दैनिक निर्णय र गोविन्द वर्तमान

गोविन्द वर्तमानको मृत्युको खबरले म स्तव्ध भएँ । एक होनहार साहित्यकार कवि भावुक एवं नरम स्वभावका हुँदाहुँदै पनि राजनीतिक विचार भने उनको स्पात जस्तै बलियो थियो । उनी आफूलाई मन नपरेका ब्यक्तिसँग ठोक्किन मन पराउन्नथे । उनीसँग मेरो ०३९ सालमा पहिलोपटक भेट भएको हो । यो भेटले ०४५ सालसम्म निरन्तरता पायो । हामीले एकआपसमा राजनीतिक छलफल गर्ने एक प्रकारको थलो बनाएका थियौँ भैरहवामा । उनको र मेरो बीचमा चुरोट तान्ने कुरादेखि राजनीतिक विचारसम्म मतभिन्नता थिए । तैपनि, हामी दुईबीच भिन्न चरित्र, भिन्न राजनीतिक विचार, भिन्न सोचाइ राख्ने भिन्नताकै बीचमा मित्रता गाँसिएको थियो ।
०३९ सालमा उनि काठमाडौंबाट भैरहवा झरेका थिए । म प्रताप कुमार भट्टचनद्वारा सम्पादित एवं प्रकाशित दैनिक निर्णयको सह–सम्पादक थिएँ । गोविन्द त्यही काम गर्न आइपुगे । उनी त्यतिखेर यस्तै २२/२३ वर्षका हुँदा हुन् । पत्रकारितामा भन्दा साहित्यमा बढी दखल भएका गोविन्द हरसमय गीत गुनगुनाउन मन पराउँथे । तर, राम्रोसँग गीत गाएको भने मैले कहिल्यै सुनिन । पत्रपत्रिकाका साथै साहित्य रचना र अध्ययन गर्न मन पराउँथे उनी । खाली समयमा कतै पुस्तक पसल वा कही कुनै मित्रसँग गफगाफ गर्दै गरेका भेटिन्थे ।
गोविन्द र मबीच केही राजनीतिक भिन्नता त थियो नै । उनी नेकपा मसालसँग नजिक थिए । म भने अहिलेको एमाले अर्थात त्यतिखेर नेकपा माले । मेरो पार्टी भित्र लुम्बिनी अञ्चल क्षेत्रीय कमिटीको सेल्टरको जिम्मा थियो । दैनिक निर्णय यसरी छाड्दा मैले पार्टीलाई सोधिन । छाडेपछि मात्र खबर गरेँ । त्यही साँझ कमरेड गौरव (प्रदीप नेपाल) बुटवल आइपुगे । उनलाई घटनाको बेलीबिस्तार लगाएँ । उनको अनुहार त्यति खुसी देखिएन । मैले उनको चिन्ता बुझ्न सक्थेँ । दैनिक निर्णयको बुटवल, भैरहवा मात्र होइन लुम्बिनी अञ्चलभर एक प्रकारको इज्जत थियो । यो पत्रिका लुम्बिनी अञ्चलको पहिलो दैनिक थियो । यो पत्रिकाको नाम लुम्बिनी अञ्चलभरका राजनीतिक सजग प्रत्येक व्यक्तिको मुखमा थियो । अघि रामचन्द्र भट्टराई यसको सम्पादक हुँदासम्म पार्टीको विचार, समाचार आदि विना रोकटोक प्रकाशन हुन्थ्यो । त्यसपछि म आएँ । पार्टीबाट आएका समाचारहरू प्रकाशनमा कुनै बन्देज थिएन । तर, गोविन्दले हाम्रो पार्टीका खबरहरू अब हुबहु जस्ताको तस्तै छाप्ने छैनन् ।
मैले प्रतापदाइसँग अघिल्लो दिन बरु मैले नै दैनिक निर्णय छोड्ने भनी प्रस्ताव राख्दा यसबारे पटक्कै सोचेको थिइनँ । मेरो सोचाइ मात्र के कुरामा केन्द्रित थियो भने, भैरहवामा मण्डलेहरूको जगजगी थियो, सागरप्रताप राणा प्रधानपञ्च थिए, दीपक बोहराका युवाहरूको यत्र तत्र उपस्थिती र बिग्बिगी थियो । कुनै बौद्धिक एवं साहित्यिक माहोल थिएन । दानबहादुर शाही प्रमुख जिल्ला अधिकारी थिए । प्रशासनको दबदबा थियो, प्रशासन र दीपक बोहराका लाउकेका लागि सबै खुल्ला थियो । तर, इतर राजनीतिक विचारधारा राख्नेहरू खुल्ला राजनीतिक बहस वा छलफल गर्नबाट पनि वञ्चित थिए । साहित्य र बौद्धिकताको कुनै कदर थिएन । मानौ, भैरहवा बजार साहित्यमा सुख्खा लागेर जर्जर फुटेको थियो । साहित्यको अनिकाल लागेको ठाउँमा कता–कताबाट आइपुगेको एउटा साहित्यकारलाई बचाएर राख्न पाएमा हामी भैरहवाबासीका लागि मलहमपट्टी हुने छ कि भन्ने मनोविज्ञान म भित्र जागेको थियो ।
केही समय पछि म काठमाडौं तिर लागेँ, गोविन्द पनि काठमाडौं फर्केछन् । अनि, काठमाडौंमा पनि उनी र म सँगै काम गर्ने मौका मिल्यो, साप्ताहिक विमर्शमा । मलाई लाग्छ उनले ०४४ सालको चैत्रसम्म साप्ताहिक विमर्शमा काम गरे क्यार † उनले विमर्श छाडेपछि हामी सम्पर्क बिहिन भयौँ । उनिसँग सम्पर्क छुटेको दुई दशकपछि मैले कान्तिपुर दैनिकमा उनको एउटा लेख फेला पारेँ । उक्त लेखमा उनले दैनिक निर्णय र प्रताप दाइका बारेमा समेटेका थिए । उनको अर्को अमेरिका जानेहरूका दु:ख भन्ने लेख पनि कान्तिपुरमै पढेँ । जुन लेख बिदेशिएका नेपालीहरूका लागि अत्यन्तै रोचक र शिक्षाप्रद लागेर उनको अनुमतिमा एभरेष्ट टाइम्स साप्ताहिकमा पुन: प्रकाशित गरेको थिएँ । यिनै शब्दगुच्छासहित गोविन्दको दिवंगत आत्माको चिर शान्तीको कामना गर्दै शोक सन्तप्त परिवारप्रति हार्दिक समवेदना व्यक्त गर्न चाहन्छु ।

प्रतिक्रिया