भोक र जाडोको संयुक्त मोर्चाविरुद्धका कविता

कुनै समय खल्तीमा कविताको चिर्कटो बोकेर विनोदविक्रम केसी र म गोष्ठी खोज्दै हिँड्थ्यौँ । दुवैमा कविताको अनन्त भोक थियो । सायद, भक्तपुरमा हुनुपर्छ, हाम्रो परिचय गर्ने अवसर जुर्‍यो । त्यस यता पन्ध्रवर्षदेखि हाम्रो मित्रवत् सम्बन्ध कायम छ । नागार्जुन साहित्य प्रतिष्ठानले आयोजना गर्ने काव्यगोष्ठीमा हामी टुप्लुक्क पुग्थ्यौँ । यो हाम्रो नियमित कार्य अन्तर्गत पर्दथ्यो । दुवैले सडकबाट निरंकुशता विरुद्ध तानाशाहलाई चुनौती दियौँ । गणतन्त्रलाई सानै भए पनि हाम्रो ऋण छ ।
कविताको भोकलाई मार्न उसले नयाँ संग्रह ल्यायो, ‘भोकको क्षेत्रफल’ । जनवादी शैलीको बिहेसँगै उसको पहिलो कृति सार्वजनिक भयो । बिहेसँगै कृति सार्वजनिक गर्नु बेस हुँदैन भन्ने मेरो सुझाव थियो । उसले बिहेलाई जीवनको महत्त्वपूर्ण उत्सव बनाउन चाह्यो । मेरो आशय कृति छायाँमा पर्छ कि भन्ने थियो । तर, उसको ताजा र भर्भराउँदो कविताले त्यो हुन दिएन ।
राजधानीकै काँठक्षेत्रबाट सहर झरेको विनोदले आफ्ना शक्तिशाली कवितामार्फत केन्द्रमा हस्तक्षेप गरेको छ । साधना र समर्पणलाई पाखा लगाएर कविता लेख्नेहरूको बीचमा कविताको शक्ति प्रस्तुत गरेको छ । नेपाली कविताका लागि यो सुखद पक्ष हो ।
थोरै लेख्छ विनोद र परिष्कृत गरेपछि मात्र प्रकाशन गर्छ । प्रकाशनपछि उसको कविताको चर्चा बजारमा लामो समयसम्म रहन्छ । कविता मन नपर्नेहरूले पनि विनोदको कविता पढेपछि कवितालाई सम्मान गर्न थाल्छन् । अकविहरू यदि निष्पक्ष छन् भने तिनीहरूले पनि विनोदको कविताको प्रशंसा गर्छन् ।
विनोद मूलत: वैचारिक कवि हो । विचारलाई चेतनामा उतारेर कविता बनाउनु जोखिमपूर्ण कार्य हो । विनोदले त्यस जोखिमलाई सक्षमतापूर्वक बहन गरेको छ । कविता समाजबाट उत्पन्न हुन्छन् र बेथेति तथा अमानवीयताप्रति आगो ओकल्छन् । विनोदका कवितामा विचारको नांगो उपस्थिति छैन, त्यसमा कला र शैलीका भिन्न र आकर्षक कलेवर छन् । कवि कृष्णज्वाला देवकोटाले भूमिकामा उल्लेख गरेजस्तै विनोदका कवितालाई कुनै सिफारिस आवश्यक छैन ।
बजारतन्त्र र विश्वको आधिपत्य गर्ने मुलुकका काला क्रियाकलापप्रति विनोद चनाखो छ । उसले विश्वलाई नजिकबाट अध्ययन गरेको छ, विश्व नागरिकको हैसियतले बेथितिलाई आपैँmले अनुभूति गरेको छ । सास फेर्नसमेत लाइसेन्स चाहिने र निस्सासिने समय विरुद्ध उसले आक्रोश पोखेको छ । मैला र हेपिएका मानिसप्रति प्रेम भाव दर्शाएको छ । एउटा उदाहरण–
क्या उच्च छ जीवनस्तर तिम्रो
हामीलाई भने दुई गेडा आलु पनि विलाशिता हुन्छ
पहिलो विश्वले आफू टन्न अघाएपछि
फालेका जुठा टपरी चाट्दै
मकर संक्रान्तिमा खिचडी खाएजस्तो गरेर
झुटमुट अघाउनेको के जीवन हुन्छ ?
के स्तर हुन्छ ?
(म आतंककारी होइन, पृष्ठ :१)
विनोदका कवितामा आवेग छन् र कविता पढ्दै जाँदा ती चुलिँदै जान्छन् । कलात्मक आवेग सुसज्जित उसका हरेक कविता ज्यूँदा मानिसप्रति समर्पित छन् । विनोद साथी भाइसँग जति नरम र सरस छ कवितामा त्यति नै आक्रोशित । ऊ राज्यले दिएको हरेक पीडालाई अभिलेख गर्न चाहन्छ । खोसिएको चामल खोज्न ऊ घरबाट निस्कन्छ । घाम नअस्ताउने साम्राज्यले प्रदान गरेको भिक्टोरिया क्रसलाई घाँटीबाट उतारेर उतै हुर्‍याउन चाहन्छ । समग्रमा ऊ समानता र न्याय चाहन्छ ।
नेपाली जनता ‘क्रान्ति एक्सप्रेस’ चढेर एक्काइसौँ शताब्दीको यात्रा गर्न चाहन्थे, तर क्रान्तिका मठाधीशहरूले त्यो अवसर दिएनन् । आफन्तजनका हाडखोरले निर्मित विशाल प्लेटफर्ममा क्रान्तिको खेलौना रेल आइपुग्यो । यो दुखद पक्षलाई विनोदले कविता बनाएको छ । लेख्छ–
स्तब्ध छ देश
बालरेलमा छन् अनुहार चिरपरिचित
फ्यान्सी टोपी लगाएका †
रंगीचंगी बेलुन हातमा लिएका †
आइसक्रिम र चकलेट खाइरहेका †
‘रेलगाडी छुक…छुक… छुक’ गाइरहेका †
(क्रान्ति एक्सप्रेस, पृष्ठ :२३)
लोकतन्त्रको सुन्दरताप्रति विनोदले व्यंग्य कसेको छ । लोकतन्त्रलाई सबै समस्याको अचुक औषधि सम्झनेहरू यसका दुर्बल पक्षप्रति अचेत छन् । चेत भए पनि आँखा चिम्लिन्छन् । लोकतन्त्रमा तस्कर, नेता, मन्त्री र हाकिमहरूका लागि बेहिसाब स्वतन्त्रता छ र घाम, पानी, हिलो, मैलो, गरिबी तथा बिरामी आमाका ऐया–आत्था वर्जित छन् । नाथे आलु पनि दुई हात लामो तरबार झिकेर निर्धामाथि प्रहार गर्छ । यस पद्धतिमा कविश्रीहरू राष्ट्र जलिरहँदा पनि स्त्रीका एक–एक अंगमाथि एक–एक गान लेखेर बस्छन् । सिटी सेन्टरका अगाडि निचोरेको कागतीजस्तो अनुहारधारी युवकहरू पराजित छन् । तिनीहरू सहरको आडम्बरलाई बढार्न चाहन्छन् ।
कविताका विषयवस्तु अनन्त छन् । विनोदका कविता पढ्दै जाँदा विश्व पुँजीवाद र राज्यले सिर्जना गरेका एक–एक विकृति छर्लंग हुन्छन् । ऊ अन्याय, अवहेलना र थिचोमिचोमाथि प्रहार गरिरहन्छ । एकथरि छन् जो कवितालाई समाजबाट टाढा भगाउन चाहन्छन् र कवितालाई एउटा सानो घेरामा थुन्न चाहन्छन् । मानवीय भावना भन्दै कोरा रुवाइ, कुन्ठा र कुपोषणग्रस्त विचारलाई कविता भन्छन् । प्रेमको नाममा कवितामा तनको लिप्सा भर्छन् । अर्कोथरि छन् जो कविताको नाममा ‘एब्स्ट्रयाक चिन्तन प्याज’ लेख्छन् र तिनीहरू आपैँmले मात्र बुझ्छन् । विनोद यी सबैबाट टाढा छ र उसले कविता–कलालाई राम्रोसँग महसुस गरेको छ । विचार र कलाको संयोजनमा विनोद कुशल छ । ऊ लेख्छ–
हिउँदे बिहान सडकपेटीमा
भोक र जाडोको संयुक्त मोर्चाविरुद्ध लड्दालड्दै ढलेको
सत्तरी वर्षीय मजदुर
हाम्रो सबैभन्दा ठूलो पुस्तकालय हो
साँझतिर ग्राहकको खोजीमा निक्लिएकी
सिँगाने फुच्ची नगरबधू
सबैभन्दा पठनीय ग्रन्थ हो हाम्रो
(पद्धति, पृष्ठ : ३४)
विनोद पार्टीको मानिस होइन । तर, ऊ परिवर्तनको सदस्य हो । यस्तो सदस्य बन्न कुनै पार्टीको टिकट काटिरहनु पर्दैन । सामाजिक परिवर्तनप्रति विनोदको असिम चाहना छ । कवितामा राजनीति मिसाउनु पाप हो भन्नेहरू राजनीति गरिरहेकै छन् । उनीहरू पार्टीको तबेलामा बाँधिएर स्तुती लेख्छन् र साहित्यको मानमर्दनमा डिग्री प्राप्त गर्छन् । साहित्यको घाँटी निमोठेवापत् पार्टीबाट पुरस्कार थाप्छन् । विनोदले कवितामार्फत् राजनीति होइन समाजप्रति आफ्नो दायित्व पूरा गरेको छ । ऊ सीमान्तकृत मानिसप्रति निष्ठावान् कवि हो ।
तीसवटा कविता समेटिएको ‘भोकको क्षेत्रफल’ कवितासंग्रह आकारका दृष्टिले जति सानो छ शक्तिशाली कविताले त्यति नै ओजिलो । र, यो वर्तमान विडम्बनायुक्त समयप्रतिको दह्रो हस्तक्षेप हो । साँच्चिकै राम्रा कविताका पारखीलाई धेरै समयपछि प्राप्त खुराक हो । संग्रह प्रकाशन गर्ने सांग्रिला बुक्स्लाई धन्यवाद †
विनोदविक्रमको कविताको बारेमा विमल निभा लेख्छन्– ‘वस्तुत: यी कविता मानव सभ्यताका आरम्भकालदेखि संघर्षशील मानिसका जिजीविषा, जोस, पसिना, आशा, आक्रोश, आँट र विश्वास एकसाथ लिएर नेपाली साहित्यको विस्तृत आकाशमा लर्किएका इन्द्रेनी कविता हुन् ।’ यति भनेपछि भन्नलाई केही बाँकी रहँदैन ।

प्रतिक्रिया