चितवनका चेपाङद्वारा उत्पादित वस्तुले बजार पाएन

चितवन, २९ असोज । चितवनको पहाडी गाविसमा चेपाङले उत्पादन गरेका वस्तुले बजार पाउन सकेको छैन । उत्पादित कृषिजन्य वस्तुको उचित मूल्य नपाएको भन्दै स्थानीय चेपाङले गुनासो पोखेका छन् । यहाँका आठवटा पहाडी गाविसमध्ये अधिकांशमा सुख्खा खालको कृषिजन्य वस्तुको उत्पादन हुने गर्छ ।
चितवनको पहाडी भेगका किसानले सुन्तला, अदुवा, मास, बेसार, पिँडालु, काँक्रो, अम्रिसो, च्युरी, महलगायत वस्तुको उत्पादन हुने गर्छ । तर, उत्पादन लागतसमेत नपाउने गरी बिचौलियाले सामान लिइरहेका कारण किसान सधैँ मारमा परेको दुखेसो चेपाङको छ । बजारविना कृषिजन्य वस्तुको उत्पादन गरेर मात्र केही नहुने सिद्धि र शक्तिखोर गाविसका अगुवा चेपाङ कृषकले बताए । शक्तिखोरको मिलनबजारमा फरवार्ड नेपाल र एचबिडिटीको संयुक्त आयोजनामा सामुदायिक व्यापारीकरण सम्बन्धी योजना तर्जुमा कार्यक्रममा सहभागी किसानले पनि आक्रोश पोखेका छन् । सो कार्यक्रममा सहभागीले सडक अभावका कारण त्यस क्षेत्रमा उत्पादन भएका कृषिजन्य वस्तु बोकेर बजारसम्म पुर्‍याउँदा कैयन दिन लाग्ने स्थानीय अगुवा सोमबहादुर चेपाङले बताए । निकै महँगो हुने भएको र त्यसमा पनि ब्चिौीलयाको चलखेल तीव्र भएका कारण त्यही क्षेत्रमा नै संकलन केन्द्र वा सहकारीको स्थापना भए सहज हुने उनको भनाइ थियो ।
चितवनको पहाडी भेगमा डेढ लाखको हाराहारीमा मानिस बसोबास गर्दै आएका छन् । अधिकांश चेपाङ र अन्य जनजातिको बाहुल्य रहेको क्षेत्रमा अधिकांश परिवारलाई ६ महिनामात्रै त्यहाँको उत्पादनले खान पुग्छ । केही उत्पादित कृषिजन्य वस्तुको समेत उचित मूल्य नपाएपछि उनीहरूको बिचल्ली हुने गरेको छ । सो भेगमा सरकारी तथा आधादर्जन बढी गैरसरकारी संस्था भए पनि ती संस्थाले उत्पादित वस्तुको बजारीकरणमा ध्यान दिएका छैनन् ।
बेरोजगार युवामा लगानी गर्ने

चितवन : युवा तथा स्वरोजगार कोषका उपाध्यक्ष डा. पुण्यप्रसाद रेग्मीले छिट्टै कोषले सहकारीमार्फत बेरोजगार युवाका लागि लगानी गर्ने बताएका छन् ।
देशका सबै जिल्लामा पहँुच पुगेका कृषि विकास बैंक तथा राष्ट्रिय वाणिज्य बैंकसँग कोषले सम्झौता गरेअनुसारको रकम लगानी गर्न नसकेकाले अब देशमा रहेका उत्कृष्ट सहकारी संस्थामार्फत बेरोजगार युवाका लागि लगानी गर्ने बताए । चितवन बचत तथा ऋण सहकारी संस्था भरतपुरको १५औँ वार्षिक साधारणसभा उद्घाटनको अवसरमा सहकारीको विवरण आफूहरूलाई प्राप्त भइसकेको र तिनै विवरणलाई आधार मानेर कोषले उत्कृष्ट सहकारीको माध्यमबाट लगानी गर्ने योजना बनाएको बताए । बैंकभन्दा सहकारीमार्फत गरिएको लगानी सुनिश्चत हुने बताएका रेग्मीले सहकारीले वास्तविक बेरोजगारीलाई समेटेर व्यावसायिक बनाउने विश्वास व्यक्त गरे ।
पछिल्लो समयमा सरकारमार्फत कोषले लगानी गर्न लगेको पैसा तिर्नु नपर्नेजस्ता हल्ला निराधार भएको पनि बताए । उनले सो पैसा आमनागरिकको जम्मा भएकाले कुनै पनि हालतमा दुरुपयोग नहुने दाबीसमेत गरे । सो अवसरमा संस्थामा आबद्ध सेयर सदस्यका छोराछोरीमध्येबाट संस्थागत र सामुदायिक विद्यालयलतर्फ गत वर्षको एसएलसी परीक्षामा उत्कृष्ट तीनजनालाई सम्मान गरिएको थियो । सम्मानित हुनेमा रुशा अधिकारी, निश्चल अर्याल, सुस्मिता काफ्ले छन् । त्यसैगरी, सेयर सदस्यको परिवारबाट पिएचडी गर्ने डा. शिशिर गौतम र डा. फणिन्द्र देवकोटालाई पनि सम्मान गरिएको छ । (सौस)

प्रतिक्रिया