म आफूभित्रको आँधी र पागलपनलाई पर्खिन्छु

०२४ सालमा भोजपुरमा जन्मेका विप्लव ढकाल समकालीन नेपाली कविहरूबीच जानपहिचानको नाम हो । उनको लामो कविता ‘प्रोफेसर शर्माको डायरी’ले नेपाली कवितामा नयाँ तरंग ल्याएको थियो । ढकाल मजदुर, किसान अनि आममान्छेको जिन्दगीसँग जोडिएका विषयमा कविता लेख्छन् र तिनमै आफ्ना पात्र खोज्छन्, जहाँ परिस्थितिअनुसार पाठकलाई आफ्नो अनुहार देखाइदिन्छन् । शैली, संवेदना र समाजको सटीक चित्रणका लागि उनका कविता रुचाइन्छन् । उनका ‘हिउँको यात्रा,’ ‘भोजपुरको साहित्यिक रूपरेखा,’ ‘निर्जन बन्दरगाह,’ ‘अन्तिम नायिका,’ ‘कालो मध्यान्तर,’ ‘प्रोफेसर शर्माको डायरी’ लगायत पुस्तक प्रकाशित छन् ।
० कविता किन लेख्नुहुन्छ ?
आफू बाँचेको समय र समाजसँग संवाद गर्न कविता लेख्छु । आºनो अन्तरात्मासँग साक्षात्कार गर्न मैले रोजेको सबभन्दा प्रिय बाटो कविता नै हो । कविता मेरो आस्था, प्रेम र आराधना पनि हो । म आºनो आस्था र प्रेमलाई जीवित राख्न चाहन्छु ।
० ‘कविताको मृत्यु भइसक्यो, यो आख्यानको जमाना हो’ भन्छन् नि π तपाईं के भन्नुहुन्छ ?
यो एउटा राजनीति हो । तर, यसमा आधा सत्यचाहिँ अवश्य नै छ π अनियोजित रूपमा रोगी, कुरूप र कुपोषणग्रस्त कविता लेखेर शब्दको शक्तिमाथि ठट्टा गर्दै कतिपय कवि आफैँले पनि समाजबाट कविताको धागो चुँडाएका छन् । केही धागो समालोचकहरूले चुँडाएका छन् । विश्वविद्यालय, एकेडेमी र मिडियाले पनि चुँडाएका छन् । अर्कातिर मृत्युपर्वको शृंखला पनि लामै छ नि होइन र ? कहिले ईश्वरको मृत्यु, कहिले इतिहासको मृत्यु, कहिले कविताको मृत्यु π … तर यी सबै भ्रम हुन् । केही पनि मरेका छैनन् π यो त विचारको मार्केटिङ गर्ने एउटा सामान्य रणनीति मात्र हो । वास्तविक कविता मान्छेको सौन्दर्यचेतनाको सबैभन्दा तीव्र र जीवन्त आवाज हो । यस धर्तीमा अन्तिम मान्छे बाँचुन्जेल उसका संवेदना र सपनाहरूको सबभन्दा जिउँदो प्रमाण बनेर कविता बाँचिरहनेछ । आज आख्यानलगायत अन्य विधामा पनि कविताको शक्ति र सौन्दर्य रूपान्तरित भइरहेको छ । राम्रा कविताहरूको सामाजिकीकरण भइरहेको छ । त्यसैले ढुक्क हुनुहोस्, कविता मरेको छैन र मर्दैन पनि π
० कविताका शक्ति र सीमा के–के हुन् ?
कविता आफैँमा एउटा शक्ति हो, शब्द र चेतनाको घर्षणबाट उत्पन्न भएको शक्ति π यसले मान्छेको मनोविज्ञानलाई संस्कृति र समाजशास्त्रसँग जोड्छ र शब्दका सचेत उपभोक्ताहरूको बौद्धिक भोकसँग सूक्ष्म संवाद गर्छ । कविताले आºनो अस्तित्व र उपस्थितिको सूचना आफँै दिन्छ र शब्दको वीर्यलाई क्षय हुनबाट बचाउँछ । स्वाभाविक रूपमा यसका सीमा पनि छन् । कवितासँग सक्कली संवाद गर्न काव्यिक साक्षरता जरुरी हुन्छ र प्रत्येक युगमा युगलाई ब्युँझाउने कविता थोरै मात्र लेखिन्छन् ।
० आजका कविताको मूल स्वर के हो ?
आज नयाँ कविहरूको एउटा सचेत र जागरुक पुस्ता कवितामा आºनो स्पेस खोजिरहेको छ । यसले आफूभन्दा अगाडिको पुस्तालाई पुरानो बनाउने तागत बोकेको छ । उनीहरू कवितालाई समाज र संस्कृतिका विविधतासँग जोडेर आºनो समयको जडता भत्काइरहेका छन् र विचारको नयाँ शक्ति निर्माण गरिरहेका छन् । त्यसैले अब कविताहरूको डिस्कोर्स बदलिँदै छ, कोरियोग्राफी बदलिँदै छ र भाषा बदलिँदै छ । किनाराका आवाजहरू केन्द्रमा आइरहेका छन् । आजका कवि यिनै आवाजको मूल्य खोजिरहेका छन् । त्यसैले आवाजविहीन, इतिहासविहीन र शक्तिविहीन मान्छेहरूको आवाजको खोजी नै आजका कविताहरूको मूल केन्द्र हो ।
० कविले कविताजस्तै जीवन बाँच्न सक्छ कि सक्दैन ?
यो कविको स्वतन्त्रतासँग गाँसिएको कुरा हो । उसको वैयक्तिक निर्णय, सर्वोच्च छनोट र नैसर्गिक अधिकारको विषय हो । कविताजस्तै जीवन बाँच्न सकिन्छ पनि, सकिँदैन पनि । तर, इमान र आत्मसम्मानपूर्वक बाँच्न सक्नु ठूलो कुरा हो ।
० देशमा सुरु भएको व्यापक राजनीतिक र सामाजिक रूपान्तरणको प्रक्रियामा साहित्यको स्वर निकै मधुरो सुनिन्छ नि ?
यो सत्य होइन । नेपालको समकालीन राजनीतिक र सामाजिक रूपान्तरण प्रक्रियामा साहित्यको सशक्त भूमिका रहेको छ । आजको साहित्य सांस्कृतिक विविधता र समाजशास्त्रीय मूल्यको बलियो जमिनमा उभिएको छ र समाजसँग प्रत्यक्ष संवाद गरिरहेको छ । समय र समाजका गति र जडता दुवैलाई यसले सम्बोधन गरेको छ । आजको साहित्य समाजको निर्जीव दर्पण मात्र बनेको छैन, जिउँदो आवाजसहित बोलिरहेको छ । दर्पणभित्र त छाया मात्रै हुन्छ, चेतना हुँदैन । चेतनाले नै आवाज नभएकाहरूलाई आवाज खोज्ने उज्यालो दिन्छ, प्रतिरोध गर्ने शक्ति दिन्छ र बहुलाउने तागत दिन्छ ।
० दशवर्षे जनयुद्ध साहित्यका लागि उर्वर भूमि थियो । हाम्रो साहित्यले यसलाई कुन रूपमा उपयोग गर्‍यो ?
सशस्त्र युद्धले निर्माण गरेको चेतना तथा यसका त्रासदी र अभिघातहरूको पीडा त्यति सजिलै बिर्सन सकिने विम्ब होइन । यसका कारण र परिणामहरूको मूल्य पनि त्यति सस्तो छैन । हाम्रो सामाजिक मनोविज्ञानलाई यसले निकै पछिसम्म लखेटिरहनेछ । युद्धमा बगेको रगतको लय र काटिएका टाउकाहरूको संगीतले भोलिको इतिहासलाई पनि झस्काइरहनेछ । त्यसैले हाम्रो साहित्यमा यसको दीर्घकालीन असर रहनेछ । आज मूलत: युद्धका पक्षमा, विपक्षमा र तटस्थ द्रष्टाका रूपमा तीन कित्तामा उभिएर साहित्यकारहरूले कलम चलाएका छन् तर सूक्ष्म सत्यहरूको उद्घाटन हुन बाँकी नै छ ।
० आफ्ना कवितामा समकालीन कवि साथीहरूको प्रभाव कत्तिको परेको अनुभव गर्नुभएको छ ?
हरेक कविमा आºना अग्रज, समकालीन र आफूभन्दा पछिल्लो पुस्ताका कविहरूको पनि कुनै न कुनै प्रभाव रहेको हुन्छ । कविता लेखन नितान्त निजी र व्यक्तिगत कर्म मात्र होइन । आºनो समय र समाजका थुप्रै पात्रसँगको सूक्ष्म अन्तरक्रियाबाटै शक्तिशाली कविताको जन्म हुन्छ । मेरा कवितामा पनि समकालीन साथीहरूको प्रभावको अंश अवश्यै रहेको छ । कतै म प्रभावित भएको छु, कतै उनीहरूलाई प्रभावित गरेको छु । प्रभावहरूको विनिमयबाट नै सिर्जनात्मक प्रतिस्पर्धाको संस्कृति निर्माण हुन्छ ।
० एउटा सुन्दर कविता लेखिसकेपछि सबैभन्दा पहिले तपाईंको आफ्नै प्रतिक्रिया कस्तो हुन्छ ?
कविता लेख्नका लागि मलाई एउटा विशेष प्रकारको मुड र मानसिक हलचल चाहिन्छ । म आफूभित्रको आँधी र पागलपनलाई पर्खिन्छु । महिनौँसम्म चुपचाप र धैर्यपूर्वक पर्खिन्छु । जब आफँैभित्रको आँधीले मलाई भत्काउन थाल्छ, शब्दहरू पागल हुन्छन् र एउटा लयको जन्म हुन्छ π यही नै मेरो कविता हो । कविता लेखिसकेपछि म आºनो चेतनाको पीडाबाट मुक्त हुन्छु । त्यसपछि मभित्रको पाठक र एउटा कठोर आलोचक ब्युँझिन्छ । त्यसबाट बचाउन सकेँ भने मात्र म आºना कविता सार्वजनिक गर्छु ।
० आजका कवितामा सबाल्टर्न स्वरहरू कत्तिको शक्तिशाली छन् ?
कवितामा सबाल्टर्नहरू हिजो पनि थिए तर उनीहरू कसैले नसुन्ने गरी इतिहासको डिलमा बसेर रोइरहेका थिए । उनीहरूको भाषा खोसिएको थियो । तर, आजका कवितामा उनीहरू प्रतिरोध चेतनासहित ब्युँझिएका छन् र आºनो भाषामा बोलिरहेका छन् । यही बोली नै आजका कविताको सबैभन्दा शक्तिशाली स्वर हो ।
० ‘प्रोफेसर शर्माको डायरी’ को नायक को हो ?
‘प्रोफेसर शर्माको डायरी’ मैले आºनो समयलाई सोधेको प्रश्न हो । यो म बाँचेको समयका बौद्धिक जडताहरूप्रतिको तीव्र असहमति र अस्वीकृतिको आवाज हो । यसमा मैले आफैँले भोगेका र नजिकबाट देखेका अनेकौँ पात्रको सूक्ष्म निरीक्षणबाट एउटा प्रतिनिधि चरित्रको निर्माण गरेको छु । यो हामीले भोगेको कुरूप वर्तमानको एउटा विसंगत प्रतीक मात्र हो । कवितामा वास्तविक नायकको जन्म हुन त बाँकी नै छ ।
० अबका कविताले सम्बोधन गर्नुपर्ने विषय के–के हुन सक्छन् ?
आफू उभिएको धर्तीलाई बिर्सियो भने कविता एक्लो र निरीह हुन्छ । पानीको फोकाजस्तै हुन्छ । इतिहासमा थुप्रै–थुप्रै पानीका फोका उठेका छन् तर पानीका फोकाहरूको कुनै सम्झिनलायक इतिहास हुँदैन । त्यसैले कविताको सामाजिकीकरण र सांस्कृतिक रूपान्तरण नै आजको सबभन्दा ठूलो चुनौती हो । यसैलाई ठीकसँग सम्बोधन गर्न सकियो भने हाम्रा कविताको जमिन खोसिने छैन र कविताको शिर ढल्ने छैन ।
० धर्म र ईश्वरबारे तपाईंको धारणा के छ ?
धर्म र ईश्वरप्रति मेरो कुनै अन्धविश्वास छैन । समाज विकासका क्रममा समाजलाई व्यवस्थित गर्ने आदिम उपायका रूपमा जन्मिएका अवधारणा हुन् यी । तर, यो समग्र सृष्टिलाई नियमित गर्ने कुनै सूक्ष्म र अदृश्य परम् तत्त्वप्रति मेरो आस्था र जिज्ञासा छ ।
० नेपालका वामपन्थी कविका कवितामा यौन किन वर्जित छ ?
सायद यो प्रश्न मलाई भन्दा उहाँहरूलाई नै सोध्नु उपयुक्त हुन्छ होला । उहाँहरू कुनै निश्चित राजनीतिक मिसनमा केन्द्रित भएर लेख्ने हुनाले पनि त्यसो भएको हुन सक्छ । जीवनका अन्य पक्षझैँ स्वाभाविक रूपमा यौन पनि एउटा शक्ति र सौन्दर्य हो । तर, यो नै जीवनको सम्पूर्णता होइन । जेलाई वर्जित गर्न खोजिन्छ, त्यसले नै सबभन्दा बढी मस्तिष्कलाई दु:ख दिन्छ र हृदयलाई कुण्ठित तुल्याउँछ ।

प्रस्तुति : दीपक सापकोटा

प्रतिक्रिया