भाडा घटाउन उद्योगीहरुको अल्टिमेटम

काठमाडौं, ८ मंसिर । औद्योगिक क्षेत्रमा उद्योग सञ्चालन गरिरहेका उद्योगीहरुले बृद्धि भएको भाडा घटाउन सात दिने अल्टिमेटम दिएका छन् । उनीहरुले माग पुरा गराउन दवाव दिन आन्दोलनको घोषणा समेत गरेका छन् ।
नेपाल औद्योगिक क्षेत्र उद्योग महासंघले आज काठमाडौंमा पत्रकार सम्मेलन गरेर उद्योगीहरुसँगको सहमतिविना ब्यवस्थापन समितिले एकलौटी भाडा बढाएको आरोप लगाएको छ । उसले ८ सय ५० देखि १४ सय प्रतिसत सम्म भाडा बृद्धि गरेको दाबी गरेको छ ।
महासंघले मंसिर १० देखि १७ गतेसम्म साताब्यापी आन्दोलनको कार्यक्रम घोषणा गरेको छ । मंसिर १० गते उद्योग संघहरुले सम्बन्धित औद्योगिक क्षेत्रमा विरोधपत्र बुझाउने, पत्रकार सम्मेलन गर्ने र भाडा बृद्धि पत्र चलाउने, ११ गते केन्द्रमा सञ्चालक समितिको अध्यक्षलाई र जिल्लामा प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाउने रहेका छन् ।
१२ गते उद्योगमा कालो झण्डा गाड्ने र स्थानीय स्तरमा विभिन्न संघ सस्थाहरुलाई आन्दोलनबारे जानकारी गराउने पनि कार्यक्रम छ ।
मंसिर १३ गते विभिन्न संघ संस्थासँग आन्दोलनमा एक्वद्धताका लागि अनुरोध गर्ने, विभागीय मन्त्री र प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउने, १४ गते जुलुस र महाप्रवन्धकको पुत्ला दहन गर्ने र १७ गते क्षेत्रीय कार्यालयको प्रवन्धकको कार्यकक्षमा तालाबन्दी गर्ने रहेको छ ।
आफूहरुको माग पुरा नभए १८ गतेबाट थप शसक्त आन्दोलनको कार्यक्रम घोषणा गर्ने पत्रकार सम्मेलनमा चेतावनी दिईयो ।
महासंघका अध्यक्ष शैलेन्द्रलाल प्रधानले यसअघि प्रत्येक दुई वर्षमा १५ प्रतिसतको दरले भाडा बृद्धि गर्ने गरी सहमति भएको भए पनि कर्मचारीको दवावमा ब्यवस्थापनले अप्राकृतिक रुपमा भाडा बढाएको आरोप लगाए ।

प्रतिक्रिया