आयल निगमको घाटा खुम्चियो

काठमाडौं, १९ कात्तिक । नेपाल आयल निगमको मासिक घाटामा कमी आएको छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा आएको गिरावटले निगमको मासिक घाटामा कमी आएको हो ।
निगमका अनुसार अहिले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य एक सय नौ अमेरिकी डलरको हारहारीमा छ । यसअघि कच्चा तेलको मूल्य वृद्धिले निगमको घाटासमेत वढ्दै गएको थियो । निगम अधिकारीका अनुसार विदेशी बजारमा केही समयअघि कच्चा तेलको मूल्य प्रतिब्यारेल एक सय २३ अमेरिकी डलरसम्म पुगेको थियो । निगमको घाटा–नाफा अन्तर्राष्ट्रिय बजारमा हुने कच्चा तेलको मूल्यमा निर्भर भएकाले विदेशी बजारमा मूल्य गिरावट हुदाँ घाटासमेत कम भएको हो ।
भारतीय आयल निगमले एक नोभेम्बरमा पठाएको नयाँ मूल्य सूचीअनुसार निगमको घाटा ३१ करोड ४९ लाखमा झरेको हो । अघिल्लो महिना निगमको मासिक घाटा ७५ करोडको हाराहारीमा थियो । निगमका अनुसार नयाँ मूल्य सूचीअनुसार निगमलाई अहिले पेट्रोलमा प्रतिलिटर ११ रुपियाँ ९२ पैसा नाफा छ । यस्तै, मट्टीतेलमा १० रुपियाँ ७७ पैसा, आन्तररिक उडानको हवाई इन्धनमा प्रतिलिटर २३ रुपियाँ ९१ पैसा, अन्तर्राष्ट्रिय उडानको हवाई इन्धनमा २६ रुपियाँ १५ पेसा नाफा रहेको निगमले जनाएको छ ।
यता नयाँ मूल्य सुचीअनुसार डिजेलमा अझै प्रतिलिटर तीन रुपियाँ १५ पैसा र एल्पी ग्यासमा प्रतिसिलिन्डर पाँच सय ८ रुपियाँ ९३ पेसा घाटा रहेको निगमले जनाएको छ । ग्यासमा घाटा बढिरहेकाले निगमको मासिक घाटासमेत सोचेअनुसार कमी नआएको निगम अधिकारी बताउँछन् । निगमका कामु कार्यकारी निर्देशक सुरेशकुमार अग्रवालले ग्यासमा बढी घाटा रहेकाले मासिक घाटामा सोचेअनुसार कमी नआएको बताए ।
यसैगरी, निगमले आगामी तिहारसम्म पेट्रोलियम पदार्थको अभाव नहुने जनाएको छ । सरकारले निगमलाई भ्याटबापतको दुई अर्ब रुपियाँ दिएकाले आपूर्तिमा समस्या नरहेको भन्दै आगामी तिहारसम्म आपूर्ति सहज हुने जनाएको हो । यसअघि निगमले घाटा बढ्दै गएकाले आपूर्ति समस्या हुने जनाएको थियो । तर, अहिले त्यस्तो अवस्था नरहेको निगम अधिकारीले बताएका छन् ।
भ्रष्टाचार छानबिन सुरु

विराटनगर : सरकारको स्वामित्वमा रहेको नेपाल आयल निगम क्षेत्रीय कार्यालय विराटनगरमा भएको आर्थिक अनियमितता र भ्रष्टाचार सम्बन्धमा छानबिन सुरु गरिएको छ ।
आयल निगम आन्तरिक नियन्त्रण विभागका निर्देशक सागर सत्यालको नेतृत्वमा आएका चार सदस्यीय टोलीले शनिबारदेखि छानबिन सुरु गरेको हो । निगमको क्षेत्रीय कार्यालयमा पेट्रोलियम पदार्थ भारतको बरैनीबाट ढुवानी गर्दा टयांकरसँग कमिसन लिने गरेको, पूर्व क्षेत्रका पेट्रोल पम्पले उपभोक्तासँग पेट्रालीयम पदार्थ बिक्री गर्दा प्रतिलिटर गैरकानुनी रूपमा अत्यधिक मूल्य लिने गरेको तथा पेट्रोलीयम पदार्थ लिएर आउने टयांकरले बाटैमा सिल तोडी तेल निकाली बिक्रीवितरण गर्ने र कर्मचारीलाई त्यसबाट कमिसन दिने सम्बन्धमा उजुरी परेपछि छानबिन सुरु गरिएको हो ।
यसैगरी गत १५ असारमा १५ हजार लिटर पट्रोल हिनामिना एवं चोरी भएको सम्बन्धमा पनि टोलीले छानबिन सुरु गरेको छ । निगमको क्षेत्रीय कार्यालयमा कर्मचारीको मिलेमतोमा अनियमितता एवं भ्रष्टाचार हुने गरेको भन्ने उजुरी परेकाले सो सम्बन्धमा छानबिन गर्न टोली खटाइएको निर्देशक सत्यालले बताए । छानबिनका लागि आएका टोलीमा निगमका उपनिर्देशक शरद पौडेल, प्रबन्धक चण्डी कार्की र आपूर्ति मन्त्रालयका एक कानुन अधिकृत रहेका छन् ।

प्रतिक्रिया