विचारविनाको राष्ट्रिय राजनीति

२००७ साल अगाडिको राजनीतिक युगको अन्त्य पश्चात् पनि नेपाली राजनीतिमा मौलिक राजनीतिक संस्कारको विकास हुन सकेन । ६० वर्षको समय थोरै होइन । राजनीतिक चेतनाका हिसाबले हामी नेपाली कति पछाडि रहेछौँ भन्ने कुराको यो एउटा उदाहरण मात्र हो । आफ्नो देश निर्माण गर्न र जनताको जीवनस्तर माथि उकास्न कसले विलम्ब गर्‍यो ? बाधक शक्ति देशभित्र छ वा बाहिर यसको स्रोत पत्ता लगाउन जरुरी थियो । नेपाल राष्ट्रमा हरेक नामका व्यवस्था परिवर्तन गर्ने सवालमा छिमेकी राष्ट्रका राजनीतिक शक्तिहरूले परोक्ष वा प्रत्यक्ष रूपमा महत्त्वपूर्ण भूमिका खेल्दै आएका छन् । कुनै पनि स्वाधीन राष्ट्रका लागि यो हदसम्मको राजनीतिक हस्तक्षेप राम्रो कुरा होइन । हामीले राष्ट्र र राष्ट्रियताको रक्षा कसरी गर्न सकिन्छ भनेर केवल अर्थहीन अराजनीतिक बहस मात्र गर्‍यौँ मौलिक विचार दिन सकेनौँ । पृथ्वीनारायण शाहले यो राज्य दुई ढुंगाको तरुलजस्तो रहेछ भनेका थिए । नेपाल राष्ट्रको भौगोलिक अवस्थालाई यसरी अरू कसले जान्नसक्यो र पृथ्वीनारायण शाहले जसरी कसले बक्नसक्यो । अन्याय मुलुकमा हुन नदिनु । न्यायको पक्षमा कुन धर्म, जात, भाषा र सम्प्रदायको नेपाली विगत हिँड्यो र अहिले हिड्न खोज्दै छन् ?
यिनका अतिरिक्त पृथ्वीनारायण शाहले नेपालको प्रकृतिलाई, भौगोलिक स्वरूपलाई विशिष्ट ठान्दै ‘ईश्वरले रचना गरेका किल्ला’ भन्नु भएको छ । आयातित विचारका आधारमा राष्ट्र र दुनियाको जीवन बदल्न खोज्नेहरूका कारण राष्ट्र थलापर्‍यो । त्यति मात्र होइन सबैजातको फूलवारी नेपाली समाज मालीबिहिन भएको छ । राष्ट्रको हितका लागि नेपाली जनताको रक्षा र राष्ट्रको सुरक्षाका लागि नेपाली मानव जगतलाई युगौँयुगसम्म बदल्न नपर्ने विचार पस्केर जानेहरूको सालिक हम्मरले फुटाउने मूर्खहरूको के कुरा गर्नु । आफ्ना सुखसयललाई शास्त्रवमोजिमको तीनवटै सहर नेपालका नेवारको नाच झिकाइ हेरे पनि हुन्छ । कति मौलिकपन रहेछ ती राजामा । तिनै राजाले विशिष्ट श्रेणीमा राखेको नेवार जातिको बाहुल्यता रहेको काठमाडौं राजधानी नेवा: राज्यमा फेरिन खोज्दै छ ।
एक दशकसम्म हामीले आपसमै हिंसात्मक क्रान्ति र प्रतिक्रान्ति गर्‍यौँ । निर्दोष निमुखा जनहरूको रगतको भेल बगेको टुलुटुलु हेरेर बस्यौँ । आपसमा लड्नेहरू कुन स्वादमा लड्दै थिए रमिता हेर्ने हामीहरू कुन स्वादमा हेर्दै थियौँ त्यो रहस्यमय पाटो अलग्गै छ । त्यसको अल्पकालीन समाधान गर्नका निमित्त पनि हाम्रा आफ्ना विवेकले सकेनौँ । छिमेकीहरूले नै महत्त्वपूर्ण भूमिका खेलेको सर्व विधितै छ । नेपालको राजनीतिमा आफू अनुकूलका पात्र स्थापित गर्ने सवालमा नजानिँदो ढंगले लामो समयदेखि छिमेकीहरूले महत्त्वपूर्ण भूमिका खेल्दै आएको सत्य लुकाउन आवश्यक छैन । छिमेकीलाई त्यो भूमिका अरू कसैले दिएको होइन, हाम्रो राजनीतिक विचार र राज्यसत्ता सञ्चालनको व्यवस्थापन कमजोर भएकाले नै त्यो भूमिका छिमेकीका नाताले उनीहरूमा हरेक कालखण्डमा यसरी नै जाने गरेको छ ।
नेपालका राजनीतिक शक्ति र हस्तीहरू पूर्णरूपमा छिमेकी प्रति उदार छन् । त्यतिमात्र होइन उसलाई रिझाएर कसरी सत्तामा उक्लिने भन्ने चिन्तन र चिन्ताले ग्रस्त छन् । जनता भने भूगोल र राजनीतिमा छिमेकीले गर्ने हस्तक्षेपको पीडाले होला उसप्रति पूर्वाग्रही भएर फरकफरक धारमा छाती चिमोट्दै खुम्चिएको देशभित्र बस्न र बाँच्न विवश छौँ ।
आफ्नो भूगोलको सीमा निश्चित गर्न नसक्ने मानिसहरू राष्ट्रलाई संघीयतामा लैजाने बकवास गर्दै छन् । त्यसले राष्ट्र र नेपाली समाजलाई के असर गर्छ भन्ने विषयमा विचार पुर्‍याउन सकिएको छैन । संघीयराज्यमा जाँदा र छिमेकीबाट मिचिदो भूगोलको कित्ताकाट गर्दा यो राष्ट्रको अवस्था के हुन्छ ? जात, भूगोल, भाषाका आधारमा राज्य माग्नेले सोच्न सकेका छैनन् । कित उनीहरूले बुझेर पनि बुझ् पचाएका हुनुपर्छ । जुनसुकै कारणले होस् छिमेकी राष्ट्रबाट आप्रवासीहरू असंख्य रूपमा हाम्रो राष्ट्रमा भित्रिएका छन् । उनीहरूका कारण हामी नेपालीहरू आफ्नो देश र भूगोल हुँदा पनि अल्पमतमा पर्ने अवस्थामा छौँ । भूगोल र राजनीतिमा छिमेकीले गर्ने हस्तक्षेपका कारण विवाद चुलिँदो अवस्थामा छ । नेपालको राजनीतिमा पृथ्वीनारायण शाहजस्ता राष्ट्रवादी राजनेता बाँचिरहेका हुन्थे भने यतिबेला छिमेकीसँग घमासान लडाइँ भइसक्ने थियो । नेपालका राजनीतिक शक्तिले नेपालको सत्तामा को बस्ने र को कति टिकिराख्ने भन्ने गलत सोचका आधारमा आफ्नो अन्तर्राष्ट्रिय नीति र राजनीतिक धारणा बनाउने गर्नाले नेपाली जनता अन्योलमा छन् ।
आत्मनिर्णयसहितको संघीयराज्य नेपाली जनताको माग थिएन । अघि सरेर माग्नेहरूका माग जाहेज जस्ता देखिए पनि नेपाली जनताको मतका आधारमा भन्दा परचक्रीहरूको गोप्य योजनाका आधारमा थापित हुने व्यवस्था र सरकारले जनताको माग अनुसारको आत्मनिर्णयको अधिकार दिनसक्छ वा सक्दैन भन्ने विषयमा जनता अन्जान भएकाले बहस हुन सकिरहेको छैन । जसले आफ्नो विवेकको तागतमा आफ्नो देशको सत्ता चलाउन सक्दैनन्, उनीहरूले जनतालाई त्यो अधिकार कसरी दिन सक्छन् ? आफूलाई बौद्धिकवर्गमा राखेर हेर्नेहरूले प्रश्न उठाउनु पर्ने हो । आफूलाई बौद्धिक भन्न रुचाउनेहरू सायद चिर निन्द्रामा छन् ।
राज्य व्यवस्थाको नाम प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र आदि जे–जस्तो राखे पनि त्यो व्यवस्था सञ्चालनको विधिमात्र हो । सबै कुराको समाधान नाम मात्रको व्यवस्था हुन सक्दैन । देश हाक्नेहरू राष्ट्र र जनताप्रति कति उत्तरदायी छन् भन्ने कुराले मात्रै व्यवस्थाको महत्त्व बढाउन सक्छ । हाम्रो देशको समस्या विधान, संविधान र कुन विचारका आधारमा राज्य व्यवस्था चलाउने भन्ने होइन । समय सापेक्ष जनताको भावनालाई बुझेर जनता अनुकूल आफू चल्नसक्ने असल मानिस अथवा अर्को शब्दमा शासकको अभाव मात्र हो । यो समस्या होइन । कमजोर जनताको आड्लाई बलियो राजनीतिक धरातल ठान्नेको राजनीतिक जीवनको अन्त्य निश्चित रूपमा एकदिन हुन्छ । उनीहरूका अराजनीतिक कर्मले त्यही बाटो खोजेको हो भन्ने कुरा प्रस्ट छ ।
यो राष्ट्रको हित चाहनेहरूबाट कहाँनिर कमजोरी भयो भन्ने विषयमा गम्भीर ढंगले समीक्षा गर्न आवश्यक छ । नेपाली जनताको पुरानो एकताको आधार खलबलिएको मात्र हो टुटेको भने छैन । यो अवस्थामा नयाँ राष्ट्रिय एकताको आधार पत्ता लगाउन सकिएन भने देश अन्त्यहीन विवादमा फस्न सक्छ । त्यो अवस्थामा विदेशीलाई बाहेक हामी नेपालीलाई सहज हुने छैन । सबै नेपालीको एकता भयो भने राजनीतिमा जसले नेतृत्व लिए पनि हुन्छ, जो नेता भए पनि हुन्छ, त्यो विवादको विषय बनाउन जरुरी छैन । कसैले पनि विदेशीसँग कुम जोडेर नेपालको सत्ता प्राप्त गर्नु मात्र समाधान होइन, नेपाली जनताका आपसमा फाटेका मन मिलाएर सबै नेपाली एक भएर बस्नसक्ने उत्तम विकल्प खोज्नु राजनीतिक समाधान हो ।
नेपाल राष्ट्रलाई सधैँ हिंसाको दुष्चक्रमा फसाई राख्न चाहने देशीविदेशी कुनै पनि शक्ति र तत्त्वहरूले पर्दा पछाडि लुकेर भयानक हिंसा भड्काउन सक्ने खतरालाई नकार्न मिल्दैन । निषेधको राजनीतिक संस्कारले कसैको हित गर्ने अवस्था देखिँदैन । प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा विदेशीका कुरा सुनेर नेपाल राष्ट्र र नेपाली जनताको जबर्जस्ती मालिक हुनुभन्दा आपसमा मिलेर अगाडि बढ्न सकियो भने मात्र राष्ट्र बलियो हुनसक्छ र भत्किन लागेको राष्ट्रिय एकता नयाँ आधारमा पून: कायम हुनसक्छ भन्ने कुरा सबै राजनीतिक शक्ति र व्यक्तिहरूले बुझ्न आवश्यक देखिन्छ । राजनीतिको नाममा निर्दोष जनतामाथि अपमानजनक र नीच व्यवहार भइरहेको छ । यसबाट जनतालाई मुक्ति दिलाउनका लागि मानिसका हृदयको आवाज सुनेर दु:खको अवस्थालाई निर्मुल पार्न, विवाद र विपद्को मूल ज्वरोलाई बुझ्न आवश्यक छ । यो विवादको जड भनेको चेतनशील प्राणीका रूपमा विख्यात मानिसका विरुद्ध मानिसलाई नै जुधाउने राजनीतिक दलले अँगालेको फगत असभ्य राजनीतिक विचार नै हो भन्ने कुरा सबैले जान्नु र बुझ्नु पर्छ ।
त्याग र नैतिकता नभएका मानिसका मातहतमा अब नेपाली समाज अडिन सक्दैन । जनतालाई कसैले पनि सधँै आफू अनुकूल चलायमान बनाइराख्ने अवस्था पनि छैन । जसले जनताका कानले सुन्ने गरी उनीहरूका मनको पीडाको सम्बोधन गर्नसक्छ र आँखाले देख्ने गरी उनीहरूका जीवनको अभाव र विपन्नताको भारी उठाइदिन सक्छ उसैको साथमा साथ र काँधमा काँध मिलाउँदै राष्ट्र निर्माण गर्ने अभियानमा जनता जुट्न सक्ने सम्भावना बलियो बन्दै गएको छ । समाजमा र जनताका जीवनमा वास्तविक शान्ति र अमनचयन जनतालाई एकजुट गराउँदै नजगाएसम्म पुन:स्थापित गर्न सम्भव छैन त्यसका लागि कडा अनुशासित र नैतिकवान् व्यवस्था चलाउने राजनीतिक नेतृत्व चयन गर्नु आजको राष्ट्रिय आवश्यकता हो भनेर सबैले जान्नु जरुरी छ  ।

प्रतिक्रिया