विश्वको नजरमा शक्ति सम्पन्न, सम्मुनत र सुरक्षित गन्तव्य मानिएको राष्ट्र अमेरिका पनि कुनै न कुनै कारणले चर्चामा आइरहँदा लाग्छ– अमेरिका पनि सुरक्षित रहेनछ । केही दिनअघि मात्र अमेरिकाको एक व्यस्त सहर न्युजर्सीको ब्रिगनटिनमा आएको स्यान्डी नामक विनाशकारी चक्रवाती आँधीको आतंकले यसको पुष्टि गर्छ । आँधीका कारण ७४ जनाको ज्यान गइसकेको विभिन्न सञ्चारमाध्यमले जनाएका छन् । ३७ लाखभन्दा बढी मानिस विद्युत् आपूर्तिविहीन भए भने करिब आठ करोड मानिस प्रत्यक्ष प्रभावित भए । अमेरिकाको ऊर्जा विभागका अनुसार उक्त आँधीका कारण उत्तरपूर्वी क्षेत्रमा ६२ लाख घरधुुरी र कारखानाहरूमा विद्युत् आपूर्ति अझ सहज हुन सकिरहेको छैन । स्यान्डी आँधीबाट २० अर्ब अमेरिकी डलर बराबरको भौतिक सम्पत्तिमा क्षति पुगेको प्रारम्भिक अनुमान गरिएको छ । सामुद्रिक छाल र लगातार वर्षाका कारण उद्धार कार्यमा समेत आशातीत सफलता पाउन नसकिए पनि उद्धार कार्यमा भएका मानवीय पहल तथा स्वयं आफ्नो चुनावी प्रचारसम्बन्धी सबै कार्यक्रम रद्द गरी अमेरिकी राष्ट्रपति बाराक ओबामा स्यान्डी प्रभावित क्षेत्रमा स्थलगत भ्रमण गरेर भौतिक उपस्थिति जनाउनु र आँधीपीडितलाई सान्त्वना दिनु पनि ठूलै राहत मान्नुपर्छ ।
अमेरिकाको स्यान्डी आँधीको आलो घाउ सुक्न नपाउँदै भारतमा पनि नीलम नामक आँधीबाट आठको मुत्यु भएको खबरले बूढी मरी रे भन्नुभन्दा पनि काल पल्कियो भन्ने सन्त्रासले आमसञ्चार जगत्मा एक प्रकारको गहिरो हौवा फैलियो । भारतको दक्षिणपूर्वी राज्य चेन्नईको तटीय इलाकामा अचानक आएको नीलम आँधीको हुर्हुरीले तमिलनाडु र आन्ध्र प्रदेशमा अनुमान गरिएजस्तो धनजनको क्षतिको सास्ती भोग्नु नपरे पनि सो क्षेत्रमा भएको अन्नबाली नोक्सान र कैयौँ ठाउँमा सडकमार्ग अवरुद्ध भए । विस्थापित हजारौँ मानिसलाई विद्यालय र सरकारी भवनहरूमा सुरक्षित स्थानान्तरण गराइएको छ भने अन्य मानिसलाई सतर्क रहन सञ्चारमाध्यममार्फत पहल गरिएको छ । यस्तो बेलामा पत्रकार र सञ्चारमाध्यमको ठूलो भूमिका हुने गर्छ । बंगालको खाडीबाट उर्लेको नीलम समुद्री आँधी तटमा पुग्दा ७५ किमी प्रतिघन्टाको गतिको रहेको हुँदा भारतमा सो आँधीबाट अपेक्षित नोक्सानी बेहोर्नु नपरेको कुरा भारतीय मौसम विभागका अधिकारीले बताएका थिए । सुरुमा ८० देखि एक सय किमी प्रतिघन्टाको गतिमा आँधी आउने अनुमान यदि सही सावित भइदिएको भए भारतले आज ठूलो नोक्सानी बेहोर्नुपर्ने निश्चित प्राय: थियो । अब अमेरिका र भारतपछि नेपाल प्रवेश गरौँ ।
अमेरिका त परको कुरा भयो । यदि भारतमा जस्तै नेपालमा पनि सोही प्रकारको आँधी र क्षतिको कल्पाना गरौँ । त्यही दिमागले क्षतिको कल्पना सँगसँगै क्षतिग्रस्त वा बीभत्स मानव उद्धारको परिकल्पना गर्ने हो भने हामीलाई कल्पना पनि गर्न गाह्रो पर्छ । अमेरिकाले स्यान्डी आँधीको प्रकोपबाट पीडित मानव बस्तीलाई तत्काल उद्धारका लागि अत्याधुनिक अस्त्रशस्त्र प्रयोग गर्छ र बिस्तारै मानव समुदायलाई सामान्य जनजीवनमा फर्काउँछ । राष्ट्रपतिले आफ्ना जनतालाई अँगालो मार्छन् र सान्त्वनाको मनोवैज्ञानिक धाप मार्दै आत्मीयता प्रकट गर्छन् । भारतले पनि प्रकोपस्थलमा तत्काल प्रतिभा कावेरी पठाउँछ र छिटोभन्दा छिटो मानव उद्धारको संकेतमार्फत विश्व समुदायलाई उद्धारको शीघ्र रणनीतिक सन्देश प्रवाहित गर्छ । चीन पनि आफैँ सक्षम छँदै छ, प्रकृतिको जुनसुकै चुनौतीलाई पनि स्वीकार गर्न ऊ तयार छ ।
मानौँ, नेपाली खाल्डोमा वि.सं. १९९० सालको भूतपूर्व भुइँचालोको पुनरावगमन भयो भने के गर्ने ? नेपाल पनि भुइँचालो वा भूकम्पका दृष्टिले जोखिम भएको मुलुक हो । यदि नेपालामा विशेष गरी काठमाडौंमा मात्रै यसको क्षतिको कल्पना गर्ने हो भने कम्तीमा पनि ४० हजार मानिसको मुत्यु र ९० हजारभन्दा बढी मानिस घाइते हुनसक्ने सम्भावना छ । त्यस्तै, करिब एक लाख मानिस घरबारविहीन र ९५ प्रतिशत पानी आपूर्तिका पाइप क्षति तथा ६० प्रतिशत टेलिफोन तथा विद्युत्सेवाका लाइन प्रभावित हुने र ७५ प्रतिशत घर क्षतिग्रस्त हुने सम्भावना रहेको देखिन्छ । सबैभन्दा बढी समस्या त मृतक, घाइते तथा बिरामीको तत्काल उद्धारका लागि र सुरक्षित स्थानान्तरणका लागि कान्तिपुरी नगरीसँग पर्याप्त खाली जमिन छैन । भए पनि त्यही एउटा टुँडिखेल न हो, त्यो थलो त सत्ताधारी नेताहरूलाई राजनीतिक भाषण गर्न चाहियो । प्राथामिक उपचार, गाँस, वास र कपासका लागि जसोतसो जोहो होला तर शुद्ध तोरीको तेल मात्र भएर हुँदैन, शुद्ध खानेपानी पनि चाहियो । अर्को समस्या भनेको माहामारी फैलिसकेपछिको अवस्था हो र झन् ठूलो समस्या भनेको नेपाल सरकारले यसका बारेमा अहिलेसम्म कुनै सोच तथा रणनीतिक योजना बनाएकै छैन । योजना बनाउनका लागि पर्याप्त बजेट विनियोजन र आवश्यक भौतिक पूर्वाधार निर्माणलगायत बिपद् व्यवस्थापन तालिम सञ्चालन र उच्च तथा दक्ष जनशक्तिसमेत तयार पारी सम्भव भएसम्म ग्राउन्ड रिहर्सल गरी सम्बन्धित सबैलाई तयारी हालतमा राख्नुपर्ने हुन्छ । तर, सरकारलाई त केवल सत्ता र भत्ताको मात्र चिन्ता छ । टुँडिखेलमा भोक र शोकमा मरेका मानिसको लासको थुप्रोमाथि टेकेर नाक थुन्दै संकटकाल घोषणा गर्न पाए पुग्यो । संकटकाल घोषण गर्न, भोट माग्न र ढुंग्रो लुकाउन नेपालका नेताहरू साह्रै सिपालु छन् । जनताको संविधान बनाइछाड्ने भ्रमको च्याँखे थाप्न टुँडिखेल र सिंहदरबार त नेताहरूको पेवा नै भइहाल्यो । हुन त भारतको जस्तो बंगालको खाडीबाट उर्लेको नीलम समुद्री आँधीको लहर वेगवान् गतिका साथ कुनै दिन नेपाल चुम्न आइपुग्ला भन्ने कल्पनासमेत नगेरका नेताहरूलाई सामुद्रिक ज्वारभाटा र सुनामीको के वास्ता ? सायद नेताहरूलाई यो पनि राम्रोसँग थाहा होला कि सामुद्रिक छाल, आँधीबेहरी, भुमरी, खडेरी, तुफान, चटयाङ, भुइँचालो, भूकम्प, ज्वालामुखी, सन्नाटा, असन्तोष, आक्रोश, गर्जन, हुंकार, गडगडाहट, सुसाहट कुन चराको नाम हो ? आवश्यक परे संसारको सारा शक्ति काठमाडौं खन्याएर जनताको बलले आँधीबेहरी सिर्जना गरी सिंहदरबार कब्जा गर्ने घुर्की देखाउँदै कुनै बेला सत्ताको लागि झन्डै पागलजस्तै बनेका प्रचण्डलाई चाहिँ राम्ररी थाहा छ ।
अमेरिकी राष्ट्रपतिले आफ्नो चुनावी प्रचारसम्बन्धी सबै कार्यक्रम स्थगित गरी स्यान्डी प्रभावित क्षेत्रमा पीडित जनतालाई ढाडस दिन स्थलगत भ्रमण गरेजस्तै के नेपालका नेताहरू त्यसरी नै बाढीपीडितको सुखदु:ख बुझ्न र सान्त्वनाको मलमपट्टी लगाउन गाउँ छिर्लान् ? शंकै लाग्छ । चारचार वर्षसम्म पनि जनताको असली संविधान बनाउन नसकेकोमा सयौँपटक क्षमा माग्दै गोब्रे नेताहरू गेरुवस्त्र धारण गरी अलख निरञ्जन फलाक्दै भोट माग्न त पक्कै गाउँ छिर्लान् । जनतालाई बाटोघाटोमा छेक्दै नमस्कार गर्दै फेरि पनि आश्वासनका गुलिया चक्लेट बाँड्दै हिँड्लान् तर केटकेटीलाई चक्लेट बाँडेजस्तो भोट माग्न त्यति सजिलो भने छैन अब । प्रचण्ड गर्मीमा ताप र राप सहेर लाइनमा पसिना चुहाउँदै जनताले देशको सच्चा असली नेता चुनेर सिंहदरबार पठाएको भोटको एकएक हिसाबकिताब माग्नेछन् अब । जनताको मनमा रहेको नेताप्रतिको विश्वास, आस्था र स्वच्छ राजनीतिक स्वाभिमानको पर्खाल तोड्न र भत्काउन संसारको जुनसुकै आँधीबेहरीले पनि सम्भव थिएन चाहे त्यो सुनामी होस्, नीलम या स्यान्डी नै किन नहोस् तर बेलैमा संविधान नबन्नुको प्रसव पीडाले आज देश लथालिंग छ । नेताहरूको काइतेपन र पाखण्डीपन देखेर नेपाली जनताको मनभित्र अहिले त आँधीबेहरी सुसाएको मात्र छ । यदि भोलि नेपालमा पनि यो राजनीतिक स्यान्डी र नीलम अचानक नेपाल आमाको छातीमाथि परेड खेल्दै बतासियो भने त्यसबेला लोटामा पानी राखेर झाडीतिर लुक्न जानेबाहेक नेताहरूसँग कुनै विकल्प हुनेछैन । खोला सुकेपछि मात्र पारी तरुँला भनेर बस्ने हो भने विलम्ब हुनसक्छ । … गरिसकेपछि मात्र दैलो देख्ने चलन पनि अब जलन भइसक्यो । नेताहरूसँग कान छ तर सुन्दैनन् । आँखा छ तर देख्दैनन् । जिब्रो छ तर सही अभिव्यक्ति बोल्दैनन् । ढुकढुकी छ तर जनताको संवेदनशीलता र सहनशीलताको परिभाषा बुझ्दैनन् वा बुझेर पनि अझै बुझ पचाउँछन् भने आगामी चुनावमा नेपाली जनताको मनभित्र सुसाएको आँधीबेहरीको पराकाष्ठा सुनामी, स्यान्डी र नीलमको भन्दा भयंकर ठूलो राजनीतिक हुन्डरी मच्चिनेछ ।
प्रतिक्रिया