जुनसुकै मुलुकमा राजनीतिक आग्रह–पूर्वाग्रह हुनु कुनै नौलो कुरा होइन । यो चलिरहने स्वाभाविक प्रक्रिया हो । तर, अन्य मुलुकमा राजनीतिले विकासलाई अवरोध पुर्याउँदैन । यहाँ भने राजनीतिक कारणले विकासलाई पछाडि धकेलिरहेको छ । विकास छाडेर राष्ट्रको विनाश गर्ने हो भने हाम्रो आउँदो पुस्ताले हामीलाई धिक्कार्ने छ । सैद्धान्तिक विचार धारात्मक हिसाबले फरकफरक मानिसहरूका जमात साँच्चै हाम्रो देशमा धेरै छन् । तर, बिडम्बनाको कुरा देशमा राजनीतिक तरलता पैदा भइरहेका बेला निकास दिने बाटो सबै दलहरूले खोज्ने समयमा असहमतिको वातावरण किन देखिँदै छ ? यो राम्रो संकेत होइन । अति सिद्धान्तवादी बनेर पनि हामी देशलाई कुन मोडमा धकेलिरहेका छौँ भन्ने तर्फ सोच्नुपर्ने समय आइसकेको छ । सिद्धान्तलाई व्यवहार भन्दा ठूलो मान्ने परम्पराको अन्त्य हुन जरुरी देखिन्छ । धेरै लामो समयसम्म दलहरूबीचको द्वन्द्वका कारण देशभित्रको नियम, कानुन फितलो बन्दै गएको छ । अराजकता, दण्डहीनतादेखि लोकतन्त्रको नाममा राज्यका केही संयन्त्रहरू मनपरी तन्त्रको राज गर्दै छन् । वर्तमान समयमा देशको राजनीतिक संकट गहिरिनुमा दोष एक दललाई मात्र दिने अवस्था छैन । सबै दलले देखाएका घमण्डले सहमतिभन्दा पनि असहमतिको वातावरण सिर्जना गर्छ । सबै दलको एकताबाट मात्रै राष्ट्र समृद्ध बन्छ भन्ने कुरालाई आत्मसात् गराँै । जनताले आफ्नो मुलुकलाई विकसित बनाउन खोजिरहेका छन् । तर, दलहरूले दिइरहेका छैनन् ।
विगत, वर्तमान र भविष्यतर्फको दीर्घकालीन सोच नहुँदा नेताहरूको नेतृत्व क्षमता गुम्दै गएको छ । जनमुखीभन्दा पनि आफ्नो हठ प्रबृत्ति उनीहरूभित्र मौलाएको अवस्था देखिन्छ । यो प्रवृत्तिलाई अन्त्य गर्ने प्रयास भएन भने राजनीतिक परिभाषाको भ्रष्टीकरण मात्रै होइन राजनीतिक शब्द नै आउने पुस्तालाई कुनै फोहोरी खेल हो भन्ने अनुभूत हुन सक्छ । त्यसैले राजनीतिको गलत परिभाषा दिएर सीमित स्वार्थसिद्ध गर्ने अधिकार नेपालका राजनीतिक दललाई छैन । राजनीतिक परिपाटीलाई लत्याएर राजनीतिक गद्दारी गर्ने अधिकार यो देशका कुनै पनि राजनीतिक दललाई नेपाली जनताले दिएकै होइन । यदि, यस्तै पाराले राजनीति गर्न खोजियो भने भविष्यमा राजनीति भन्ने बित्तिकै छि: छि: मात्रै होइन राजनीतिक शब्द नै गाली–गलौजको शब्द हुन सक्छ । किनकि, देशका लागी केही गर्नुपर्छ भन्ने भावना नेताहरूलाई हुन आवश्यक छ । यो भनिरहँदा कसैलाई राजनीतिक परिभाषा सिकाएको होइन । मुख्यतया हिजो लामो समयसम्म राजनीतिक पहिचान बनाउन सफल दलका नेतालाई भन्नुपर्ने कुरा यही हो कि विगतको इतिहास मज्जाको थियो भन्दैमा त्यही इतिहास देखाएर सधँै राम्रो हुन सकिँदैन । अब, देशको लागि हामीले के गर्न सक्यौँ, के दियौँ भन्नेतर्फ नेताहरूले चिन्तन गर्न जरुरी छ । हामीले देशलाई कति विकसित राष्ट्रको रूपमा चिनाइरहेका छौँ । राजनीतिक वृत्तमा राणाशासनमा, पञ्चायतकालमा, बहुदलीय कालमा कसले के गर्यो भन्दा पनि हामी के गरिरहेका छौँ भन्ने सोच्न जरुरी छ यो देशका राजनीतिक दलले । साँच्चै भन्नुपर्दा यथार्थ कुरा यो हो कि राजनीतिक दलको उत्पत्ति हुँदाको इतिहास फरकफरक देखिन्छ । तत्कालीन माओवादीले ०५२ सालमा थालेको जनयुद्ध कम पीडा र आक्रोशको संगम थिएन ? यो बुझ्न जरुरी छ कि पृथक इतिहास बोकेका राजनीतिक दलका कारण देशमा संकट पैदा भएको पनि यथार्थता भित्रको एउटा सत्यता हो । किनभने माओवादी जनताको सबैभन्दा लोकप्रिय पार्टी बनेर आएकै हो भन्ने कुरा भन्नलाइ किन लजाउने र ? अब, दलहरूले एकता प्रक्रियालाई अगाडि बढाउने समय आइसकेको छ । अहिले दलहरूबीचको ध्रुवीकरणले साँच्चै एक अर्कालाई रचनात्मक भन्दा ध्वंसात्मक दिशातिर अगाडि बढाइरहेको देखिन्छ । स्पष्ट कुरा के हो भने अहिले राष्ट्रपतिलाई सक्रिय बनाउन खोज्नु मूर्खता मात्रै होइन त्यसले दूरगामी महत्त्वको असर पार्ने छ । राष्ट्रपतिलाई सक्रिय पार्ने संस्कारको विकास गर्नु हुँदैन ।
प्रतिक्रिया