लुम्बिनी विकासको आशा

लुम्बिनी क्षेत्रको विकास योजना अगाडि बढाउन बृहत्तर लुम्बिनी विकास निर्देशक समिति र एसिया प्यासिफिक एक्सचेन्ज एन्ड को–अपरेसन
(एपेक) फाउन्डेसनबीच सम्झौता भएको खबर सार्वजनिक भएको छ । गत बुधबार निर्देशक समितिका अध्यक्ष पुष्पकमल दाहाल र एपेकका कार्यकारी उपाध्यक्ष सिआओ उनानबीच लुम्बिनीको विकासका लागि तीन अर्ब डलर लगानी गर्ने विषयमा सम्झौता भएको बुझिएको छ । निकै राम्रो, सुन्दर, आकर्षक र नेपाललाई फाइदै फाइदा पुग्ने योजनामा हस्ताक्षर हुनु स्वागतयोग्य कुरा हो । यो योजनाले सफलता पाउने र कार्यरूपमा परिणत हुने हो भने बौद्धमार्गी मात्र होइन, सबै खाले धार्मिक तथा जातीय समूहको गन्तव्यस्थल लुम्बिनी बन्नेछ । शान्तिका अग्रदूत गौतम बुद्धको जन्मस्थल आफैँमा एउटा पवित्र स्थल हो । यसको प्रचार–प्रसार र भौतिक संरचनाको विकास गर्नसके लाखौँ पर्यटक यो स्थल हेर्न आउन सक्छन् । यसले विश्व समुदायमा नेपालप्रति सद्भाव जगाउन र अन्य लगानीका क्षेत्रतर्फ दातालाई आकर्षित गर्न सक्छ । तर, नेपालले आफ्नो गौरव र पहिचान कायम राख्न निस्वार्थ भावनाले प्रेरित भएर कर्म गर्नुपर्ने हुन्छ । बृहत्तर लुम्बिनी विकास निर्देशक समिति र एपेकबीच तीन अर्ब डलर लगानी गर्ने सम्झौता भएपछि अब लुम्बिनीको विकास हुने सम्भावना बढेर गएको छ । तर, एपेक र निर्देशक समितिप्रति नै शंकाको दृष्टिले हेर्ने गरिएको छ ।
निर्देशक समितिका अध्यक्ष दाहाल, उपाध्यक्ष पूर्वयुवराज पारस शाह र अन्य व्यक्तिहरूको नाम पनि एपेकसँग जोडिएर आएको थियो । साथै, एक वर्षअगाडि छिमेकी मित्रराष्ट्र चीनले एपेकबारे चीन सरकारलाई कुनै जानकारी नभएको र उक्त संस्था अस्तित्वमा रहे/नरहेको पनि थाहा नभएको स्पष्ट पारेको थियो । गत बुधबार भएको भनिएको सम्झौतापत्र गोप्य राखिएको छ । नेपालमा टनकपुर सम्झौताबाहेक अरू कुनै सन्धिसम्झौता गोप्य राखिएको इतिहास छैन । अहिले एउटा संस्थासँग गरिएको सहमतिलाई गोप्य राख्नुपर्ने बाध्यता किन पर्‍यो, त्यो पनि स्पष्ट पारिएको छैन । अर्कातिर निर्देशक समितिमा रहेकामध्ये सत्तारुढ घटकका सदस्यबाहेक प्रतिपक्ष तर्फकालाई थाहा दिनै नहुने गरी सम्झौता गरिएको बुझिएको छ । यी सबै विषयले तीन अर्बको सम्झौता ‘बेकारको हल्ला’ भन्नेहरूलाई बल पुर्‍याएको छ । केही समयअगाडि पनि एपेक एउटा फर्जी संस्था बनाएर केही व्यक्तिले नेपालप्रति नियोजित षड्यन्त्र गर्दै गरेको विषय सञ्चारमाध्यमले उठाएका थिए । अहिलेसम्म त्यसको खण्डन कुनै पक्षले गरेको छैन । एपेकमा रहेकाहरुको पृष्ठभूमि के–कस्तो छ भन्ने पनि बाहिर आएको छैन । तीन अर्ब डलर लगानी गर्ने एपेकलाई लगानी गरेबापत के फाइदा हुन्छ, त्यो पनि स्पष्ट छैन । यसले शंका गर्नेहरूलाई आधार दिएको छ ।
नेकपा (एमाओवादी) का अध्यक्ष दाहालले यति रकम मुलुकमा भित्र्याउने काम गरेर नेपाल र नेपालीलाई गुन लगाएका छन् । तर, सम्झौता गर्ने संस्था नै शंकाको घेरामा पर्नु, सम्झौता सार्वजनिक नहुनु र सम्झौता गर्दा निर्देशक समितिका सदस्यलाई समेत थाहा नदिनुले सन्देह जन्माएको छ । के प्रयोजन र कुन उद्देश्यले गर्दा एपेक र सम्झौताबारे जानकारी नगराइएको हो ? उक्त कुरा स्पष्ट बाहिर आउन जरुरी छ । राम्रो र आर्थिक विकासको दृष्टिकोणले उत्तम सम्झौताबारे नेपाली जनताले थाहा पाउनु आवश्यक हुन्छ र लुकाउनुपर्ने कुनै जरुरी पनि हुँदैन । कुनै कार्य–कारण नभई कसैले पनि दयाले तीन अर्ब डलर लगानी गर्दैन । धार्मिक आस्था र तीव्र इच्छाशक्ति भए पनि त्यति धेरै डलरको स्रोत र लगानीकर्ताको हैसियतको खुलासा हुनुपर्छ । साथै, बुद्धको जन्म नेपालमा होइन, हाम्रो मुलुकमा भएको हो भन्ने प्रचारबाजी गर्ने अर्को पक्ष पनि यसबारेमा बोलेको छैन । विकास र प्रचारप्रसार अभावले निरन्तर ओझेलमा परिरहेको त लुम्बिनी । यदी एपेकले असल नियतले सहयोग गर्न खोजेको हो भने लुम्बिनीलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन तथा नेपालको अर्थतन्त्रमा टेवा पुर्‍याउन यो सहमति कोसेढुंगा बन्ने छ ।

प्रतिक्रिया