तिहारअघि सहमति हुने राष्ट्रपतिको विश्वास

भक्तपुर, १४ कात्तिक । राष्ट्रपति डा. रामवरण यादवले तिहारअगाडि नै राजनीतिक दलबीच सहमति हुने र निकास निस्कने बताएका छन् । उनले सबै दलबीच सहमतिबाट मात्र निकास निस्कनुपर्ने चाहना राखेको बताउँदै सहमतिको विकल्प नभएको बताए ।

बडादसैँको अन्तिम दिन कोजाग्रत पूर्णिमाको अवसरमा राष्ट्रपति डा. यादव भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा सरिक भई नवदुर्गा भवानीको पूजा अर्चना गरेर टीका प्रसाद ग्रहणपछि फर्कने क्रममा सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै दलहरूबीच सहमतिका लागि पहल भएको र तिहार अगाडि नै सहमति हुनेमा आफू विश्वस्त रहेको बताए ।
उनले नवदुर्गाका देवगणसँग जात्रा सञ्चालनबारेमा जानकारी लिएका थिए । राष्ट्रपतिले १७ नवदुर्गा देवगणलाई एक सय २५ रुपियाँका दरले दक्षिणा दिएका थिए । नवदुर्गा देवगण कृष्णप्रसाद वनमालाले विगतमा २५ रुपियाँ दक्षिणा दिँदै आएकामा यस वर्ष दक्षिणा रकम बढाएको बताए ।
दक्षिणाप्रति असन्तुष्टि व्यक्त गर्दै देवगणले नवदुर्गा जात्रा सञ्चालनमा आर्थिक संकट परेकाले जात्रा सञ्चालनमा राज्यले सहयोग गर्न राष्ट्रपतिलाई आग्रह गरेका थिए । राष्ट्रपतिले यसबारेमा मन्त्रालयसँग कुरा गर्ने आश्वासन दिएको वनमालाले बताए । नवदुर्गा मन्दिरमा राष्ट्रपति डा. यादवलाई तलेजुका मूल नाइके नरेन्द्रप्रसाद जोशीले परम्पराअनुसार तलेजु भवानीको प्रसाद प्रदान गरेका थिए । राष्ट्रप्रमुखका हैसियतले राष्ट्रपति सोमबार अपरान्ह ४ बजेर ५ मिनेटमा नवदुर्गा मन्दिर आइपुगेका थिए भने ४ बजेर २० मिनेटमा फर्किएका थिए ।

प्रतिक्रिया