वाणिज्य बैंकको नाफा १ अर्ब ११ करोडले बढ्यो

काठमाडौं, १२ मंसिर । वाणिज्य बैंकहरूले चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा तीन अर्ब ८१ करोड रुपियाँ खुद नाफा गरेका छन् । यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा ४१ दशमलव २४ प्रतिशतले बढी हो । गत आवको पहिलो त्रैमासिकमा वाणिज्य बैंकहरूले दुई अर्ब ७० करोड ३७ लाख रुपियाँ मात्र खुद मुनाफा आर्जन गरेका थिए । चालु आवमा वाणिज्य बैंकहरूले अघिल्लो वर्षको तुलनामा एक अर्ब ११ करोड ५० लाख रुपियाँ बढी नाफा आर्जन गरेका छन् ।
असोज मसान्तसम्म कुल वाणिज्य बैंकमध्ये सबैभन्दा बढी नबिल बैंकले ५९ करोड १४ लाख ३६ हजार रुपियाँ खुद मुनाफा आर्जन गरेको छ । यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा ९३ प्रतिशतले बढी हो । त्यसैगरी पहिलो त्रैमासिकमा बढी नाफा आर्जन गर्ने वाणिज्य बैंकमा नेपाल इन्भेस्टमेन्ट बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंक, एभरेस्ट बैंक, कृषि विकास बैंक, राष्ट्रिय वाणिज्य बैंक, हिमालयन बैंक, नेपाल एसबिआई बैंक, बंैक अफ काठमाडौं, एनआइसी बैंक रहेका छन् । तीन महिनामा १० करोड बढी मुनाफा गर्ने यी बैंकहरू ३२ वाणिज्य बैंंकमध्ये नाफाका आधारमा उत्कृष्ट १० बैंकमा परेका छन् ।
अघिल्लो वर्षको तुलनामा प्रतिशतको आधारमा अत्यधिक नाफा गर्ने बैंकमा भने नयाँ बैंक परेका छन् । मेगा बैंक, कमर्ज एन्ड ट्रस्ट बैंक, सिभिल बैंकलगायत नयाँ बैंकले अघिल्लो वर्षको तुलनामा चालु आवको पहिलो त्रैमासिकमा १० गुणासम्म बढी नाफा कमाएका छन् । एनबी समूहको प्रवद्र्धनमा सञ्चालित एनसिसी बैंकको खराब कर्जा असुलीमा भएको वृद्धिका कारण सो बैंकको नाफामा पनि वृद्धि भएको छ । बैंकको गत वर्ष खराब कर्जा ४ दशमलव ११ प्रतिशत रहेकामा यस वर्षको पहिलो त्रैमासिकमा ३ दशमलव १३ प्रतिशतमा झरेको छ । बैंकले गत वर्षको पहिलो त्रैमासिकमा नोक्सानी व्यवस्थाका लागि १३ करोड ५७ लाख ३० हजार रुपियाँ छुट्याइएकामा चालु आवमा भने एक करोड ६२ लाख ८८ हजार रुपियाँ मात्र छुट्याइएको छ ।
३२ वाणिज्य बैंकमध्ये ७ वटा वाणिज्य बैंकको नाफा मात्र अघिल्लो वर्षको पहिलो त्रैमासिकको तुलनामा घटेको छ । स्ट्यान्डर्ड चार्टर्ड बैंक, लक्ष्मी बैंक, माछापुच्छ्रे बैंक, सिद्धार्थ बैंक, ग्रान्ड बैंक, कुमारी बैंक र सेन्चुरी बैंकको मात्र नाफा चालु आवको पहिलो त्रैमासिकमा घटेको हो । सबैभन्दा बढी सेन्चुरी बैंकको ६८ प्रतिशतले नाफा घटेको छ भने कुमारी बैंकको ५२ प्रतिशतले र ग्रान्ड बैंकको २१ प्रतिशतले घटेको हो । त्यसैगरी सिद्धार्थ बैंकले १७ प्रतिशतले, माछापुच्छ्रे ८ प्रतिशत, लक्ष्मी बैंक ६ प्रतिशतले घटेको छ । स्ट्यान्डर्ड चार्टर्ड बैंकको नाफा भने झिनो प्रतिशतले मात्र घटेको हो । बाँकी २५ बैंकको नाफामा न्यूनतम ६ प्रतिशतदेखि १० गुणासम्म नाफामा वृद्धि भएको छ ।
किस्ट बैंकका नायव महाप्रबन्धक बिएन घर्ती मगरले गत वर्षको तुलनामा कर्जाको माग बढ्न गएकाले बैंकहरू नाफामा गएको बताए । ‘अघिल्लो वर्ष यो समयमा कर्जामो माग शून्यजस्तै थियो । अहिले कर्जाको अवस्था राम्रो भएको छ,’ उनले भने । अमेरिकी डलरमा भएको मूल्यवृद्धिले रेमिट्यान्समा वृद्धि भई आयातमा समेत वृद्धि भएको छ । आयातमा वृद्धि हुँदा उपभोक्तासँग सम्बन्धित विभिन्न कर्जा जस्तै गाडी, घर कर्जामा समेत वृद्धि भएकाले पनि बैंकको नाफामा वृद्धि भएको
उनले बताए ।
पछिल्लो समय बैंक तथा वित्तीय संस्थाले नगद लाभांश घोषणा गरे पनि वितरण नगरेकाले त्यसको असर पनि नाफामा देखिएको हो । नेपाल राष्ट्र बैंकको उत्पादनशील क्षेत्रमा कर्जा लगानी गर्नुपर्ने नीति बमोजिम कृषि क्षेत्रमा उल्लेख्य मात्रामा कर्जा गएकाले यस वर्ष कर्जाको वृद्धि दर राम्रो देखिएको उनले बताए ।
पछिल्लो समय बैंकहरूमा यथेष्ट तरलता रहेका कारण निक्षेपमा दिने ब्याजदर अधिकांश बैंक तथा वित्तीय संस्थाले घटाएका छन् । १२ प्रतिशतमा लिएको मुद्दती निक्षेपको ब्याजदर नवीकरण गर्दा ७ प्रतिशतमा गरिएको छ । एकातिर निक्षेप लागतमा भारी कटौती भएको छ भने कर्जाको ब्याजदर भने त्यस्तो अनुपातमा घटेको छैन । निक्षेपको लागतमा गिरावट र कर्जाको लागतमा सुस्त गिरावटले पनि बैंकहरूको नाफा बढ्नमा सहयोग पुगेको घर्ती मगरले बताए ।

प्रतिक्रिया