मेरो गाउँकी बालविधवा र ‘बोक्सी’

‘बोक्सी पनि एकप्रकारको विद्या नै हो ।’ हाम्रा गाउँका युवा पुरोहित भन्दै थिए ‘इष्टमित्र छरछिमेकबाट अलग्याएपछि आफ्नो कुरा मात्रै सुन्ने बनाउँछन् । अनि, बोक्सी विद्या सिकाउँछन्,’ म चुपचाप कुरा सुनिरहेको थिएँ । बीचमा भाउजू प्वाक्क बोल्नुभयो, ‘त्यसो भए म पनि बोक्सी विद्या सिक्थेँ… ।’ भाउजूले कुरा सकाउन नभ्याउँदै आमा बम्किनुभयो, ‘नचाहिने रहर गर्ने हैन है ।’ बोक्सीविद्या अनि भूतप्रेतबारे घरमा बहस चलिरहेको थियो । म भने हाम्रो गाउँकी एकजना बालबिधवा बूढी आमैलाई सम्झिँदै थिएँ ।
बिहेलगत्तै उनका पति मरेकाले उनी माइतीमा नै बसेकी हुन् रे । उनको बिहे र बालबिधवाको कहानी त मलाई यकिन छैन । न त मैले कहिल्यै जान्ने साहस नै गरेँ । म सम्झन्छु, स्कुल जाँदा बाटैमा उनको घर पथ्र्यो । साथीहरूले भन्थे, ‘यो त बोक्सीको घर हो । यो बाटो ढिलो हिँड्नु हुँदैन । यो घरको आमाले दिएको पनि खान हुँदैन । टुनामुना लाएर खानेकुरा दिन्छिन् ।’ उतिबेला मेरो बालमानसिकतामा पनि बोक्सी हाउगुजीले घर गरेको थियो । उनको घर आइपुग्न लागेपछि हामी बेतोडले कुँद्थ्यौँ । उनी भने बालबालिका खुब मन पराउँथिन् । हामीसँग कुराकानी गर्न खोज्थिन् । अहिले सम्झिन्छु, आफ्नो परिवार बाल्यकालमा नै बिग्रेकाले उनको हृदयले पनि मातृत्वको चाहना गर्दो हो । उनी बालबालिकाको नजिक आएर मातृस्नेह पोख्न खोज्दी हुन् । तर, एक बालबिधवाले पुनर्विवाह गर्ने अधिकारबाट त हाम्रो समाजले रोक्यो नै । एकल भएकै कारण बोक्सीको उपमा दिएर उनलाई समाजमा घुलमिल हुनसमेत दिएन । एक्लै बस्दाबस्दा उनलाई पनि दिक्क लाग्दो हो । कहिलेकाहीँ गाउँ डुल्न निस्किन्थिन् । गाउँलेहरू भने आफ्ना बालबालिकाले खाँदै गरेको भात पनि उनीबाट लुकाउँथे । भैँसीको कल्चौँडो देखिन्छ भनेर गोठमा पनि बोराको बार लगाउने गर्थे ।
म ६ कक्षामा पढ्दै गर्दा हुनुपर्छ सायद, उनले यो संसारबाट बिदा लिइन् । यदि उनीसँग बोक्सीविद्या हुँदो हो त आफ्नो पतिबाट बिछोडिएर एक्लो जीवनमा निसास्सिएर बाँच्नुपर्ने थिएन होला । आफूलाई बिधवा भएकै कारण त्यतिविधि रिस गर्ने गाउँका मान्छेहरू टुनामुना लगाएर भकाभक मारिदिने थिइन् होला । उनले कसैको बिगार गरेकोचाँहि मैले थाहा पाइनँ । बरु एकल हुदाँको पीडा अनि समाजले बोक्सीको नाममा दिएको दर्द सहेर नै उनको जीवन बित्यो । गएको फागुनमा चितवनको माडीकी ढेगनीदेवी महतोको परिवार नै बोक्सीको नाममा छिन्नभिन्न भयो । ढेगनी पनि एकल महिला थिइन् । चरम यातनापछि आफन्तले नै जलाएर हत्या गरे । एउटै घरमा रहँदा छिमेकी महिलालाई बोक्सी देख्ने आँखा, जब घरका जहान परिवार छुट््छन् तब त्यही हिजोको परिवारको सदस्यलाई बोक्सीको आरोप लाग्छ । ढेगनीको हत्या पनि यस्तै यातनाको पराकाष्ठा हो । सदियौँदेखि महिलालाई अशिक्षा र पछौटे चेतनामा राखेका कारण बोक्सीप्रथा चलेको हो । यही प्रथाभित्र कैयौँ महिला जलेका छन्, शारीरिक मानसिक यातनाले प्रताडित छन् ।
गाउँघरमा बोक्सीको आरोपमा हुने गरेका घटनाहरूका वृत्तान्त सुनाउनेमा अधिकांश दिदीबहिनी नै अगाडि छन् । यसको अर्थ नेपाली समाजमा शैक्षिक विभेदको तह पनि अगाडि छ । यस्ता घटनालाई जोडेर टिप्पणी पनि हुनेगर्छ, महिलामाथि हिंसा गर्ने धेरै महिला नै छन् । यदि म पनि शिक्षाको चेतनाले नभरिएको भए सायद अहिलेसम्म मेरो गाउँकी ती बिधवा आमालाई बोक्सीकै उपमा दिइरहेकी हुन्थेँ होला । गाउँका आमा, दिदी, बहिनीले भनेजस्तै बोक्सी अझै पनि कायमै छ भन्ने धारणाको आपराधिक मानसिकतामा जकडिरहेकी हुने थिएँ होला । बोक्सीको आरोपमा कहिले दिसा खुवाउने त कहिले सिस्नुपानी लगाउने घटनाको समर्थनमा झुक्ने महिलामा गनिने थिएँ होला । तर, मैले बोक्सी भनिएकी एक बिधवा महिलाको घर आडबाट भाग्दाभाग्दै आफ्नो चेतनामा बोक्सी हुँदैन भन्ने ज्ञान भरेँँँ । मेरो मानसिकतालाई बाल्यकालको भूतप्रेत अनि बोक्सीले डस्न छोडे ।
अहिले महिलालाई नै महिलाले आरोप लगाउँछन् भन्ने समाजमा एक महिला नै भएर म बोक्सीप्रथाको सशक्त विरोधमा उत्रिन सक्ने भएकी छु । यसको अर्थ शिक्षाले मभित्र चेतना भरेको छ । समाजमा व्याप्त संकुचित धारणा हटाउने सशक्त माध्यम भनेकै शिक्षा हो । महिलाहिंसाको प्रमुख कारण पनि शिक्षाको अभाव नै हो । त्यसैले बोक्सीको नाममा हुने यातना महिला हिंसाको एक पाटो मात्रै हो । हरेक पाइलामा भोग्दै आएका महिलामाथिको हिंसा हटाउन कागजमा समेटिने कानुनका खेस्रा कोरेर मात्रै हुँदैन । ती कानुनबारे जानकारी राख्ने जनशक्ति उत्पादन गर्नु राज्यको दायित्व हो । जसले कानुनलाई व्यवहारमा उतार्न सकून् । घटना हुनुअघि नै सचेतनाको लहर फैलियोस् । अझ सशक्त पाटो महिलालाई दिइने शिक्षाको स्तरले निर्धारण गर्छ । त्यसैले समाजमा विद्यमान बोक्सीप्रथालगायत हिंसालाई प्रश्रय दिने सोचको परिवर्तनका लागि शिक्षा नै महत्त्वपूर्ण पक्ष हो ।

प्रतिक्रिया