविधानसभाको सदस्य कहाँ खोज्न जाने ? उनको विकल्प खोजियो भने गलत नजिर बस्छ । राष्ट्रपतिले अर्को सरकार गठनका लागि गरेको आह्वान असंवैधानिक र राजनीतिक हिसाबले त्रुटिपूर्ण छ । संविधान मरिहाल्यो, यसको लास के बोकेर हिँड्नु भन्ने हो भने बेग्लै कुरा ।

प्रतिक्रिया