तिहारपछि वाइम्याक्स सेवा

काठमाडौं, २१  कात्तिक । नेपाल टेलिकमले तिहारलगतै ‘वाइम्याक्स’ प्रविधिमार्फत इन्टरनेट सेवा वितरण गर्ने भएको छ । राजधानी र बुटवलका दुई जिल्लाका ग्रामीण क्षेत्रलाई लक्षित गरेर टेलिकमले तारविहीन द्रुत गतिको इन्टरनेट उपलब्ध गराउने प्रविधि ‘वाइम्याक्स’मार्फत दुई लाख लाइन वितरण गर्न लागेको हो ।

पहिलो चरणमा टेलिकमले काठमाडौंमा एक लाख र बुटवलमा एक लाख लाइन वितरणका लागि मुख्य पूर्वाधार निर्माण कार्यलाई तीव्रता दिएको कम्पनीका सहप्रवक्ता राजेश जोशीले बताए । उनले काठमाडौंमा प्रविधि जडान कार्य सकिएर परीक्षण सुरु भएको र बुटवलमा भने परीक्षण सकिएपछि जडान कार्य सुरु गर्ने जानकारी पनि दिए । यो प्रविधिका लागि आवश्यक पर्ने उपकरण(एन्टेना) ल्याइसेको जानकारी पनि उनले दिए ।
यो प्रविधिबाट सेवा लिँदा अधिकतम २० एमबिपिएस र न्यूनतम दुई सय ५६ केबिपिएससम्म उपलब्ध गराउन सकिने छ । दुई सय ५६ केबिपिएसभन्दा तलको गतिका सेवा लिन चाहने नेपाल टेलिकमका ग्राहकका लागि भने एडिएसएल प्रयोग गर्न सकिने प्रवक्ता जोशीले बताए । उनका अनुसार नयाँ प्रविधि वाइम्याक्स र एडिएसएलको सेवामा ठूलो अन्तर हुने छैन । वाइम्याक्सबाट अधिकतम् ३५ किलोमिटरसम्म लिज लाइन प्रयोग गर्न सकिने र यस प्रविधि प्रयोग गरिएको सीमित क्षेत्रमा वाइफाइ चलाउन सकिने टेलिकले जनाएको छ ।

प्रतिक्रिया