जुनियर उसु टोलीलाई आर्थिक सहयोग

काठमाडौ : मकाउमा भएको चौथो विश्व जुनियर उसु प्रतियोगितामा सहभागी नेपाली टोलीलाई त्यहाँ विभिन्न क्षेत्रमा कार्यरत नेपालीहरूले आर्थिक सहयोग प्रदान गरेका छन् ।
उक्त टोलीलाई फारस प्यालेस क्यासिनो, होटल ल्यान्डमार्क, भेनेसन क्यासिनो, ग्रान्ड लिस्बोआ होटल, ग्रान्ड इम्पेरर क्यासिनो र जेलगार्डमा कार्यरत नेपालीले आर्थिक सहयोग उपलब्ध गराएका हुन् ।ग्यालेक्सी वाल्को क्यासिनो, स्टार वल्र्ड क्यासिनो, होटल फोरटुना र सेन्ड्स कोटार्कमा कार्यरत नेपाली कर्मचारी तथा मकाउ एनआरएन एसोसिसिएसनका पदाधिकारीले पनि उनीहरूलाई आर्थिक सहयोग गरे । सबैबाट संकलित एकमुष्ट ३ लाख २० हजार रुपियाँ नेपाली टोलीलाई प्रदान गरिएको प्रतियोगितामा प्रशिक्षकको भूमिका निर्वाह गरेका युवराज गुरुङले जानकारी गराए । उक्त रकममध्ये आधा प्रतियोगिताका दौरान घाइते भएकी चाहना बोमजन लामालाई प्रदान गरिएको प्रशिक्षक गुरुङले बताए । त्यस्तै बाँकी रकम प्रशिक्षकका साथै प्रतियोगितामा चौथो भएका खेलाडीद्वय रिन्जी शेर्पा तथा विशाल थापा सिञ्जालीलाई दामासाहीरूपमा प्रदान गरिएको बताइएको छ । प्रतियोगितामा चाहनाले कांस्यपदक जितेकी थिइन् । विश्व जुनियर उसुमा नेपालले जितेको उक्त पदक पहिलो हो । प्रतियोगिता १७ देखि २५ सेप्टेम्बरसम्म भएको थियो । (सौस)

प्रतिक्रिया