केशव सिलवाल समकालीन कवितामा बिर्सनै नहुने हस्ताक्षर हुन् । काठमाडौंको पाखा लेलेमा बसेर उनले कविताको केन्द्रमा गम्भीर हस्तक्षेप गरेका छन् । उनी भोका मान्छेहरूको पक्षमा कविता लेख्छन्, भोक चिनाउँछन् र भोकविरुद्धको संग्राममा सबैलाई गोलबद्ध हुन आह्वान गर्छन् । उनका ‘बर्जित अवशेष’ र ‘धारिला मानिसहरू’ दुई कवितासंग्रह प्रकाशित छन् ।
अब नयाँ कवितासंग्रह कहिले निकाल्नुहुन्छ ?
यो वर्षको अन्तिमसम्म निकाल्ने तयारी गरिरहेको छु ।
तपाईंका कविताको मूल आधार र आदर्श के हुन् ?
जहाँ मानवको उपस्थिति हुन्छ, त्यहाँ कविताको सिर्जना हुने हो । विनामानवको आदर्श मेरो कवितालाई पनि स्वीकार्य छैन । मानवीय दु:ख, समवेदना, न्याय र सत्यको पक्षमा मेरा कविता उभिन्छन् । मानवमाथि हुने अन्याय, अत्याचार र दमनका विरुद्ध आवाज दिन्छन् । समाज रूपान्तरणको पक्षलाई बल पुर्याउँछन् । यस अर्थमा मेरा कविताका निश्चित उद्देश्य हुन्छन् ।
तपाईंको कवितामा राजनीतिको चर्को गन्ध आउँछ नि †
म समाज रूपान्तरणको विषयमा कविता लेख्छु । रूपान्तरणको पक्षमा कलम चलाउनु राजनीति हो भने मेरो कवितामा अवश्य राजनीति छ । त्यसो त दीपकजी, राजनीतिले हरेक कुरालाई प्रभाव पारेको हुन्छ । हरेक मानिस राजनीतिबाट प्रभावित भएको हुन्छ । मेरो कविताले मावनीय न्याय र समताको पक्षमा राजनीति गर्छन् । यसको मतलव कुनै राजनीतिक पार्टीसँग प्रभावित भएर कविता लेख्नुपर्छ भन्नेचाहिँ होइन ।
तपाईंको दर्शनमा यौन के हो ? कवितामा यौन कत्तिको आवश्यकता छ ?
यौन मानिसको जैविक आवश्यकता हो । तर, यौनको परिभाषा र प्रयोग समाजले निर्धारण गरेको हुन्छ । पुँजीवादी विश्व व्यवस्थाले यौनलाई आफ्नो पक्षमा दुरूपयोग गरेको छ, मानिसलाई दिग्भ्रमित पारेको छ । कवितामा यौनको आवश्यकता छ कि छैन भन्ने कुरा कविले निर्धारण गर्ने हो । मानिस चौबिसै घन्टा, हरेक मिनेट, हरेक सेकेन्ड यौनको बारेमा सोच्दैनन् । अरू त्यस्ता धेरै विषयवस्तु छन् जुन कवितामा आउनु जरुरी र अनिवार्य छन् ।
अहिले कविता लेखनको धार कता गइरहेको पाउनुभएको छ ?
अहिले कविताको धार मानवता, समता र न्यायको पक्षमा सही ढंगले अगाडि बढिरहेको छ । समता र न्यायको लडाइँमा अहिलेका कविता लडाकुझैँ लाग्छन् । तिनीहरू तिक्खर छन् । तिनीहरूले समाज रूपान्तरणमा योगदान पुर्याइरहेका छन् । खराब राजनीतिलाई खबरदारी गरिरहेका छन् । अन्य धारका कविता पनि लेखिएका छन् तर मूलधारमा प्रगतिशील कविता नै छन् ।
देशमा व्यापक राजनीतिक र सामाजिक रूपान्तरणको प्रक्रिया सुरु भएको छ । यसमा वामपन्थी साहित्यको स्वर निकै मधुरो सुनिन्छ नि †
नेपालको राजनीतिक र सामाजिक रूपान्तरणको प्रक्रियामा वामपन्थी साहित्यले ठूलो योगदान पुर्याएको छ । लोकतान्त्रिक आन्दोलनको क्रममा हामी सडकमा कविता लिएर गएका थियौँ । अहिले पनि त्यो स्वर मधुरो भएको छैन । नेपाली साहित्यको मूलधारमा नै छ, वामपन्थी साहित्य । बरु, अरू सबै खालका साहित्यलाई वामपन्थी साहित्यले प्रभाव पारेको छ भन्न सकिन्छ ।
साहित्य र सत्ताको अन्तरसम्बन्ध कस्तो हुनुपर्छ ?
सत्ताले साहित्यलाई उच्च स्थानमा राखे राम्रो हुन्छ । भनिन्छ, राजनीतिभन्दा पनि साहित्य माथि हुन्छ । सत्ताले नै राम्रो साहित्यको प्रवद्र्धन गर्न सक्नुपर्छ । तर यहाँ यसको ठीक विपरित भइरहेको छ । सत्ताको मालिक रहेका मुठ्ठीभरका मानिसमा साहित्यले उठाउने गरेको न्यायको आवाज सुन्न सक्ने क्षमता छैन । साहित्य आफैँले कहिले पनि सत्ताको गुलामी गर्दैन । साहित्यले कहिल्यै पनि सत्ताको भजन गाउँदैन । कसैले त्यो गरेको छ भने त्यो असली साहित्यकार होइन ।
संघीय र समावेशी नेपालमा अब साहित्यको स्वरूप कस्तो हुन्छ ?
संघीय र समावेशी नेपालमा हरेक भाषाका साहित्य समृद्ध हुनुपर्छ । नेपालभित्रका जुनसुकै भाषासाहित्य समृद्ध भए भने पनि ती नेपाली साहित्य नै हुन् । बस्, त्यसलाई हेर्ने फराकिलो आँखाको मात्र जरुरत छ । एकल भाषा मात्रै बलियो हुनुपर्छ भन्ने होइन । सबैलाई समेट्न सक्नुपर्छ ।
यो समयमा प्रगतिशील साहित्यको स्थितिलाई कसरी हेर्नुभएको छ ?
प्रगतिशील साहित्य आफ्नो गतिमा अगाडि बढिरहेकै छ । कवितामा भन्नुहुन्छ भने निकै समृद्ध हुँदै गएको छ । लक्ष्मीप्रसाद देवकोटा, गोपालप्रसाद रिमाल, भूपी शेरचन र पारिजातले बसाएको जगमा उभिएको प्रगतिशील साहित्य नेपाली साहित्यको मूल प्रवृत्ति बनेको छ । एउटै गुनासो छ मेरो, प्रगतिशील भन्नेहरू एकजुट भएर अगाडि बढ्न सकेनन् । प्रगतिशील लेखक संघले पनि यस बारेमा प्रभावकारी कार्यक्रम ल्याउन सकेन । त्यहाँ लेखकको
भन्दा राजनीति गर्नेहरूको प्रभाव
बढी छ ।
वामपन्थीहरू साहित्यमा भएका प्रयोग र वादहरूलाई किन सहज स्वीकार्दैनन् ?
कुनै प्रयोग वा वादलाई अस्वीकार गर्ने भन्ने कुरा हुँदैन । त्यस्ता प्रयोग वा वादले समाजको हित गर्छन् र समाजको रूपान्तरणमा सहयोग पुर्याउँछन् भने सहजै स्वीकार गर्न सकिन्छ । वादको नाममा आलुवाद, प्याजवाद ल्याइन्छ भने त्यसलाई स्वीकार्न सकिँदैन ।
कविता लेख्नुभन्दा अगाडि नै कुनै शैली प्रयोगको खाका बन्छ या यो पछि बन्ने कुरा हो ?
कविता लेखनमा मेरो मुख्य जोड विषयवस्तुमा रहन्छ । कुन उद्देश्य र प्रयोजनका लागि कविता लेख्दै छु भन्ने बारेमा प्रस्ट भएपछि मात्रै म कविता लेख्छु । भावनासँगै विषयवस्तु पनि महत्त्वपूर्ण कुरा हुनुपर्छ । शैली या प्रयोग दोस्रो कुरा हुन् ।
पछिल्लो समयमा पढेकामा तपाईंलाई सबैभन्दा प्रभावकारी लागेको पुस्तक कुन हो ?
विमल निभाको ‘डाइनोसर जिउँदो छ’ व्यंग्य संग्रह , श्यामलको ‘हतारमा यात्रा’ कविता संग्रह, नारायण ढकालको ‘प्रेतकल्प’ उपन्यास र त्यसपछि पढेको विनोदविक्रम केसीको कविता संग्रह ‘भोकको क्षेत्रफल’ मलाई प्रभावकारी लाग्यो । यिनीहरूले नेपाली साहित्यलाई एक खुट्किलो माथि उठाएका छन् ।
तपाईंलाई मदिरा र कवितामा कसले बढी लठ्याउँछ ?
कविताको अगाडि मदिरा नगन्य कुरा हो । राम्रा कविता पढ्दा लाग्ने नशा मलाई मदिराले दिन सक्दैन ।
तपाईंका समकालीनहरूमा अहिले राम्रा कविता लेख्ने कवि कति छन् ?
अहिले धेरै राम्रा र सशक्त कवि देखा परेका छन् । केही समयअगाडि कवितामा संकट देखिएको थियो । अब त्यस्तो संकट देखिँदैन । अहिले नेपालमा कविता नै सशक्त विधा हो । कवि भएको नाताले यसमा मलाई गर्वको अनुभूति हुन्छ । विनोदविक्रम केसी, अमोघ काफ्ले, विश्व सिग्देल, स्व. स्वप्निल स्मृति, तारानाथ सापकोटा, चन्द्रवीर, संगीतस्रोता, ब्रबिमकुमार, विशदलगायत राम्रा कविको एउटा जमात नै तयार भएको छ । कविता संकटमा पर्यो भन्नेहरूलाई यो चुनौती हो ।
कविता नभएको भए तपार्इं कति निराश हुनुहुन्थ्यो होला ?
निकै निराश हुन्थेँ । कविताले कसरी बााच्ने भन्ने कुरा सिकाएको छ । कवितामार्फत नै म समाज र आफूलाई बुझ्ने कोसिस गर्दै छु । कविताले मलाई बाटो देखाएको छ, गर्नुपर्ने काम देखाएको छ । त्यसैले कविता मेरा लागि प्रिय छ । कविता नभएको भए यी सब कुरा हुने थिएनन् ।
धर्म र ईश्वरबारे तपाईंको धारणा के छ ?
धर्म र ईश्वर मानिस आफैँले सिर्जना गरेका कुरा हुन् । समाज र मानव नभएको भए धर्म र ईश्वर हुने थिएनन् । धर्म र ईश्वर समाजमा रहेका रैथाने र शासकका निकै भरपर्दा साधन पनि हुन् । मेरा लागि मानवता नै धर्म हो र देश नै ईश्वर हो ।
प्रस्तुति : दीपक सापकोटा
प्रतिक्रिया