एमाओवादी नेताका सम्पत्ति सार्वजनिक भएन

काठमाडौं, ४  कात्तिक । एमाओवादी केन्द्रीय नेताको सम्पत्ति शुक्रबार सार्वजनिक गर्ने भनिए पनि तयारी नपुगेको भन्दै सार्वजनिक हुन सकेन । ‘केन्द्रीय सम्पत्ति एवं आर्थिक स्थितिको उच्चस्तरीय छानबिन आयोग’ले एमाओवादीका केन्द्रीय नेताको सम्पत्ति शुक्रबार सार्वजनिक गर्ने बताएको थियो । आयोगका संयोजक अमिक शेरचनले अधिकांश नेता राजधानीबाहिर रहेका र आफूहरू पनि स्थलगत निरीक्षणका लागि राजधानीबाहिर रहेकाले शुक्रबार प्रतिवेदन सार्वजनिक गर्न नभ्याइएको जानकारी दिए ।
गत साउनमा काठमाडौंमा सम्पन्न एमाओवादीको सातौँ विस्तारित बैठकमा कार्यकर्ताको चर्को आलोचनापछि नेता अमिक शेरचनको संयोजकत्वमा नेता लोकेन्द्र विष्ट र नवराज सुवेदी सदस्य रहेको केन्द्रीय सम्पत्ति एवं आर्थिक स्थितिको उच्चस्तरीय छानबिन आयोग गठन भएको थियो । ११ साउनदेखि काम सुरु गरेको आयोगले सार्वजनिक रूपमा उजुरी माग्ने र नेतालाई सम्पत्ति विवरण फाराम भराउने काम गराइसकेको छ । आयोगमा ६५ उजुरी परेका थिए । आयोगले सम्पत्ति छानबिनको काम सकाएर प्रतिवेदन लेखनको काम पनि अन्तिम चरणमा पुर्‍याएको बताएको छ । केही प्राविधिक काम मात्रै बाँकी रहेकाले दसैँलगत्तै प्रतिवेदन सार्वजनिक हुने संयोजक शेरचनले जानकारी दिए ।

प्रतिक्रिया