क्रिकेट खेलाडीको सम्मान कि अपमान ?

काठमाडौं, ३० असोज । एसिसी ट्रफी एलिटकपको विजेता बनेर देशको गौरव बढाएका खेलाडीहरूलाई नेपाल क्रिकेट संघ (क्यान) ले दिएको सम्मान अपमानमा बदलिएको छ । सोमबार विजेता खेलाडीहरूलाई गरिएको नगरपरिक्रमाको समापन यति भद्रगोल भयो कि क्यान र राष्ट्रिय खेलकुद परिषद् आरोप–प्रत्यारोपको अवस्थामा पुगे ।

क्यानले सोमबार काठमाडौंमा नगरपरिक्रमा गराउने कार्यक्रम थियो । नक्सालस्थित होटल क्राउन प्लाजाबाट गाडीमा राखेर डुलाइँदा खेलाडीहरू निकै उत्साहित थिए । तर, कार्यक्रम समापनस्थल त्रिपुरेश्वरस्थित राखेप परिसर पुगेपछि उनीहरूको उत्साह दिक्दारीमा बदलियो ।
बाजागाजासहित विजेता खेलाडीलाई गाडीमा राखी अबिरमाला लगाएर राखेपसम्म पुर्‍याइएको थियो । राखेपमा गरिने समापन कार्यक्रममा राखेप र क्यानका पदाधिकारीसँगै क्रिकेट खेलाडीहरूले पनि मन्तव्य दिने भनिएको थियो । दर्जनौँको संख्यामा क्रिकेटफ्यानहरू खेलाडीहरूको तस्बिरअंकित ब्यानरसहित राखेपमा पुगेका थिए तर कार्यक्रमस्थलमा आयोजकका तर्फबाट कुनै ब्यानर राखिएको थिएन । बोल्नका लागि माइकधरी थिएन । खासमा त्यहाँ कुनै तयारी नै गरिएको रहेनछ ।
राखेप परिसरमा राखिएका १०–१२ कुर्सी खेलाडीलाई अपुग भए । केही खेलाडी एउटै कुर्सीमा खप्टेरसमेत बसेका थिए । अरू पदाधिकारी तथा समर्थकहरूलाई बस्ने कुनै व्यवस्था थिएन । कार्यक्रम अस्तव्यस्त भएपछि फ्यानहरू आक्रोशमा आउन थाले । यता, क्यान र राखेपका पदाधिकारी एकअर्कालाई आरोप–प्रत्यारोप गर्ने स्थितिमा पुगे ।
समापन कार्यक्रम सुरु नहँुदै फ्यानहरूबाट चर्को होहल्ला र नाराबाजी सुरु भयो । कार्यक्रममा क्यानका अध्यक्ष टंक आङबुहाङ र महासचिव अशोकनाथ प्याकुरेल दुवै अनुपस्थित थिए । राखेप सदस्य–सचिव युवराज लामाको पनि उपस्थिति रहेन । खेलकुदका उच्च कर्मचारी कोही पनि त्यहाँ देखिएनन् ।
राखेप प्रशासन प्रमुख मदनजंग राणाले क्यानले कार्यक्रम आयोजना गरेको बताउँदै आफूहरूलाई औपचारिक कार्यक्रमको तयारी गर्न कुनै अनुरोध नभएको जिकिर गरे  । ‘स्वागत गरिदिनुहोला भन्ने व्यहोराको पत्र आइतबार साँझ प्राप्त भएको थियो, त्यत्ति हो,’ उनले सौर्यसँग भने । राणाका अनुसार पत्रमा लेखिएको थियो, ‘हामी सोमबार विजेता खेलाडीलाई नगरपरिक्रमा गराउँदै छौँ । त्यहाँ आएर समापन हुन्छ । सहयोग गरिदिनुहोला ।’
यता, क्यान सदस्य किरण राणाले कार्यक्रम आपँैmले आयोजना गरे पनि राखेपलाई जानकारी गराएको बताए । ‘हामीले सहयोगका लागि पत्राचार गरेका थियौँ । हाम्रा महासचिवले राखेप सदस्य–सचिवसँग कुरा गरेर उहाँले नै नगरपरिक्रमा समापनमा बोल्ने कार्यक्रम तय गर्नुभएको थियो ।’ राखेप सदस्य–सचिव लामाले भने आफूलाई उक्त कार्यक्रमबारे कुनै जानकारी नगराइएको दाबी गरे । ‘कार्यक्रम कसले आयोजना गरेको हो, किन आयोजना गरिएको हो, मलाई केही जानकारी थिएन,’ सोमबार साँझ पोखराबाट काठमाडौं फर्किएका लामाले भने ।
राखेप कोषाध्यक्ष इन्द्रबहादुर थिङले आफूलाई कार्यक्रम सुरु हुनुभन्दा १५ मिनेटअघि मात्र जानकारी गराइएको बताए । ‘१५ मिनेटअघि मात्र एक्कासि मलाई क्यानबाट हामी आउँदै छौँ भन्ने जानकारी आयो,’ कार्यक्रम आयोजनाबारे अनभिज्ञता प्रकट गर्दै थिङले भने, ‘त्यसपछि हत्त न पत्त सकेजति तयारी गर्‍यौँ ।’

‘सम्मान’ कार्यक्रमका झलक
– कार्यक्रमस्थलमा एउटा ब्यानर पनि थिएन,
– थियो माइक्रोफोन
– क्रिकेट टोलीका सदस्यभन्दा कुर्सी थोरै, खेलाडी एउटै कुर्सीमा खप्टिएरसमेत बसेका थिए
– अतिथि तथा दर्शकलाई बस्ने व्यवस्था कतै थिएन
– कार्यक्रम भद्रगोल भएको भन्दै समर्थकको नाराबाजी,
राखेप र क्यानबीचमै आरोप प्रत्यारोप
– कप्तान खड्काले भने, यो तरिका ठीक भएन
क्यान सदस्य राणाले भने पत्राचार गरेको र महासचिवले सदस्य–सचिव लामासँग कुराकानी गरेका कारण आफूहरू अन्तिम समयसम्म ढुक्क भएर बसेको बताए । ‘सबै कुरा मिलाइएको बताएपछि हामीले फलोअप गरेनौँ तर अन्तिम समयमा हामीले एकजना सदस्यलाई पठाउँदा त्यहाँ त कुनै सुरसारै नभएको थाहा पायौँ ।’ तर, यो ठूलो विषय नभएको पूर्वखेलाडीसमेत रहेका राणाको भनाइ थियो ।
नगरपरिक्रमा समापनका लागि खेलाडीलाई राखेपको निर्माणाधीन कभर्डहलमा लगेर राखिएको थियो, जहाँ एक दर्जनजति कुर्सी र एउटा टेबलबाहेक केही थिएन । समापनस्थलमा यस्तो स्थिति देखेलगत्तै नक्सालबाट खेलाडीलाई हाइहाइ गर्दै आएका दर्जनौँ समर्थक आक्रोशित बने । उनीहरूले राखेप र क्यानविरुद्ध नाराबाजी गर्दै खेलाडीलाई उपेक्षा गरिएको टिप्पणी गरे । बोल्नका लागि माइकसमेत नदेखेपछि समर्थकले नाराबाजी गर्दा करिब आधा घन्टा उक्त कार्यक्रम विथोलिन पुग्यो । यसबीचमा राखेप कर्मचारी र सीमित संख्यामा उपस्थित क्यान पदाधिकारी निकै हतास देखिएका थिए ।
‘इज्जत र बेइज्जतभन्दा पनि यो तरिकाको कुरा हो । यो तरिका भएन । हामी सम्मान ठानेर यहाँसम्म आइपुग्यौँ तर यहाँ यस्तो हँुदा पक्कै पनि नराम्रो लागिरहेको छ,’ नेपाली राष्ट्रिय क्रिकेट टोली कप्तान पारस खड्काले भने । उनले आयोजकले न्यूनतमस्तरको पनि कार्यक्रम आयोजना गर्न नसकेकोतर्फ इंगित गर्दै भने, ‘यो भन्दा निकै राम्रोसँग कार्यक्रम गर्न सकिन्थ्यो ।’ खेलाडीलाई साथ दिन आएका अर्का पूर्वराष्ट्रिय खेलाडी दीपेन्द्र चौधरीले खेलाडी सम्मानमा आँच पुगेको बताउँदै राखेपको कमजोरी औँल्याए । व्यवस्थापनको विरोध भएपछि राखेप कर्मचारी आवश्यक सामान जुटाउन लाग्दा क्रिकेट समर्थकले आफूहरूले नै क्रिकेट टोलीको सम्मान गर्ने बताएका थिए । होहल्लापछि करिब आधा घन्टाको अन्तरालमा राखेपले हयान्डमाइक खोजेर ल्याएको थियो ।

“भिजिलान्तेले होहल्ला गरेछन्”
नगरपरिक्रमा कार्यक्रमको समापन व्यवस्थापन कमजोर देखेपछि आक्रोशित बनेका क्रिकेट समर्थकले राखेप परिसरमा नाराबाजी गर्दै दुवै निकायका पदाधिकारीको राजीनामासमेत माग गरेका थिए । खेलाडीहरूमाथि बेइमानी भएको भन्दै उनीहरूले त्यहाँ उपस्थित राखेप बोर्ड पदाधिकारी तथा कर्मचारी र क्यानका पदाधिकारीलाई निकै आच्छुआच्छु पारेका थिए । यता, राखेप सदस्य–सचिव युवराज लामाले नगरपरिक्रमाको नाममा राजनीति भएको आरोप लगाए । ‘दिउँसो आएर भिजिलान्ते समूहले दुव्र्यवहार गरेछन्,’ समर्थकलाई उद्धृत गर्दै लामाले सौर्यसँग भने ।

प्रतिक्रिया