चीन र भारतसँग हाम्रो मित्रता

नेपाल, चीन र भारत एकअर्कामा जोडिएर रहेका स्थायी राष्ट्र हुन् । भारत तथा चीन दुवै राष्ट्र बेलायती सम्राज्यका गोटी बनेर ठूलो संघर्षपश्चात सन् १९४७–४८ देखि स्वतन्त्र भएका हुन् । यी दुबै ठूला भू–भाग भएका राष्ट्र हुन् । यी दुई ठूला राष्ट्रको बीचमा नेपाल अवस्थित छ । नेपाल भौगोलिक रूपमा सानै भएर पनि कहिल्यै कुनै सम्राज्यवादी राष्ट्रको चंगुलमा फसेन । सम्राज्यवादी राष्ट्रहरूबाट आफ्नो अस्मिता जोगाएर बस्न सफल रहिरह्यो । सन् १९४७ मा भारत स्वतन्त्र भयो र उता चीनमा सन् १९४९ पछि साम्यवादी सत्ता स्थापित भयो । भारत स्वतन्त्र भएपछि नयाँ संविधानसभाबाट संविधान बनाउन र भारतका विभिन्न राज्यलाई संघीय भारतको अवधारणाबाट जवाहरलाल नेहरूको नेतृत्वमा भारत एक संघीय राष्ट्रको रूपमा अगाडि आयो । संविधानसभापछि भारत र पाकिस्तान टुक्रिए । उता चीनमा माओत्सेतुङको नेतृत्वमा चिनियाँ कम्युनिस्ट पार्टी सशक्त रूपमा अगाडि बढ्न लागेको अवस्था थियो । यसरी एकातर्फ साम्यवाद र अर्कोतर्फ प्रजातान्त्रिक व्यवस्थाको पक्षमा हिँडेका दुई ठूला राष्ट्रका बीचमा नेपालले आफ्नो स्वतन्त्र अस्मिता जोगाएर सुरक्षितसाथ अगाडि बढ्नुपर्ने स्थिति थियो र छ । नेपाल चीनको साम्यवादको वा भारतको लोकतन्त्रको पक्षमा हिँड्ने र विरोध गर्न चाहँदैनथ्यो र चाहँदैन ।
यसरी तटस्थ नीति अपनाएर छिमेकीसँग सह–अस्तित्वको आधारमा सुमधुर सम्बन्ध चाहने नेपाललाई भारत स्वतन्त्र भएपछि भारतीय नेताहरूले आफ्नो छाताभित्र राख्न अनेकौँ षडयन्त्रमा लागिरहे । यसका लागि सन् १९५० मा दिल्ली सम्झौताको नाममा संविधानसभाबाट नयाँ संविधान बनाएर त्यसै मार्फत नेपाललाई आफ्नो कब्जामा पार्ने भारतको डिजाइन रह्यो । वि.सं.०१३ पछि नेपाल–चीनबीच मैत्री सम्बन्ध कायम भएदेखि भारत केही हच्केको थियो । नेपालमा भारतविरोधी भावना बढ्दै गएको र साम्यवादी चीनको पनि आँखा पर्न थालेकाले नेपालमा लादेको संविधानसभाको आवश्यकता चीनले देखेन । वास्तवमा चीनको डरले भारतले संविधानसभाबाट संविधान बनाउने कुरा र नेपाललाई आफ्नो कब्जामा राख्न खोज्ने कुरा चटक्कै छाड्यो । त्यसपछि राजा महेन्द्रले एक आयोगको गठन गरेर ०१५ सालमा नेपाल अधिराज्यको संविधान घोषणा गरे । त्यही संविधानको आधारमा ०१५ सालमा संसद्को आमनिर्वाचन भयो । निर्वाचनपछि नेपाली कांग्रेस सत्तामा आयो । तैपनि, कांग्रेसको सत्तालाई आफ्नो पकडमा लिन भारतले अनेकौँ षडयन्त्र गर्न थाल्यो ।
चीनका नेता माओत्सेतुङले नेपालमा राजसंस्था रहेको अवस्थामा मात्र नेपाल तथा चीन सुरक्षित हुनसक्छ भन्ने अध्ययन गरेर राजा महेन्द्रसँग राम्रो समझदारी बढाएका थिए । यसले भारतको टाउको दु:खाइ भएको थियो । राष्ट्रनिर्माता पृथ्वीनारायण शाहले, ‘नेपाल दुई ढुंगा बीचको तरुल’ भनेर परिभाषा गरेभैँm भारत चीन यी दुवै शक्ति राष्ट्रसँग असल छिमेकीको राम्रो सम्बन्ध गाँस्न चहान्छ । तर, यो कुरा भारतले बुझ्न नचाहेको र भारतीय शासकबाट नेपाललाई साहै्र दु:ख दिने काम भएकाले नेपाल भारतसँग सधँै सशंकित छ । भारतसँग भौगोलिक आवत–जावत, सांस्कृतिक सम्बन्ध तथा भारतीय जनतासँगको सम्बन्ध तथा सम्पर्क राम्रो भए पनि भारतीय सत्ताले कहिले पनि नेपाल र नेपालीसँगको सुमधुर सम्बन्धलाई रुचाएन । कठिन भौगोलिक अवस्था, भाषा तथा अन्य मान्यताहरू चीनसँग नमिल्ने भए पनि नेपालीहरू चीनप्रति पनि विश्वास गर्छन् र चीनले पनि नेपाललाई कुदृष्टिले हेर्ने गरेको छैन । धर्म, संस्कृति, भौगोलिक सम्बन्धको आधारमा नेपालले आफ्नो सार्वभौमसत्तालाई भारतमा सौदावाजी गर्न सक्दैन । नेपालको लागि सार्वभौम स्वतन्त्रताभन्दा प्यारो अर्को कुनै चीज छैन ।
चीनका हुनान विश्वविद्यालयका प्राध्यापक वाङचुडले नेपालको राष्ट्रिय सुरक्षात्मक रणनीति तथा नेपाल चीन सम्बन्ध नामक पुस्तक प्रकाशित गरेर सबै तथ्यहरू प्रकाशित गरिदिए । उनले लेखेका छन्– सन् १९७३ को जुन महिनामा कांग्रेस कार्यकर्ताले नेपाल एयरलाइन्सको एउटा यात्रुवाहक विमान अपहरण गरी भारतमा लगे भने सोही सालको जुलाई महिनामा नेपाल सरकारको केन्द्रीय सचिवालय सिंहदरबार आगलागी भएको घटना एवं सन् १९७४ को मार्च महिनामा नेपालको राजालाई हत्या गर्ने (जनकपुरमा भएको बमकाण्ड) पृष्ठभूमि रहेको थियो ।
प्राध्यापक वाङचुङ लेख्छन्– ‘सन् १९७५ जुन २६ मा सम्पूर्ण भारतमा प्रधानमन्त्री ईन्दीरा गान्धीले संकटकाल घोषणा गरेपछि निर्वासनमा रहेका कांग्रेसका नेता बिपी कोइरालालगायत सबै निर्वासित कार्यकर्ताहरूलाई राजनीतिक गतिविधिमा रोक लगाएपछि भारतबाट राष्ट्रिय मेलमिलापको नीति लिएर नेपाल फर्किए । राजा र आफूबीच मेलमिलाप भयो भने नेपाल सुरक्षित हुनसक्ने र भारतबाट नेपालको कहिल्यै हित हुन सक्दैन भन्नेमा बिपी विश्वस्त थिए । तर, राजा र कांग्रेसबीच मेलमिलाप भएन, भारतले फेरि खेल्ने मौका पायो । राजा वीरेन्द्रले स्वतन्त्र र आत्मनिर्भर परराष्ट्र नीति लागू गरेकाले भारतीयले उनलाई मन पराउँदैन थिए । त्यसैले सन् २००१ जुन १ मा नेपालमा भएको दरबार हत्याकाण्डको भारतीय जासुसी निकायको कालो हात रहेको आशंका गर्नु अस्वाभाविक होइन ।’ उनी लेख्छन्– ‘चीनले नेपाललाई आर्थिक सहायता दिँदा भारतले चीनलाई नेपालको तराई क्षेत्रमा पस्न दिएन । चीन तराईमा प्रवेश गरेमा चीनले भारतमा कम्युनिस्ट विचारधारा फैलाउन सक्छ भन्ने डर थियो ।’
यसरी चिनियाँ विद्वानबाट स्पष्टरूपमा भारतको कालो षडयन्त्र बारेमा उल्लेख गरिसकेपछि अरू थप कुरा यहाँ जोड्नु आवश्यक छैन । सिंहदरबारमा कसले र कहाँबाट त्यसरी आगो लगायो भन्ने कुरा अनुसन्धानकै विषय छ  । तथापि, चिनियाँ विद्वानले भारतीय षडयन्त्र नै थियो भनेर लेखेको कुरालाई भारतीयको घृणित खेल देख्दा असत्य हो भन्ने ठाउँ पनि छैन । वास्तवमा कसैको घरमा आगो लाग्यो भने घरका मान्छेहरू भन्दा वरपरका छिमेकीहरूलाई बढी जानकारी हुन्छ । घरमा आगो लागेपछि घरमा धुवाँ निस्केको कुरा पहिला छिमेकीले देखेका हुन्छन् । त्यही कुरा भएको छ नेपालको सन्दर्भमा भारतीय हस्तक्षेप, सिंहदरबारमा आगो लागेको कुरा र राजदरबार हत्याकाण्डको इतिवृतान्त । राजीव गान्धी सत्तामा आएपछि नेपालमाथि हेप्ने कार्यहरू अरू प्रारम्भ गरिए । नेपालले भारतलाई खेलाउन नपाएपछि वि.सं. २०४५ सालमा वाणिज्य पारवहनको खिचलो थापेर नाकाबन्दी गर्ने काम भयो ।
त्यही निहुँमा कांग्रेस र नेपालका वामपन्थीलाई उचालेर बहुदलीय व्यवस्थाको पक्षमा जनआन्दोलन भयो । विदेशी हस्तक्षेपबाट मुक्त हुन राजा वीरेन्द्रबाट बडो समझदारी राख्दै राजाबाटै नेपालमा बहुदलीय व्यवस्थाको पुन:स्थापनाको कार्य भयो । बहुदलीय व्यवस्था प्रारम्भ भएपछि सत्तापक्ष र प्रतिपक्ष बीचको असमझदारी, सत्तापक्षबाट भएको ब्याप्त भ्रष्टाचार तथा भारतीय हस्तक्षेप बढ्यो । भारतकै दबाबमा चीनको सहयोगमा बनेका हरिसिद्धि इटा–टायल कारखाना, बाँसवारी छाला जुत्ता कारखाना, गैँडाकोट कागज कारखानालगायत १२ भन्दा बढी नाफामा रहेका उद्योग अर्बांै कमिसन खाएर गुन्द्रुकको मूल्यमा बेचिए । अत्याचारको पराकाष्ठा नाघेपछि उता भारतबाटै माओवादी बिद्रोहलाई सहयोग पुर्‍याएर नेपाललाई आतंकित बनाउने, निरिह जनता, प्रहरी, सैनिक मार्ने, राज्यका अर्बौं भौतिक पूर्वाधार नष्ट गर्ने पोलपोटले गरेको बिनासकारी कार्यहरूले नेपाल अस्थिर बन्न पुग्यो ।
आफैँले आतंककारी सूचीमा राखेको माओवादीलाई आपैँmले सक्रिय गराई भारतकै चासोबाट ०६२ सालमा माओवादी, कांग्रेस, एमालेलाई एक बनाएर १२ बुँदे सहमति गरायो । त्यसपछि, जनआन्दोलनको माध्यमबाट राजाबाट सत्ता हस्तान्तरण गर्ने कार्य भयो । राजासँग सम्झौता भएर जनआन्दोलन रोकियो तर केही दिनमा राजालाई धोका दिएर भारत तथा पश्चिमा राष्ट्रको समेत समर्थन र निर्देशनमा धर्मनिरपेक्ष, गणतन्त्र घोषणा गरियो । अहिलेको संकट यही हो । नेपालमा राजतन्त्र पाखा लागेपछि भारत र चीनलाई सुरक्षात्मक देष्टिकोणबाट अप्ठ्यारो भएको छ । अहिले भारतलाई डर छ– नेपालमा राजाको अनुपस्थिति रहँदा चीनको नेपालमा प्रवेश र हस्तक्षेप हुने खतरा । चीनलाई डर छ– नेपालमा राजा नरहँदाको अवस्थामा अमेरिका, यूरोपियन राष्ट्र र भारतीय गुप्तचर मानवअधिकारको नारा लिएर फ्रि तिब्बतको नामबाट चीन टुक््रयाउन आइलाग्ने खतरनाक समस्या ।
अत: चीन समेत आफ्नो सुरक्षामा खतरा नआओस् भन्नका लागि नेपालमा बढ्ता चासो राख्दै विभिन्न आर्थिक सहयोग, निर्माणका कार्यक्रम लिएर अगाडि आउन थालेको छ । यसबाट अहिले चीन र भारतको तानातानबाट नेपाल झन्झन् अफ्ठ्यारोमा पर्ने अवस्था छ । हो, भारतले नेपाललाई गरेको सहयोग तथा आर्थिक सहायताप्रति नेपालीहरू सधैँ सशंकित र भयभित रहिरन्छन् । नेपालका प्रधानमन्त्री भारतको भ्रमणमा गएपछि नेपालका नदी–नाला, प्राकृतिक स्रोत वा नेपालको परराष्ट्र र सुरक्षा नीति सुम्पेर आउने हुन् कि भन्ने त्रासमा नेपालीहरू रहन्छन् । नेपाल र भारत बीचमा जतिसुकै सांस्कृतिक सम्बन्ध, जनता जनता बीचको पारस्परिकता रहे पनि भारतीय शासकका काला कर्तुतका कारण नेपालले सधँै भारतबाटै आफ्नो सुरक्षामा खतरा देखेको छ । त्यसो भएकाले अब नेपाल, भारत र चीनको संयुक्त उपस्थितिमा सम्मेलन गरेर यी तीन राष्ट्रबीचमा एक ठोस निर्णय गरेर त्यसैलाई नेपाल, भारत र चीनले आफ्नो कुटनीतिक रणनीति बनाउन सक्नुपर्छ ।

प्रतिक्रिया