बुद्धत्व बिर्सिएका प्रचण्ड

एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई गत शनिबार भृकुटीमण्डममा आयोजित चियापान समारोहमा पदम कुँवर नामका युवाले झापड हाने । भनिन्छ कुँवर माओवादीकै पूर्व लडाकु हुन् । यसको पुष्टि वा समर्थन वा विरोध सम्बद्ध पक्षबाट हुने नै छ । नेतामाथि भएको अशोभनीय व्यवहार, यो पहिलो भने होइन । नेपाली कांग्रेस, एमालेका शीर्ष नेताहरूमाथि यस्तो खाले व्यवहार घटित भइसकेको छ । ०६९ साल असोज १३ गते नेपाली कांग्रेसका सभापति सुशील कोइरालामाथि नेपाली कांग्रेसको भ्रातृसंस्था नेविसंघका क्षेत्रीय अध्यक्ष प्रवेश बस्नेतले फोटो फ्रेमद्वारा आक्रमणको प्रयास गरेका थिए । कांग्रेसका कार्यकर्ताले प्रतिक्रिया स्वरूप बस्नेतमाथि निर्घात रूपमा कुट्न पुगेका थिए । माघ ७ गते ०६७ सालमा सुनसरीमा एमाले कार्यकर्ता देवीप्रसाद रेग्मीले आफ्नै अध्यक्ष झलनाथ खननाललाई झापड हानेका थिए । त्यस्तै एमाओवादीका पूर्व सभासद् झक्कु सुवेदीलाई एकजना रेस्टुरेन्ट व्यवसायीले त्यस्तै खालको व्यवहार गरेका थिए । एमालेका रामनाथ ढकाल पनि अछुत रहेका थिएनन् । उनको गाडीमा प्रहार गरिएको थियो ।
यसरी क्रमबद्ध रूपमा देशका ठूला दलका शीर्ष नेतृत्वप्रति यस्तो आक्रोशजन्य युवाको व्यवहार किन भइरहेको छ ? त्यसको सुक्ष्म अध्ययन र सामाजिक विश्लेषण गरिएको छ वा छैन ? त्यसप्रति दल र नेतृत्व गम्भीर बन्नुपर्छ । मानवीयलगायत सामाजिक मनोविज्ञानको विषयका साथै अपराधशास्त्रको क्षेत्रभित्र पनि यो घटना पर्छ । सम्बद्ध विषयका ज्ञातासँग परामर्श गरी त्यस्ता श्रृंखलाबद्ध घटनाको अन्त्यका लागि सम्बद्ध पक्ष लाग्नुभन्दा क्रियाको प्रतिक्रिया मात्र गरेको पाइन्छ । आफूलाई देवत्वकरण गर्ने कार्यकर्ता नै आफूप्रति किन यसरी आक्रोशित भइराखेका छन् ? नेतृत्वप्रति वितृष्णा, आक्रोशका मौखिक अभिव्यक्तिभन्दा शारीरिक अभिव्यक्ति नै किन प्रदर्शन भइराखेका छन् ? आपैँmद्वारा प्रशिक्षित कार्यकर्ता आफूमाथि नै किन खनिँदै गइरहेका छन् ? कार्यकर्तालाई नियन्त्रणमा राख्ने नेतृत्वको क्षमतामा ह्रास आएको त होइन ? अनुशासनहीन कार्यकर्ताको जिम्मा र दायित्व कसको हो ? कार्यकर्ता सधैँ झोला नै बोकेर नेतृत्वको जय जयकार मात्र गरेर हिँड्न सक्दैनन् । उसको सामाजिक र व्यक्तिगत दायित्व हुन्छ । उसलाई पनि नेतृत्वलाई जस्तै भोक र तिर्खा लागेको हुन्छ । त्यसको अनुभूति नेतृत्वले गरेको हुनुपर्छ । त्यस्तो विवेकयुक्त व्यवहार नेतृत्वबाट के कति मात्रामा भएको छ, भुक्तभोगीले बाहेक अरूले थाहा पाउने कुरा पनि भएन । आफ्ना दीर्घकालीन वा अल्पकालीन कार्यकर्तालाई ‘कार्यकर्ता’ मात्र बनाउने होइन । कोरा सिद्धान्तको रटानमा मात्र अभ्यस्त बनाउनु पनि नेतृत्वको विवेकशील कार्य होइन । उनीहरूलाई जिउने कला र आधार के हो त्यसप्रति नेतृत्व चिन्तनशील हुनुपर्छ । घटित घटनाको तत्कालीन प्रतिक्रिया दिने प्रवृत्ति मात्र दल र नेतृत्वमा देखिएको छ भने उल्लेखित तथ्यप्रति उदासीन देखिन्छ ।
आफ्ना अध्यक्षमाथि भएको व्यवहारलाई त्यसबेला एमालेका नेताहरूले देशमा संविधान बन्न नदिने सुनियोजित खेलको रूपमा लिएका थिए । कांग्रेस सभापति सुशील कोइरालामाथि भएको दुव्र्यवहारलाई शान्ति, संविधान र लोकतन्त्र नचाहनेको आक्रमणको रूपमा कांग्रेसका नेताहरूले बुझेका थिए । आफ्नो अध्यक्षमाथि भएको आक्रमण माओवादीको बुझाइमा शान्ति र संविधान नचाहने देशी, विदेशी र प्रतिगामीले गरेको नियोजित र षडयन्त्रमूलक घटना हो भन्ने ठहर गरे । आफ्नै कार्यकर्ताबाट भएको दुव्र्यवहारलाई अतिरञ्जित र प्रचारमुखी बनाइराखेको पाइन्छ । आफ्ना रुष्ट कार्यकर्ताको मनोविज्ञान बुझ्नभन्दा घटनालाई बढाइ चढाई प्रतिगमनको गन्ध देख्ने दलीय प्रवृत्ति अरूका लागि भन्दा पनि आफ्नै दलका लागि घातक हुन सक्छ ।
प्रचण्डमाथि भएको घटनापछि बुद्धकालीन एउटा बोध कथाको स्मरण भयो । विहानको समय हुन्छ । एकजना भिखारी राजाको दरबारको ढोकामा आउँछ । झ्यालबाट हेरिरहेका राजाले भिखारीलाई देख्छन् । भिखारीलाई हेर्दा संयोगवश झ्यालमा राजा ठोक्किन पुग्छन् । उनको निधारमा चोट लाग्छ र निधारमा लागेको चोटका कारक राजाले भिखारीलाई ठान्छन् । दरबारमा सभा बस्छ । सभामा भिखारीलाई ल्याइन्छ । उसलाई हेर्दा राजाको निधारमा चोट लागेकाले त्यस्तो अपसगुनकारी भिखारीलाई मृत्युदण्ड नै दिनुपर्ने निर्णय सभाले गर्छ । माग्न आएको भिखारीले भिक्षा होइन मृत्युदण्ड पाउने निर्णय सुन्छ । परम्पराअनुसार मृत्युदण्ड निकट पुगेको उक्त भिखारीलाई अन्तिम इच्छा सोधिन्छ । उसले भन्छ, ‘मलाई हेर्दा म असगुन भएकाले राजाको निधारमा चोट लाग्यो, तर मैले राजालाई हेर्दा त मेरो ज्यानै जाने भयो । कसको लागि को बढी अशुभ र अपसगुन भयो निक्र्यौल गरिपाउँm’ भनी भिखारीले माग गर्छ । सभाको चेतनाले भिखारीको तर्क जायज ठान्छ । अन्तत: भिखारीले अभयदान पाउँछ ।
झापड प्रकरणमा माथिको कथा स्मरण भयो । पूर्वलडाकुले त प्रचण्डलाई मात्र झापड हानेको थियो, त्यो पनि एकपटक । तर, प्रचण्डका कार्यकर्ताले त त्यो आक्रोशित युवालाई मरणासन्न अवस्थामा पुर्‍याए । रगताम्य कुँवरको अनुहार हेर्दा जोकसैको पनि आङ सिरिंङ हुन्थ्यो । निन्दित व्यवहार कुँवरबाट भएको थियो । त्यसमा कसैको विमति रहँदैन । तर, नेतृत्व पनि त्यसबेला शीघ्र निर्णय क्षमताबाट विमुख भयो । नेतृत्वले आफ्ना आक्रोशित कार्यकर्तालाई रोक्न सक्नुपथ्र्यो । संंयमित रहन निर्देशन दिनुपथ्र्यो । एउटा अनुशासनहीन कार्यको जवाफ अनुशासनहीन कार्य नै भयो । आक्रोशित कुँवरलाई नेतृत्वले अँगालो हाल्न सक्नुपथ्र्यो । ‘तिमी किन आक्रोशित भयौ ? कारण के हो ?’ भनी उसलाई सुनुवाइको अधिकार दिनुपथ्र्यो । त्यो भएन । नेतृत्व मुकदर्शक भयो । यदि, सुरक्षाकर्मीले कुँवरलाई नियन्त्रणमा नलिएको भए अन्यथा के हुन्थ्यो ? वस्तुस्थितिको मूल्यांकन गर्न नेतृत्व कमजोर देखियो ।
नेतृत्वमा हुनुपर्ने थुप्रै गुणहरूमध्ये क्षमाशीलता पनि हो । अभयदानी हुनु पनि हो । बुद्धलाई मार्न देवदत्तले के मात्र गरेनन् । उनका अनन्य भक्त राजालाई थुन्नुका साथै अजात शत्रुको साथ लिएर बुद्धलाई मार्नलाई थुप्रै षडयन्त्र बुन्यो । अजात शत्रुको सिपाहीलाई तरबार दिएर बुद्धलाई मार्नका लागि पठायो । तरबार हातमा लिएर गएको सिपाही बुद्धको दिव्यताका अगाडि नतमस्तक बन्छ । तरबार उठाउने आँट गर्दैन । अन्तत: सबै रहस्य खोल्छ । आफूलाई आदेश दिएको काम फत्ते नगरी जाँदा अजात सत्रुबाट आफ्नो जीवन खतरामा पर्ने कुरा गर्छ । बुद्धले नै उसको जीवनरक्षाका लागि मार्ग निर्देशन गर्छन् । उसको जीवनरक्षा र जीवन निर्वाहका लागि आफ्ना अनन्य भक्त अर्का राजाकहाँ जानलाई सल्लाहका साथै पत्र समेत लेखेर पठाउँछन् । त्यसैले नेतृत्वको क्षमता परख परिस्थितिमा हुन्छ ।
सुरक्षाको फितलोपनको कुरा पनि यस प्रकरणमा आएको छ । त्यत्रा सैनिक गणका बीच रहँदा पनि राजा वीरेन्द्र शाहको वंश विनाश हुने कहालीलाग्दो घटना हुन पुग्यो । इन्दिरा गान्धी आफ्नै सुरक्षा गार्डको हातबाट मारिइन् । सदा अहिंसाका नायक महात्मा गान्धी
गोड्सेको हातबाट मारिन पुगे । कुनै समय अमेरिकाका शक्तिशाली राष्ट्रपति लिंकन र केनेडीको स्वाभाविक मृत्यु हुन पाएन । उनीहरूको पनि यस्तै गरी हत्या भयो । श्रीलंकामा लिट्टेसँगको सम्झौतापछि उक्त देशको भ्रमणमा गएका राजिव गान्धीलाई एउटा सैनिकले बन्दुकले नै काँधमा हिर्काएको थियो । श्रीलंकाले आफ्नो अतिथि भारतीय सरकार प्रमुखको भ्रमणको सुरक्षार्थ सुरक्षा व्यवस्थापन गरेको थिएन होला र ? आकस्मिक रूपमा घटना घट्छन्, जसको सुरक्षा व्यवस्थापनको दृष्टि पनि नपुग्न सक्छ । अचानक तत्काल घटेका घटना सुरक्षा व्यवस्थापनको पहुँचबाट निक्कै टाढा हुन्छन् ।
नेतृत्वमाथि भएका दुव्र्यवहार आपैँmमा निन्दित छन् र भत्र्सनायोग्य छन् । यसको अर्थ सामाजिक मनोविज्ञान र युवा मनोविज्ञान बुझ्नपट्टि नलागेर क्रिया लागि प्रतिक्रिया मात्र दिने परम्परा दल तथा नेतृत्वबाट तोडिनु पर्ने जिम्मेवारी छैन भन्ने पनि होइन, छ । नेतृत्व गम्भीर बन्नुपर्छ । आत्ममूल्यांकन र विश्लेषणप्रति अग्रसर हुनुपर्छ । त्यस्ता घटनालाई प्रतिगमनको गन्ध ठान्ने मनोवृत्तिबाट मुक्त हुन सकेमा राजनीतिक दल र नेतृत्वको हित हुनेछ । लुम्बिनी विकासका लागि अभियन्ता भएका प्रचण्ड अझ बुद्ध दर्शनबाट प्रशिक्षित भएमा निश्चय पनि आफ्ना कार्यकर्ताबाट भएको देवत्वकरण सार्थकता निकट पुग्ने छ ।

प्रतिक्रिया