एकै दिन सयौँ खुम्बु प्रवेश

सोलुखुम्बु, १४ कात्तिक । विश्वको सर्वोच्च शिखर सगरमाथा रहेको जिल्ला सोलुखुम्बुको खुम्बु क्षेत्रमा पर्यटक चहलपहलमा अत्यधिक वृद्धि भएको छ ।
सोलुखुम्बुको विमानस्थल, होटल लज, क्याम्पिङ साइट, चौतारा, बाटोघाटो, पुलपुलेसा, दृश्यावलोकन गर्ने स्थल सबैजसो ठाउँ यतिबेला विदेशी पर्यटकले खचाखच भएका छन् ।
सोलुखुम्बुका मुख्य पर्यटकीयस्थल गोक्यो, गोक्योरी, चोलापास, कालापत्थर, एभरेस्ट बेस क्याम्पलगायत पर्यटकको ओइरो लागेको छ भने नाम्चे, खुम्जुङ, गोक्यो लेक, दिङबोचे, फाक्दिङस्थित होटल पर्यटकले टनाटन भरिएका छन् ।
एकैपटक पर्यटकको आगमन हँुदा त्यस भेगका होटललाई सेवा दिनसमेत धौधौ परिरहेको होटल व्यवसायीहरू बताउँछन् । ‘कुनै महिना सुनसान, अहिले एकैपटक ठूलो संख्यामा आउँदा हामीलाई सेवा दिन हम्मेहम्मे परेको छ,’ दिङ्बोचे होटल एन्ड लजका सञ्चालक ग्याल्जे शेर्पाले भने  ।
कतिपय होटल तथा लजहरू पहिले नै ‘बुकिङ’ भएकाले नयाँ पर्यटकले आवासको समस्यासमेत झेल्नुपरेको छ । ‘धेरै पर्यटकले पहिले नै बुकिङ गरेकाले उनीहरूका लागि सजिलो भए पनि कतिपय नयाँ पर्यटकका लागि यतिबेला बास छैन,’ गोक्यो रिसोर्टका सञ्चालक सुरेन्द्र शर्माले बताए ।
विदेशी पर्यटक, तिनका गाइड, पर्यटकको भारी बोक्ने चौपायाँ तथा पर्यटक भरियाको ताँतीले गर्दा सुग्घर बाटोघाटोमा आवतजावतमा समेत कठिनाइ भएको छ । यसरी पर्यटक आवागमनमा वृद्धि भएपछि खुम्बुका पर्यटन व्यवसायी उत्साहित भएका छन् । मौसमले साथ दिएमा नोभेम्बर महिनाको अन्त्यसम्म सबैजसो होटल तथा लज ‘बुकिङ’ भएको होटल हिडेन भिलेज खुम्जुङका तेञ्जिङ टासी शेर्पा बताउँछन् ।
सन् २००८ मा खुम्बुमा पर्यटकको आवागमन ३० हजार पाँच सय ९९ पुगेको थियो । सन् ०१० मा ३२ हजार १२४ जना पुगेको खुम्बुको पर्यटक बढेर ०११ मा अहिलेसम्मकै अधिक ३४ हजार ५७१ रहेको थियो । अहिलेको दरमै पर्यटक आउने हो भने यस वर्ष अझ बढी पर्यटक खुम्बु आउने पर्यटन व्यवसायीको आँकलन छ ।
सन् ०१२ को अघिल्लो सात महिनाको पर्यटकको आँकडाले पनि खुम्बुमा यो वर्ष पर्यटक बढ्ने संकेत देखाएको छ । सन् ०१२ को जनबरीदेखि सेप्टेम्बरसम्मको अभिलेखले अघिल्लो वर्षको तुलनामा मासिक पर्यटक वृद्धिदर उकालो लागेको देखाउँछ ।
सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालय जोरसल्ले प्रवेशद्वारमा दर्ता गरिएको अभिलेखअनुसार सात महिनाको अवधिमा अघिल्लो वर्षको तुलनामा एक हजार ६ सय ६५ जना पर्यटक वृद्धि भएको छ ।
सन् ०११ को अघिल्लो सात महिनाको अवधिमा १७ हजार ३५८ जना पर्यटक खुम्बु आएका थिए भने यस वर्ष १९ हजार २३ जना पर्यटक खुम्बु प्रवेश गरिसकेका छन् ।
यही दरमा पर्यटक आउने हो भने यस वर्ष खुम्बु आउने पर्यटकको संख्या ३६ हजारको हाराहारीमा पुग्ने अनुमान गरिएको छ । यसबेला खुम्बु क्षेत्रमा दैनिक ६०० को हाराहारीमा पर्यटक खुम्बु प्रवेश गर्ने गरेका छन् ।

प्रतिक्रिया