संरक्षण अभावमा कोतगढी कुरुप बन्दै

दैलेख, ३० असोज । दैलेख जिल्लाको आन्तरिक पर्यटकहरुका लागि निकै महत्व राख्ने ऐतिहाँसिक कोतगढी संरक्षण अभावमा संकटमा परेको छ ।
पाण्डवहरुको पालामा निर्माण गरिएको गढीको संरक्षण गर्न सम्वन्धित निकायहरुबाट पहल नभए पछि त्यसको पुरातात्वयिक महत्व पनि संकटमा परेको हो । हाल कोतगढी स्थानीयको चर्पिघरमा परिणत भएको छ ।
बाईसे–चौवीसे राजा र महाराजाका समयमा लडाईका लागि सुरक्षित सो गढी कलात्मक ढुङ्गा मार्फत निर्माण गरिएको छ । गढीबाट सदरमुकाम सजिलै अवलोकन गर्न सकिन्छ ।
जिल्लाको गहनाको रुपमा रहेको सो ऐतिहाँसिक कोटगढी नेपाली सेनाको नाममा छ । स्थानीयहरुले समेत संरक्षणमा ध्यान नदिँदा नारायण नगरपालिका समेत मुख दर्शक बनेर बसेको आरोप छ । सेना पनि त्यसको संरक्षणमा उदाशिन रहेको स्थानीयको भनाई छ ।
आन्तरिक पर्यटकहरुका लागि महत्व राख्ने कोतगढी संरक्षणका लागि अहिले सम्म कुनै निकायबाट सहयोग भएको छैन ।
तीनसय वीस मिटर लम्बाईमा रहेको गढी वरपर फोहोर मात्र रहे पछि गढीको सौन्दर्यता दिनप्रतिदिन खस्कदै गएको छ ।
स्थानीयले सो गढीले जिल्लालाई चिनाउने प्रमुख गहनाका रुपमा लिए पनि संरक्षणमा ध्यान दिएका छैनन् ।
दैलेखमा रहेको नेपालकै पहिलो भाषालिपी, ऐतिहाँसिक पञ्चदेवल, शिरिस्थान, नाभिस्थान, पादुका, धुलेश्वरलगाएतका थुप्रै ऐतिहाँसिक धरोहरहरु संरक्षणको अभावमा ओझेलमा पर्दै गएका छन् ।

प्रतिक्रिया