एकै घरका तीन दिदीबहिनी नबोल्ने

प्युठान, २८ कात्तिक । यहाँको एउटा घरमा तीन दिदीबहिनी अहिलेसम्म बोल्दैनन् । खैरा–६, बडाचौरका सुमित्रा, पवित्रा र धना बस्नेत एकआपसमा मनमुटावले गर्दा नबोलेका भने होइनन् ।

उनीहरू जन्मजात अपांग भएका कारण नबोलेका हुन् । शारीरिक बनावटका आधारमा अपांगता भएकाहरूलाई जो–सुकैले चिन्ने गरे पनि यी तीन दिदीबहीनी अरूभन्दा फरक देखिन्छन् ।
बुबा जगतबहादुर र आमा दुर्गा बस्नेतका पाँच बहिनी छोरीमध्ये तीन छोरी अपांग जन्मिएका हुन् । उनीहरूको उमेर दुई/दुई वर्षको फरक रहेको छ ।
‘छोराको आसमा पाँचवटी छोरी जन्मिए,’ आमा दुर्गाले भनिन्, ‘तीन बहिनी नबोल्ने निस्किए ।’ छोरीहरूको उपचारका लागि धेरै ठाउँमा पुर्‍याइएको भए पनि निको हुन नसकेको उनले बताइन् ।
मुखले नबोल्ने भए पनि यी तीन दिदीबहिनी घरको काम गर्न र पढ्नमा भने निकै तेज रहेको बुबा जगतले बताए ।
उनका अनुसार यी तीन बहिनीमध्ये कान्छी धनाले ०६७ सालमा जिल्लाबाट पहिलोपटक एसएलसी उत्तीर्ण गरी उच्च शिक्षा पढ्दै छिन् भने काहिँली पवित्राले अहिले माध्यमिक शिक्षा पढ्दै छिन् । त्यस्तै अर्की साहिँली सुमित्राले काठमाडौंमा डेढ वर्षदेखि सिलाइ पेसा गर्दै आएकी छन् ।

प्रतिक्रिया