मथिलाञ्चलमा छठ पर्व शुरु

जनकपुर, २ मंसिर । विशेष गरेर तराई क्षेत्रमा भगवान सूर्यदेवको आरधना गरेर मनाईने छठ पर्व हर्सोल्लासका साथ मनाईदैछ ।
तिहार लगत्तै छठ पर्व मनाईन्छ । छठका लागि नदी, तलाउ, पोखरीहरुको सरसफाई गरेर घाट बनाईएका छन् । जनकपुरसहित धनुषा जिल्लाका नदी, तलाउ र पोखरीहरुमा घाट बनाएर सजिसजाउ बनाईएका हुन् ।
यस पर्वमा सबभन्दा बढी प्रयोग उखु र केराको हुन्छ । चार दिन सम्म मनाईने यो पर्व शनिबार अरवा, अर्वाइन र नहाय खाएर विधिवत् रुपमा शुरुवात गरिएको छ ।
मिथिलाञ्चलको महान पर्व भनेर चिनिने छठमा आइतबार व्रतालुहरुले चोखो भई स्नान गरेर अर्वा अर्वाइन खाने गर्दछन् । सोही दिनदेखि ब्रतालुहरुले चार दिन सम्मका लागि माछा, मासु, लसुन, प्याज समेत त्याग गरेर चोखो बस्ने परम्परा छ ।
त्यस दिन ब्रतालुहरुले पवित्र जलाशाय, पोखरी, नदी, तलाउहरुमा स्नान गरी शुद्ध हुन्छन् । कात्तिक शुक्ल चतुर्थीको दिनदेखि सप्तमीको बिहान सम्म यो पर्व मनाइने गरिन्छ ।
आइतबारपञ्चमी अर्थात खरना गरिन्छ । खरनामा दिनभरि उपावास बसेर साँझ नयाँ चुल्होमा प्रसाद बनाइन्छ । सो प्रसाद परिवारका सबै मिलेर खाने चलन रहेको छ । यस दिनलाई पापको क्षयको दिन भनेर पनि चिनिन्छ ।
तेस्रो दिन षष्ठी हुन्छ । यो दिन ठकुवा, भुसुवालगायतका सामग्रीहरु बनाई पवित्र जलाशय, पोखरी, नदी, तलाउमा गएर अस्ताँउदो सूर्यको पूजा गरिन्छ भने चौथो दिन अर्थात सप्तमीको दिन उदाँउदो सूर्यलाई पूजा गरेर छठ पर्वको विदाई गरिन्छ ।
शरद ऋतुको जाडो र गर्मीको मिश्रित समयमा कात्तिक शुक्ल षष्ठीको वेलुका अस्ताउदो र त्यसको भोलीपल्ट उँदाउदो सूर्यलाई अर्घ दिई यो पर्व मनाईने गरिन्छ ।
अस्ताउँदो सूर्यलाई छठी मईया तथा उदाउँदो सूर्य लाई दिनकर भनी पूजा गर्ने गरिन्छ ।

प्रतिक्रिया