‘चलचित्र बनाउने रहर छ’

चलचित्र कमै हेर्छु । चाहना नै नभएको होइन, व्यस्तताका कारण भ्याउँदिनँ । समय निकालेर चलचित्र हेर्न पाए हुन्थ्यो भन्नेचाहिँ बारम्बार लागिरहन्छ । हेरेकामध्ये मैले थाहा पाएको पहिलो नेपाली चलचित्र हो– हामी एक हौँ । पछिल्लो समय चलचित्र ‘लुट’ पनि हेर्न भ्याएको थिएँ ।
नेपाली चलचित्रको सबैभन्दा मन पर्ने पक्ष भनेको लोकेसन हो । नेपाली प्राकृतिक सौन्दर्य पर्दामा पनि बडो मनमोहक देखिन्छ । यसबाहेक ऐतिहासिक पृष्ठभूमि बोकेका चलचित्र पनि मन पर्छन्, पुरातात्त्विक कुराबारे ज्ञान लिन सकिन्छ । मैले हेरेका ‘गणेशमान’ र ‘वसन्ती’ तिनै चलचित्रमध्ये पर्छन् । यी चलचित्र हेर्न पाएकोमा निकै खुसी लागेको थियो । ‘गणेशमान’ चलचित्रले इतिहासप्रसिद्ध नेता गणेशमानबारे थाहा नभएका थुप्रै पक्षबारे जानकारी गराइदियो भने ‘वसन्ती’ हेर्दा प्राय: सुनिँदै मात्रै आएका राणाकालका थुप्रै प्रसंग आफ्नै आँखाअगाडि देखिरहेजस्तो अनुभूति भयो ।
‘लुट’ विशुद्ध कमर्सियल चलचित्र थियो, यो पनि मलाई निकै राम्रो लाग्यो । अहिलेको परिवर्तित नेपाली समाज अनि चलचित्र क्षेत्रको वर्तमान अवस्था र गुणस्तरबारेको राम्रो जानकारी यसबाट पाउन सकियो ।
चलचित्र कम हेरे पनि नेपाली कलाकार भने थुप्रैलाई चिन्छु । दोहोरो चिनजान र नजिकको सम्बन्ध भएका कलाकारचाहिँ शिव श्रेष्ठ र गरिमा पन्त हुन् । शिवदाइसँगको चिनजान पुरानै हो, गरिमासँग चाहिँ केही समयअघि मात्र चिनापर्ची भएको थियो ।
चलचित्र हेरेका आधारमा मूल्यांकन गर्ने हो भने मलाई नेपालका कुनै पनि कलाकार पर्फेक्ट लाग्दैनन् । अभिनय मन पर्नेचाहिँ शिव दाइ र गरिमाकै हो । शिव दाइको अभिनयमा रियालिटी झल्कन्छ, गरिमाको अभिनयले नेपालीपनको अनुभूति गराउँछ ।
तुलनात्मक रूपमा हेर्दा चलचित्रचाहिँ पहिलेकै राम्रा । किनभने पहिलेका चलचित्रमा हाम्रो संस्कृति, भेषभूषा र रहनसहन आदि समेटिएको हुन्थ्यो । अहिलेका चलचित्रमा नेपालीपन हराउँदै छ । निर्माणशैली अनि प्रविधिका हिसाबले भने अहिलेका चलचित्रले प्रगति गरेका छन् । प्राविधिक रूपमा त दुईगुना बढी फड्को मारिसकेजस्तो लाग्छ । तर, विदेशीबाट हुबहु कपी गर्ने प्रवृत्तिले मौलिकता संकटमा परेको छ ।
त्यसो त बलिउडले पनि हलिउडको कपी गर्छ । थुप्रै चलचित्रको भिडमा कथावस्तु मिल्नु स्वाभाविकै मान्नुपर्ने अवस्था आएको छ अहिले । तर, बलिउडले कपी गरे पनि ती चलचित्रमा आफ्ना मौलिक घटना, परिवेश र कलासंस्कृति राखेर पूरै नयाँ चलचित्र जसरी प्रस्तुत गरिदिन्छ । स्थानीय दर्शकले त्यसमा आफ्नोपन अनुभूति गर्छन् । कपी नै गर्ने हो भने नेपालमा पनि त्यसै गर्न सक्नुपर्छ ।
इच्छा हुँदाहुँदै पनि हेर्न नपाएका नेपाली चलचित्र थुप्रै छन् । तिनको नामचाहिँ याद छैनन् अहिले । कतिपय चलचित्र चलेकै थाहा पाइन्नँ भने कति कामका कारणले भ्याइँदैन । फेरि नेपाली चलचित्रको प्रचारशैली उति प्रभावकारी छैन, प्रमोसन पनि एउटा समस्या देखिन्छ ।
चलचित्र आफैँमा रमाइलो क्षेत्र हो । पैसा भयो भने भविष्यमा मलाई पनि चलचित्र बनाउने इच्छा छ । कसैले अभिनयको अफर गर्‍यो भने पनि पछि पर्दिनँ तर नेपाली कलासंस्कृति समेटिएको ऐतिहासिक चलचित्र हुनुपर्छ ।

प्रतिक्रिया