साढे ४ अर्बको दूरसञ्चार उपकरण आयात

काठमाडौं, १५ कात्तिक । वार्षिक साढे चार अर्ब रुपियाँभन्दा बढीको दूरसञ्चार उपकरण आयात हुने गरेको छ । दूरसञ्चार सेवाको विस्तार र मर्मतका लागि विभिन्न कम्पनीले यो परिमाणको उपकरण आयात गरेका हुन् ।
दूरसञ्चार क्षेत्रको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणको वार्षिक प्रतिवेदन ०६९ अनुसार गत आर्थिक वर्ष ०६८/६९ मा दूरसञ्चार तथा इन्टरनेट सेवाप्रदायक कम्पनीले चार अर्ब ५५ करोड ७५ लाख ६६ हजार चार सय ३२ रुपियाँ बराबरका उपकरण आयात गरेका छन् । चारवटा दूरसञ्चार सेवाप्रदायक र चारवटा इन्टरनेट सेवा प्रदायक कम्पनीले गरी सो रकमको सामान आयात गरेको प्राधिकरणको तथ्यांक छ । यो तथ्यांक प्राधिकरणले सामान आयात गर्न प्रदान गरेको सिफारिसका आधारमा निकालिएको हो । सेवाप्रदायकले कुनै पनि सामान आयात गर्न प्राधिकरणको सिफारिस लिनुपर्छ ।
प्राधिकरणका अनुसार गत आर्थिक वर्षमा सबैभन्दा बढी सामान सरकारी सेवाप्रदायक नेपाल टेलिकमले गरेको छ । गत आवमा टेलिकमले दुई अर्ब ४० करोड ८७ लाख १२ हजार रुपियाँको उपकरण आयातका लागि प्राधिकरणबाट सिफारिस लिएको थियो । त्यस्तै एनसेलले एक वर्षमा दुई अर्ब पाँच करोड रुपियाँको सामान आयात गरेको देखिएको छ ।
नेपाल स्याटेलाइट टेलिकम (हेलो नेपाल) ले गत आवमा ६० लाख २९ हजार रुपियाँको उपकरण आयात गरेको छ । त्यस्तै स्मार्ट टेलिकमले पाँच करोड ८३ लाख रुपियाँको दूरसञ्चार उपकरण आयात गरेको देखिएको छ । अन्य दूरसञ्चार सेवाप्रदायकमा युटिएल र एसटिएम सञ्चार प्रालिले कति रकमको उपकरण आयात गरे भन्ने तथ्यांक प्राधिकरणको प्रतिवेदनमा छैन । सम्भवत: यी दुई कम्पनीले गत वर्ष कुनै पनि दूरसञ्चार उपकरण भित्र्याएनन् ।
गत वर्ष केही आइएसपी कम्पनीले पनि उपकरण आयातको अनुमति लिएका थिए । प्राधिकरणका अनुसार गत वर्ष मर्कन्टाइल कम्युनिकेसनले ६३ लाख ८० हजार रुपियाँको उपकरण आयात गरेको थियो भने आई फोर टेक्नोलोजीले तीन लाख ७१ हजार रुपियाँको उपकरण आयातका लागि अनुमति लिएको थियो । वेब सर्फर नेपालले एक करोड ७४ लाख दुई हजार र कन्स्टलेसन प्रालिले ३९ लाख नौ हजार रुपियाँको उपकरण आयात गरेको प्राधिकरणको तथ्यांक छ । हालसम्म ४० वटा इन्टरनेट सेवाप्रदायकले लाइसेन्स पाएको भए पनि अन्य कम्पनीले प्राधिकरणबाट उपकरण आयातका लागि सिफारिस लिएका थिएनन् ।
दूरसञ्चार क्षेत्रमा प्रतिस्पर्धा बढेका कारण सेवा विस्तारमा जोड दिनुपर्ने भएकाले यस्ता उपकरणको आयात बर्सेनि बढिरहेको छ । प्राधिकरणले कम्पनीबीच पूर्वाधार साझेदारीको प्रयास गरेको लामो समय भइसके पनि यो प्रयास सफल हुन सकेको छैन । दूरसञ्चार सेवामा बिटिएस टावर, अप्टिकल फाइबरजस्ता केही उपकरणको साझा प्रयोग गर्न मिल्छ । पूर्वाधार साझेदारीका लागि नीतिगत आधार तयार भइनसकेको सेवाप्रदायकको भनाइ छ ।
साढे दुई अर्बको विदेशी मुद्रा कारोबार
काठमाडौं : गत आवमा दूरसञ्चार कम्पनीहरूले ब्यान्डविथ र अन्य सेवाका लागि दुई अर्ब ५८ करोड २७ लाख ५९ हजार रुपियाँ बराबरका विदेशी मुद्रा सटही गरेका छन् । नेपाल टेलिकमले १२ करोड ९९ लाख रुपियाँको सटही सुविधा लिएको छ । त्यस्तै युटिएलले तीन करोड २२ लाख, एसटिएमले दुई करोड ६७ लाख, नेपाल स्याटलाइटले तीन करोड २८ लाख र स्मार्ट टेलिकमले चार करोड दुई लाख रुपियाँ बराबरका विदेशी मुद्रा सटहीका लागि सिफारिस लिएका थिए । इन्टरनेट सेवाप्रदायकतर्फ कम्युनिकेसन एन्ड कम्युनिकेट प्रालिले तीन करोड ७७ लाख, बल्र्ड लिंक कम्युनिकेसनले तीन करोड ९८ लाख, मर्कन्टाइल कम्युनिकेसनले ६ करोड ५८ लाख, आई फोर टेक्नोलोजीले चार लाख र कन्स्टलेसन प्रालिले ३५ लाख रुपियाँ बराबर विदेशी मुद्राको सटही सुविधा लिएको प्राधिकरणको तथ्यांक छ । गत वर्ष ११ वटा कम्पनीले विदेशी मुद्रा सटहीका लागि सिफारिस लिएका थिए ।

प्रतिक्रिया