दसैँले सडकपेटीमा मौसमी व्यापार

काठमाडौ, ३ कात्तिक । दसैँ सुरुवातसँगै मौसमी व्यापारका लागि काँठ तथा सीमावर्ती जिल्लाबाट राजधानी झर्ने व्यक्तिका कारण काठमाडौंका साँघुरा सडकमा चाप बढेको छ । राजधानीको फुटपाथ मौसमी व्यापारीले भरिएको छ ।
विशेषगरी खासाबाट रेडिमेड कपडा ल्याएर बेच्ने त्यस्ता मौसमी व्यापारीका कारण रत्नपार्क, सुन्धारा, न्युरोड, असन तथा पुरानो बसपार्क क्षेत्र अस्तव्यस्त छन् । दसैँ आगमनको सूचक मौसमी सडक व्यापारले गर्दा ट्राफिक व्यवस्थासमेत प्रभावित भएको छ ।
मौसमी व्यापारबाट हुने फाइदाबाट रमाइलोसँग दसैँ मनाउन राजधानी छिरेका पनौतीका अनिल तामाङ बताउँछन् । ‘सिलाइको दाममा सर्ट’ भन्दै रत्नपार्कमा उनी सामान बिक्री गर्छन् । ‘राम्रै फाइदा हुन्छ, कम्तीमा दसैँ त राम्ररी टर्छ,’ कराउँदा कराउँदै उनले भने । उनीजस्ता थुप्रै युवा राजधानी छिरेर फुटपाथमा जमेका छन, जो दसैँको समयमा १०/१५ दिन व्यापार गरेर ४०/५० हजार रुपियाँ कमाउँछन् । मौसमी व्यापार कपडाले मात्र धानेको छैन, गाउँमा वर्षभरि सगालेको घ्यू, महदेखि हाँस, कुखुरा तथा दैनिक उपभोग्य वस्तु र क्यामेरा, टेप रेकर्डरसमेत अहिले फुटपाथमा पाइन्छन् ।
फुटपाथबाहेक सानातिना खाली ठाउँमा अस्थायी प्रकृतिका मेला सञ्चालन गर्ने चलन समेत बढ्दो छ । भृकुटीमण्डपस्थित एक्जिबिसन हलमा लाइफस्टाइल एक्सपो केही दिनअघि मात्रै सकिएको छ । यो मेला दसैँलाई नै लक्षित गरिएको उपभोक्तामुखी मेला हो । केही उपभोक्ताको भने यस्ता मेलाले डबल मूल्य राखेर छुटको आडम्बर देखाउने गरेको गुनासो छ । दसैँ बजार पर्खेर सस्तो मूल्यमा सामान किन्ने बानी परेका उपभोक्ता यस मामलामा ठगिन्छन् पनि । तर, सडक व्यापार र यस्ता अस्थायी मेला फस्टाएकै छन् । मध्यम वर्गका उपभोक्ताको यही बानीका कारण आकर्षक सोकेसयुक्त सपिङ कम्प्लेक्सका पसलेसमेत सडकमा ओर्लिन बाध्य छन् ।
पशुपति प्लाजास्थित एक पसलले त थप १० जना बिक्रेता नियुक्त गरी राजधानीका विभिन्न चोकमा सडकस्टल राखेका छन् । यो काम अरू सपिङ कम्प्लेक्सका पसलले पनि गरेका छन् । दसैँजस्ता चाडपर्वमा देखापर्ने मौसमी व्यापारीले आम उपभोक्तालाई सस्तो मूल्यमा सामान उपलब्ध गराएका मात्र छैनन्, ठूला पसलको व्यापारलाई समेत प्रभावित पारेका छन् ।
दसैँका अधिकांश उपभोक्ता ग्रामीण क्षेत्रबाट झरेका हुन् र उनीहरू स्तरीय पसलमा महँगो हुने विश्वासका कारण ठूला सपिङ कम्प्लेक्स र डिपार्टमेन्ट स्टोरमा छिर्दैनन् । छिरिहाले भने पनि किन्दैनन् । मौसमी व्यापारीको उत्साहले विशाल बजार, पशुपति प्लाजा, काठमाडांै मल जस्ता व्यापारिक केन्द्रसमेत प्रभावित भएको व्यापारी बताउँछन् ।
यो वर्ष काठमाडौं महानगरपालिकाले फुटपाथ व्यापारमा कडाइ गरेको छ । फुटपाथ व्यापारले ट्राफिक तथा मानिसको आवतजावतमा प्रभावित हुने भन्दै खुलामञ्चमा व्यापार गर्न छुट दिएको छ । अरूबेला राजनीतिक दलका सभासम्मेलनले भरिभराउ हुने राजधानीको खुलामञ्च अहिले व्यापारी र उपभोक्ताले खचाखच भएको छ । महानगरपालिकाले फुटपाथको सट्टा खुलामञ्चमा व्यापार गर्न व्यापारीलाई निर्देशन दिइसकेको छ ।

प्रतिक्रिया