‘सुनगाभा’ पुस तेस्रो साता

काठमाडौं : युवानिर्देशक सुवर्ण थापाद्वारा निर्देशित नेपाली कथानक चलचित्र ‘सुनगाभा : डान्स अफ द अर्किड्स’ ले आफ्नो प्रचार सुरु गरेको छ । शनिबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा चलचित्रको रिलिज मिति, प्रोमो र पोस्टर सार्वजनिक गरेर आफ्नो प्रचार सुरु गरेको छ । चलचित्र आगामी पुस २० गतेबाट प्रदर्शनमा आउने भएको छ ।
मन्ट्रियल, ह्याम्बर्ग, मुम्बई, सा जा द ल्यूज, पामस्प्रिङ र चेन्नाई जस्ता महत्त्वपूर्ण चलचित्र महोत्सवहरूमा ‘सुनगाभा…’ ले सहभागिता जनाइसकेको छ ।
दुई समलिंगी युवतीको भावनात्मक सम्बन्धलाई मूल विषय बनाएर निर्माण गरिएको चलचित्रलाई आमी फिल्मस्ले फ्रान्सको र्‍याप्सोडी प्रोडक्सन र सिते फिल्मस् सँगको सहकार्यमा निर्माण भएको हो । यसमा दिया मास्के, निशा अधिकारी, सौगात मल्ल, बसुन्धरा भुसाल, लक्ष्मी गिरी, मेनुका प्रधान, सरिता गिरी, राजेन्द्र शाक्य, सुनिता ठाकुर र नास्वो जोशी आदीको अभिनय रहेको छ ।
अधिकांश प्राविधिक टोली फ्रान्सेली रहेको चलचित्रकी छाँयाकार सारा कोर्नू हुन् भने संगीत सिल्भा मोरिजे र कुटुम्ब ब्यान्डको रहेको छ । चलचित्रलाई आइकोर फिल्मस् र नरेन्द्र महर्जनले वितरण गर्ने भएका छन् । (सौस)

प्रतिक्रिया