नेपालीको महान चाड बडादसैँले बिदा लिएको छ । यसपटक बडादसैँको उत्तरार्धमा मुस्लिमहरूको महान् चाड बकर ईद (ईद उल आजाहा) पनि पर्यो । पर्व शनिबार परे पनि सरकारले बिगत भैँm आइतबार सार्वजनिक बिदा दियो । हिन्दूहरूको अर्को महत्त्वपूर्ण चाड तिहार र तराईबासीको महत्त्वपूर्ण चाड छठ र नेवारी समुदायमा महत्त्वपूर्ण म्हपूजा र नयाँ नेपाल सम्वत पनि आउँदै छ । यी चाडपर्व जसको जे परे पनि सबैले मनाउने र सद्भावको अन्योन्याश्रित शृंखलाको रूपमा परिभाषित हँुदै गएको छ । यी सबै चाडपर्व साझा बन्दै गएपछि नेपालीहरू चाडपर्वका धनी र धेरै बिदाका भोगी बन्दै गएका छन् । जो काम र विकासका लागि प्रतिकूल भएको छ । हिन्दूत्वमा आधारित रहे पनि बडादसैँ सबै धर्मसम्प्रदायमा लोकप्रिय छ । सबै जात र बर्गले यसलाई विभिन्न स्वरूपमा मनाउने प्रचलन बढदै गएको छ । कतिपय जनजाति नेताहरूको दसैँविरोधी अभियान र धर्मनिरपेक्ष घोषणा भएको परिवेशका बाबजुद पनि बडादसैँप्रति आम नागरिकको लगाव र प्रभाव सघन बन्दै गएको छ । यद्यपि, बडादसैँलगायत चाडपर्वका आधार, मनाउने शैली र प्रतिफल निरपेक्ष रूपमा सही भन्न सकिन्न । यसले लिने समय र व्ययभार गर्हुंगो छ । जो समाजको चेतनास्तर र दृष्टिकोणमा आधारित हुने गर्छ । धर्मलाई अफिमको नशाका रूपमा चित्रण गर्दै चिनियाँ सांस्कृतिक क्रान्तिलाई आफ्नो आदर्श मान्दै बडादसैँ र टीका बहिष्कार अभियान चलाउने माओवादी नेता कार्यकर्ताले पनि बडादसैँलाई बढो अभिरुचिपूर्वक मनाए । सामाजिक तथा सांस्कृतिक रूपान्तरण राजनीतिक जति सहज र सरल छैन भन्ने कुरा माओवादीले बल्ल बुझ्दै छन् । चाडपर्वहरू धर्मसंस्कृतिको जगेर्नाको आधार र एकताको सूत्र बन्न सक्छन् । राजनीतिक परिवर्तन एवं संस्थागत विकासका सहयोगी हुन सक्छन् तर कहिल्यै र कुनै पनि शर्तमा निर्णायक हुन सक्तैन ।
संस्कृतिलाई राजनीतिसँग पूर्ण निरपेक्ष बुझ्नु वा ज्यादा जोडनु दुवै वस्तुवादी हुन्नन् । सबैले बडादसैँमा शुभकामना आदानप्रदान गरे । राष्ट्रप्रमुख डा. रामवरण यादव, प्रधानमन्त्री डा.बाबुराम भट्टराई, प्रमुख राजनीतिक दलहरू क्रमश: एमाओवादी, नेपाली कांग्रेस र एमालेका प्रमुखहरू क्रमश: पुष्पकमल दाहाल प्रचण्ड, सुशील कोइराला, झलनाथ खनाललगायत अन्य दल र नेताहरूले बडादसैँको शुभकामनासँग राजनीतिक मेलमिलाप, अग्रसरता र निकासको अनिवार्यता विगतभैँm जोडे । पूर्वराजा ज्ञानेन्द्र शाहले पनि त्यस्तै प्रकारका शुभकामना दिए । राष्ट्रपति र पूर्वराजादेखि प्रभावशाली नेताहरूकहाँ टीका लगाउनेको भिड पनि त्यतिकै थियो । प्रमुख राजनीतिक दलले बडादसैँको अवसरमा राष्ट्रियरूपमा भव्य र खुला चियापान र शुभकामना गर्ने गरेका छन् । नेपाली कांग्रेसले मंगलबार गरेको थियो भने एमालेले बुधबार गर्दैछ । एमाओवादीको दृष्टिकोण र ब्यवहारमा देखिएको विरोधाभाषका कारण कहिले गर्छ कहिले गर्दैन । यसपटक के गर्छ पंक्तिकारको जानकारीमा छैन ? तिनै राजनीतिक दलहरू र संघसंस्थाहरूले पनि स्थानीय रूपमा यस्ता कार्यक्रमहरू गर्दछन् । राष्ट्रिय तहका ती कार्यक्रमहरूमा राजनीतिक, कूटनीतिक र विभिन्न हिसाबले उत्साहजनक र सहभागितामूलक हुने गर्दछन् । मुलुकलाई अहिले नै सहमति, निर्णय र निकास दिने हिसाबले बोल्दछन् । मिडिया र चर्चाका हिसाबले महत्त्वपूर्ण हुने गर्दछन् । तर, कार्यान्वयन र परिणामका हिसाबले फेरि पनि ती शून्यनजिक हुने गर्दछन् । यस्ता क्रियाकलाप र प्रतिबद्धता राजनीतिक रूपमा ‘ती त भन्ने कुरा न हो’ भन्ने कथनमा सीमित हुने गरेको छ ।
राजनीतिक एवं आर्थिक समृद्धिको हिसाबले नेपाली समाजले न्याय पाउन सकेको छैन । यसको प्रमुख कारण सत्तामा रहनेहरूको सामन्ती र भ्रष्ट चरित्र हो । आधुनिक नेपालको मुख्य चार कालखण्डहरू राणाकालीन, राजाकालीन, प्रजातन्त्रकालीन र गणतन्त्रकालीन समग्रमा अभिशप्त रहे । राज्यको स्वरूप भन्दा पनि कर्ताहरू इमान्दार हुनुपर्ने रहेछ । राजनीतिको सकारात्मक वा नकारात्मक प्रभाव जे रहे पनि सामाजिक अभियान र सांस्कृतिक अवयव आफ्नै हिसाबले अघि बढनु स्वभाविक छ । हो, बडादसैँ पनि बिगत भैँm त्यही रूपले बित्यो । नेपाली जनताको झण्डै सात दशक लामो र विशेषत: ०६२/६३ को ऐतिहासिक शान्तिपूर्ण विद्रोहको संघर्ष र बलिदानको प्रतिरूपको रूपमा रहेको संविधानसभा पूर्वनिर्धारित दुई वर्षमा अर्को दुई वर्ष थप्दा पनि आफ्नो परिभाषित जिम्मेवारी पूरा नगरि १४ जेठ मध्यरातमा अवसान गराइएको पाँच महिना बित्न लाग्दा पनि निकास ननिस्किएपछि बडादसैँ राजनीतिक रूपले सुखद हुन सकेन । बडादसैँ सामाजिक, शान्ति र अमनचैनका हिसाबले ठिकै रहे पनि आर्थिक रूपले प्रतिकूल वातावरणका कारण बजार महँगी र गुणस्तरीयताका हिसाबले पनि अनुकूल देखिएन । प्रमुख राजनीतिक दलहरू र शीर्षस्थ नेतृत्व नै आफ्नो जिम्मेवारीप्रति इमान्दार र कर्तव्यनिष्ठ नभएको कारण यतिखेर मुलुक गम्भीर संकटको डिलमा अलमलिएको यात्री बनेको छ ।
व्यवस्थापिका संसद्समेतको जिम्मेवारी सम्हालिरहेको संविधानसभालाई निकम्मा बनाउने र अन्तत: समाप्त पार्ने दलहरूको रवैयाको कारण यतिखेर सरकार लगामबिहीन बनेको छ । सत्तारुढ एमाओवादीमा सत्ताको उन्माद छ र सत्ता कव्जा गर्ने अनि आफ्नो वशमा अनकन्टक रूपमा राखिरहने चाहनाले निरन्तरता पाएको छ । व्यवस्थापिका संसद् नरहेको र तत्काल सडक आन्दोलन उठन नसक्ने तथा मुलुकलाई निकास दिने स्पष्ट कार्यदिशा नभएको कारण नेपाली कांग्रेस र एमालेलगायतका दलहरू माओवादी र सरकारसामु लाचार बनेका छन् । सम्वैधानिक संकुचन, परिस्थितिको सम्वेदनशीलता र समन्वयकारी अनि सन्तुलित भूमिका निर्वाह गर्न चाहने राष्ट्रपतिको स्वभावको कारण एमाओवादी अहिले सबैलाई अझै लतारेर अघि बढने दाउमा रहेको छ । राजनीतिक दल र नेताहरूले धेरै चोटि भाका फेरे अनि वाचा तोडे । सहमतिका आधारमा १४ जेठमा संविधानसभाको आयु लम्व्याउन सकिन्थ्यो । सरकार र शक्तिमा रहेको समयमा सबै चिज खाली गरेर आफूलाई टिकाई राख्ने र निर्वाचन गर्नैपरे आफ्नै नेतृत्वमा आफ्नो अनुकूल बनाएर दुईतिहाई ल्याउने धृष्टताका साथ आफूलाई संविधानसभाको जननी मान्ने पार्टी एमाओवादी र प्रधानमन्त्री भट्टराई नै त्यसको हत्यारा बने ।
व्यवस्थापिका संसद् नभएको र प्रधानमन्त्री सभासद् वा सांसद् नरहेको कारण वर्तमान सरकार स्वत: कामचलाउमा परिणत भएको अवस्थामा एकमात्र निर्वाचित निकायको रूपमा राष्ट्रपति रहेका छन् । यद्यपि, उनको उपस्थितिमाथि विभिन्न कोणबाट अनर्गल प्रश्नहरू तेस्र्याउने काम भएको छ । उनको अवधि पनि संविधानसभासँग जोडने र नेपाली कांग्रेस पार्टीविशेषसँग जोडने काम भएको छ । राष्ट्रपति सबैको साझा र उनको अवधि संविधान जारी नभएसम्मका लागि व्यवस्था गरिएको छ । संविधानको संरक्षक र बाधा अडकाउ फुकाउने विशेषाधिकारसमेत प्राप्त भएको कारण राष्ट्रपतिले मुलुकको आवश्यकता र आम नागरिकको भावना बमोजिम हस्तक्षेपकारी भूमिकाको आवश्यकता महसुस भइरहेको छ । जेठ १४ पछि दलहरूबीच टकराव र गतिरोध बढ्यो । प्रमुख राजनीतिक दलहरूबीच सहमतिबिना निकास निस्कन नसक्ने अवस्था रहेको कारण आम नागरिकले उनीहरूबीच एकता र सहमतिको अपेक्षा गर्नु स्वभाविक थियो ।
एमाओवादीको रवैयालाई ठिक ठाउँमा ल्याउनका लागि राष्ट्रपति र प्रतिपक्षी दलहरूको हस्तक्षेपकारी भूमिका जरुरी छ । मुलुकले निकासबिहिनताको स्थिति अब धान्न सक्दैन । नेपाली जनताले धेरै प्रतीक्षा गरे र दलहरूलाई पटकपटक क्षमा पनि गरेका छन् । अब प्रतिक्षा र क्षमाको घडी सकिन लागेको छ । त्याग, सदभाव र सहकार्यको संस्कृतिलाई सम्मान गर्दै ठोस सहमतिका साथ मुलुकलाई निकास दिउँm । त्यसो हुन सके बडादसैँलगायत चाडपर्वको शुभकामना र अपेक्षा सार्थक हुन सक्छ । यसैमा सबैको कल्याण निहित छ । समयमै चेतना भया †
प्रतिक्रिया