निकासीजन्य वस्तुको तथ्यांक अभाव

इलाम, १५ कात्तिक । प्रशस्त नगदेबाली उत्पादन हुने इलाममा कुनै पनि नगदेबाली निकासीको तथ्यांक छैन । जिल्लामा उत्पादन हुने चिया, अलैँची, कुचो, अदुवालगायत कृषिजन्य नगदेबालीको उत्पादन गरेर निकासी हुने इलाममा निकासीको तथ्यांक राख्ने आधिकारिक निकाय नै छैन ।
जिल्लामा सरकारी तथा गैरसरकारी संस्थाले अनुमानका भरमा कृषिजन्य वस्तुको उत्पादन र निकासीको तथ्यांक राख्ने गरेका छन् । जिल्ला विकास समितिले निकासी ठेक्का लगाउने गरे पनि आधिकारिक तथ्यांक नराखी अनुमानकै भरमा काम गर्ने गरेको छ । जिल्ला कृषि विकास कार्यालयले उत्पादनको मात्र अनुमानित तथ्यांक राख्ने गरेको छ ।
कार्यालयमा कृषिउपज उत्पादनको अनुमानित तथ्यांक मात्र छ । कृषिउपज उत्पादनको तथ्यांक वार्षिक रूपमा राख्ने गरेको कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत राजेन्द्रकुमार मल्लले बताए । सरकारी र गैरसरकारी संस्थाले वार्षिक अनुमानित तथ्यांक राख्ने गरे पनि निकासी हुने वस्तुको दैनिक तथ्यांक कृषि विकास कार्यालय, जिविस कार्यालय र उद्योग वाणिज्य संघसँग छैन । आधिकारिक तथ्यांक राख्ने जिम्मेवारी कसको हो, भन्ने कुरामा कार्यालयबीचमै अन्योल देखिएको छ ।
जिविसले तथ्यांक राख्ने आधिकारिक निकाय कृषि विकास कार्यालयलाई देखाउने गरेको छ । कृषि विकास कार्यालयले भने निकासी कर लगाउने संस्था जिविस भएकाले उसैले राख्नुपर्ने बताउने गरेको छ । ‘अघिल्लो वर्षको तथ्यांक मात्र जिविसमा छ, जिविस लेखा अधिकृत दिनेश पोख्रेलले भने, ‘दैनिक तथ्यांक राख्ने काम गरिएको छैन ।’
जिल्लाको समग्र आर्थिक क्रियाकलाप हेर्ने उद्योग वाणिज्य संघले पनि जिविसलाई दैनिक तथ्यांक राख्न आग्रह गर्दै आएको छ । निकासी कर संकलन गर्ने जिविसले अनुमानको भरमा निकासी कर संकलनको ठेक्का आह्वान गर्ने गरेको छ ।
कृषिजन्य विभिन्न ५७ प्रकारका वस्तु इलामबाट अन्य जिल्लामा निकासी हुने गरेको छ । दूध उत्पादनका लागि प्रख्यात मानिएको इलामबाट दूध र दुग्ध पदार्थ निकासी हुने तथ्यांक भने जिल्ला पशुसेवा कार्यालयले राख्ने गरेको छ । जिल्ला पशुसेवा कार्यालले दूधको मात्र तथ्यांक राख्ने गरेको डा. कुमारसिंह खत्रीले बताए । जिल्लाबाट निकासी हुने वस्तुको तथ्यांक नहुँदा जिल्लाको योजना निर्माणमा समेत प्रभाव पार्ने गरेको छ ।
जिविसले निकासी करणको ठेक्का लगाउने गरेकाले सम्बन्धित ठेक्केदारलाई तथ्यांक राख्ने जिम्मेवारी दिएको छ । तथ्यांक राख्ने जिम्मा ठेकेदारलाई दिए पनि ठेकेदारले अधिकारिक तथ्यांक राख्ने गरेको छैन । जिल्लाबाट मुख्य गरी कृषिजन्य वस्तु कुचो, अदुवा, हरियो चियापत्ती, तरकारी, चौपाया निकासी हुने गरेको छ । जिल्लाबाट दैनिक एक कारोड रुपियाँ बराबरको कृषिजन्य उत्पादन र नगदेबाली निकासी हुने गरेको उद्योग वाणिज्य संघ इलामका कार्यकारी सचिव लोक श्रेष्ठले बताए ।

प्रतिक्रिया