पूजामा विवादपछि झडप

वीरगन्ज , ३  कात्तिक । बारा धर्मनगरमा दुर्गापूजामा सहभागिताको विषयलाई लिएर दलित र गैरदलित समुदायबीच झडप भएको छ ।
झडपमा दुवैतर्फका १० घाइते भएका छन् । धर्मनगर–१ मा आयोजित दुर्गापूजास्थलमा बस्ने विषयमा विवाद हुँदा झडप भएको हो । झडपमा धर्मनगर–१ का सुखल हजार, मनोज पासवान, गीता देवी, रमा पासवान र रीना पासवान घाइते भएका छन् । यस्तै, धर्मनगर–६ का किसुनदेव केशरी, रतीश केशरी, सुरेश केशरी, पन्नालाल केशरी र अनिष्ट केशरी पनि घाइते भएका छन् । गम्भीर घाइते मनोज पासवानको वीरगन्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ । अन्य कलैयास्थित जिल्ला अस्पतालमा उपचारपछि घर फर्किएको इन्स्पेक्टर रामनाथ घिमिरेले बताए ।
दुर्गापूजाको तेस्रो दिन बिहीबार पूर्वभौतिक योजना तथा निर्माण राज्यमन्त्री कलावती पासवान चप्पलसहित पूजास्थलमा प्रवेश गरेपछि विवाद भएर झडप भएको हो । पूर्वसहायकमन्त्री पासवान चप्पल लगाएर पूजास्थलमा प्रवेश गरेपछि गैरदलित समुदायका व्यक्तिले पूजास्थलमा रहेको दलितको कलश फुटाइदिएका थिए । दलितको कलश फुटाइदिएपछि त्यही विषयलाई लिएर दुवै पक्षबीच कुटाकुट भएको हो । धर्मनगरमा रहेका २ सय घरधुरीमध्ये दलित समुदायका ७० घर छन् ।

प्रतिक्रिया