आसन्न बडादसैँ र राजनीतिक चक्रव्यूह

नेपालीको महान चाड बडादसँै आमनेपालीको घरदैलोमा आइपुगेको छ । आज घटस्थापना, पन्ध्र दिने बडादसँैको काउनडाउन सुरु भएको छ । हिन्दू धर्म र संस्कृतिमा सबैभन्दा ठूलो चाडको रूपमा रहेको बडादसँैलाई सत्यको विजय र न्यायको प्रतीकको रूपमा लिईन्छ । बडादसैँ हिन्दू धर्म र अध्यात्मवादमा आधारित भएर पनि नेपाली समाजमा बस्ने सबै धर्म र आस्था राख्ने नागरिकबीच लोकप्रिय छ । परिवारजन् र आफन्तजन्हरूबीच भेटघाट र आत्मियता विनिमय एवं सम्बन्धलाई अझ सुदृढ बनाउन यो चाड महत्त्वपूर्ण अवसर बन्ने गरेको छ । सत्य, सहकार्य र सहयात्राको सन्देशवाहकको रूपमा यो चाडको आगमनले नेपालीजनमा नयाँ उमंग ल्याउनु स्वभाविक छ । वर्षदिनसम्म काम र अवसरको खोजीमा परिवार र आ–आफ्नो जीविकामा घरबाहिर व्यस्त रहेकाहरू घर फर्कने, भेटघाट र सुखदु:खका वार्तालाप अनि सुस्वास्थ्य र उत्तरोत्तर प्रगतिको कामना गर्ने अवसर हो, बडादसैँ । मीठो खाने, नयाँ लाउने, घुमघाम गर्ने र आफन्तका पुग्ने सबै उमेर समूह र सबै समुदायका नेपालीको रहर माध्यम पनि बन्ने गरेको छ, बडादसैँ । ऋण गरेरै भए पनि दसँैको लागि आवश्यक जोहो मिलाउँछन सबैले । आफूले मान्नुपर्ने आफन्तजनका पुग्ने र टिका आशिर्वाद थाप्ने मौलिक विशेषता बडादसैँसँग रहेको छ ।
बडादसैँको दिनगन्तीसँगै बजारमा व्यापक चहलपहल बढ्दै जान्छ । सरकारी कर्मचारीलाई एक महिनाको तलब र अधिकांश निजी क्षेत्रका कर्मचारीलाई दसैँ मान्नका लागि थप तलब, बोनस र अन्य प्रकारका सुबिधाहरूको व्यवस्था हुन्छ । दसँैका लागि सरसामान जुटाउने उद्देश्यकासाथ आमनेपालीको बजार प्रवेशले अर्थतन्त्रमा नयाँ अवसर र चुनौतिहरू सिर्जना गर्छ । दसँैमा बजार कारोवार नियमितभन्दा कयौँ गुणा बढ्ने गर्छ । माछा मासु, मिठाई, गेडागुडी, दूग्धजन्य बस्तुहरू, फलफूल, लत्ता–कपडा, गरगहना, घरायसी र सुबिधाका सामानको खरिद बिक्री अघि पछिको भन्दा अत्यधिक हुने गर्छ । कतिपयले दसैँमा प्राप्त सुबिधाले स्थायी प्रकृति वा सुबिधा वा विलासिताका सामान जोड्ने योजना बनाएका हुन्छन् । दसैँका लागि भनेर कैयौँ उत्पादक र वितरकले उत्पादन र वितरणमा नयाँ स्किम प्रस्तुत गरेका हुन्छन् । व्यवसायीका लागि दसैँ आर्थिक उपार्जनको एक महत्त्वपूर्ण समय भएकाले व्यापार बृद्धिका लागि अनेकौँ उपाय अपनाइएको हुन्छ । दसँै मान्नका लागि कर्मचारी वा कामदारलाई सरकार वा रोजगारदाताले केही सहुलियत दिए पनि त्यसको तुलनामा बजारभाउ निकै बढेको हुन्छ । त्यस्ता व्यक्तिहरूलाई थोरै आर्थिक राहत उपलब्ध गराए पनि बेरोजगार वा अर्धबेरोजगार रहेका अधिकांश नेपालीका लागि यो चाड अवसरभन्दा पनि बढी चुनौति बन्ने गर्छ । सके पनि नसके पनि देखासेखी गर्नुपर्ने अनुचित प्रतिस्पर्धाका कारण ऋण गरेरै भए पनि चाड मनाउन तयार हुन्छन् । त्यसैले त उखानै छ नि, आयो दसँै ढोल बजाई, गयो दसैँ ऋण बोकाई । वास्तवमा यो उखान अधिकांश नेपालीमा लागू हुन्छ ।
बडादसैं मनाउनुका पछाडि सकारात्मक तथा नकारात्मक पाटा दुवै रहेका छन् । यसलाई कतिले सामन्ती संस्कारको निरन्तरता र धनीले मनाउने पर्वको रूपमा लिन्छन् । त्यसमा केही सत्यता रहे पनि यसलाई प्रगतिशील ढंगले मनाउने कुरामा जोड दिनसके यसबाट व्यक्ति र समाजलाई निश्चय पनि लाभ पुग्छ । बडादसैँलाई केवल सामन्ती र धार्मिक शोषणको प्रतिरूप देख्ने वामपन्थीहरू पनि यी पर्वहरूलाई सकारात्मक रूपमा लिन र मनाउन बाध्य छन् । धर्म र समाजका अगाडि कसैको वाद र आस्था गौण बन्दो रहेछ । यद्यपि, चाडपर्व मनाउने सवाललाई वस्तुवादी ढंगले विश्लेषण र परिमार्जनको आवश्यकतालाई अस्वीकार गर्न सकिँदैन । त्यसैले, चाड मनाउने नाममा गरिने प्रतिकूल प्रयत्नहरूको नियन्त्रण जरुरी छ । चाडपर्वको समयमा फजुल खर्च र गरिष्ठ भोजनले मानिसको धन र स्वास्थ्य दुवैमा प्रतिकूलता थप्छ । त्यसैगरी दसैँमा टिकापछिको दक्षिणाको जोहो, प्रतिस्पर्धा र आकांक्षाले पनि विकृत रूप लिइरहेको छ । बडासैँंलाई पारिवारिक र सामाजिक मिलनको रूपमा परिभाषित गरेर परिवारको सुखद भविष्य कसरी सुनिश्चित गर्ने र सामाजिक रूपमा बाहिरबाट आउने र गाउँमा बस्नेहरूबीच पुनर्मिलनजस्ता कार्यक्रमको आयोजनाबाट विचार र अनुभवको आदान प्रदानसँगै त्यसलाई सामाजिक विकासमा जोडन सकियो भने त्यसले समाजलाई फाइदा पुर्‍याउँछ ।
मुलुकको राष्ट्रिय तथा स्थानीय राजनीतिले चाडपर्व मनाउने कुरालाई प्रत्यक्ष प्रभावित पार्छ नै । राजनीतिले बजार र अर्थतन्त्रलाई पनि प्रत्यक्ष प्रभाव पार्ने भएकाले मुलुकको विद्यमान राजनीतिक अवस्थाले चाडपर्व मनाउने तयारीमा रहेका नेपालीलाई खासै आकर्षित गर्न सकेको छैन । आकासिँदो बजार मूल्य, कृत्रिम अभाव र गुणस्तरहिन बस्तुको आपूर्तिले ग्राहकहरू चर्को मारमा छन् । सरकारले आम उपभोक्तालाई सुपथ र सुलभ ढंगबाट बस्तु उपलब्ध गराउने भने पनि व्यवहारमा खासै कार्यान्वयन हुन सकेको छैन । राजनीतिक हिसाबले फेरि पनि बडादसैँ खासै उल्लासमय बन्ने देखिन्न । नेपालीले अघिल्लो वर्ष पनि आगामी बडादसैँ शान्ति, संविधान र सुशासनसहित मनाउने अपेक्षा गरेका थिए । तर, यसपटक पनि निराशाका साथ चाडपर्व मान्नुपर्ने अवस्था छ । नेपाली जनताको झण्डै सात दशकको बलिदानीपुर्ण संघर्षको परिणामस्वरूप बनेको निर्वाचित संविधानसभा आफ्नो जिम्मेवारी पूरा नगरी गत जेठ १४ गते अवसान भएको छ । दुई वर्षभित्र शान्तिप्रक्रिया, संविधान निर्माण र राज्यको सार्थक पुन:संरचनाको जिम्मेवारी पूरा गरी राष्ट्रिय समृद्धि अभियानयात्रालाई दृढतापूर्वक अघि बढाउनुपर्ने कार्यभार मुलुकका राजनीतिक दलहरूको खिचातानीका कारण अलमलिएको मात्रै होइन, ऐतिहासिक उपलव्धिहरू गुम्ने र मुलुक नै असफल हुने खतरा छ ।
मुलुकका वर्तमान कार्यभार पूरा गर्न सक्ने स्थिति नभए एक मिनेट पनि सत्तामा नबस्ने घोषणासँगै सत्तासीन भएका प्रधानमन्त्री डा. बाबुराम भट्टराई आफू इतिहासकै असफल र गैरजिम्मेवार प्रधानमन्त्री बन्न पुगेका छन् । संविधानसभा र गणतन्त्रको जननी ठान्ने सत्तारुढ एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल, प्रधानमन्त्री भट्टराईले संविधानसभाको विघटनमात्रै गरेनन् कि यतिबेला एक्लै हिड्ने र सर्वसत्तावाद लाद्ने एमाओवादीको दुस्प्रयासका कारण गणतन्त्र नै संकटमा परेको छ । आफूले घोषणा गरेको मंसिर ७ को निर्वाचन हुने स्थिति नभएपछि भट्टराईले सरकार छाडेर मार्गप्रशस्त गर्नुपथ्र्यो । मुलुक संकटमा फसिरहेको छ तर उनी कहिले जुम्ला त कहिले महोत्तरी गर्दै गाउँबेसी चहारिहेका छन् । राष्ट्रपति डा. रामवरण यादवले राष्ट्रिय सहमति गरी मुलुकलाई निकास दिन लामो समयदेखि गर्नु भएको प्रयत्न र सम्भवत: उनले लिन खोजेको निकासको प्रयत्नलाई तोडमरोड गर्दै एक मर्यादित संस्थालाई बदनामि गर्ने प्रयत्नमा सत्तारुढ दल देखिएको छ । नेपाली कांग्रेस र नेकपा (एमाले) पनि स्पष्ट कार्यदिशाका साथ एमाओवादीका गलत कामलाई रोक्न र राष्ट्रिय सहमति निर्माणका साथ अघि बढ्न सकिरहेका छैनन् ।
राजनीतिक व्यवस्थापन नभएसम्म समाजको कुनै पनि क्षेत्र व्यवस्थित हुन सक्दँैन । इतिहासकै चुनौतिपूर्ण कार्यभार पूरा गर्नुपर्ने जिम्मेवारी र दायित्वबाट दलहरू उम्किन खोजिरहेका छन् । आफ्नो जिम्मेवारीप्रति गम्भीर नभएसम्म मुलुकसामु विद्यमान संकट समाधान गर्न सम्भव छैन भन्ने हेक्कासम्म हाम्रा राजनीतिक दलहरूमा छैन । त्यसैले राजनीतिक नेतृत्व आपसी असमझदारी, अभिमान र कुण्ठा त्यागेर नयाँ राजनीतिक निकासका लागि हदैसम्म लचिलो हुनु जरुरी छ । राष्ट्रिय सहमतिका आधारमा सरकार, संविधान निर्माणको क्रममा निर्विवाद तयार भएका विषयवस्तुको संग्रहण, सहमतिको आधारमा नयाँ निर्वाचनमार्फत राज्यको सार्थक पुन:संरचना एवं सुस्पष्ट भावी राजनीतिक, सामाजिक एवं आर्थिक कार्यदिशा तय गर्नु अहिलेको आवश्यकता हो । आशा गराँै, मुलुकको परिवर्तनलाई सही दिशा दिन र संस्थागत गर्नका लागि सबैको सकारात्मक प्रयासलाई व्यवस्थित गर्न दलहरूमा सदबुद्धि पलाउने नै छ । अझँै पनि समय छ विजयादशमीअघि विश्वासको वातावरण निर्माण गरी नयाँ सहमति कायम हुनेछ । बडादसैँले हामी सबैको जीवनमा सुख, शान्ति र प्रगति प्रदान गर्न सकोस् । आर्थिक, सामाजिक रूपान्तरणसहितको नयाँ र समृद्ध संविधान निर्माणसहित मुलुकको भविष्य सुनिश्चित गर्न मार्गप्रशस्त गर्न सकोस् ।

प्रतिक्रिया