कलाकार राष्ट्रका गहना: देउवा

काठमाडौं, २८ असोज । नेपाल कलाकार संघले आइतबार एक दर्जन कलाकर्मीलाई सम्मानित तथा पुरस्कृत गरेको छ । संघले ११औँ वार्षिक साधारणसभाका अवसरमा आयोजना गरेको कार्यक्रममा पूर्वप्रम शेरबहादुर देउवाले कलाकर्मीलाई सम्मान तथा पुरस्कार प्रदान गरे ।

अभिनेता रवीन्द्र खड्का नेपाल चलचित्र कलाकार संघ पुरस्कार ०६८ र अभिनेत्री शर्मिला मल्ललाई नेपाल चलचित्र कलाकार संघ पुरस्कार ०६९ प्रदान गरिएको थियो । यो पुरस्कारको राशि ५१ हजार एक सय रुपियाँ छ । त्यसै गरी पन्ध्र हजार १ रुपियाँ राशिको नेपाल चलचित्र कलाकार संघ शान्ती मास्के पुरस्कार ०६८ बाट कलाकार रुन्द्रराज पाण्डे र ०६९ बाट मदनदास श्रेष्ठ पुरस्कृत भए ।
वरिष्ठ संगीतकार सम्भुजित बास्कोटा र निर्माता उद्धब पौडेल नेपाल चलचित्र कलाकार संघ चलचित्रकर्मी विशेष सम्मान ०६९ बाट सम्मानित हुँदा चरित्र अभिनेता लय संग्रौलालाई नेपाल चलचित्र कलाकार संघ सेवा सम्मान, पत्रकारहरू दयाराम पाण्डे , यम चौलागार्इं र राजन घिमिरेलाई नेपाल चलचित्र कलाकार संघ पत्रकारिता सम्मान ०६९ प्रदान गरियो । जेसिआई सिनेटर महेश दाहाललाई नेपाल चलचित्र कलाकार संघ विशेष सम्मान ०६९ बाट सम्मानित गरिएको थियो ।
पूर्वप्रम देउवाले कलाकारहरू राष्ट्रका गहना भएकाले सबै क्षेत्रबाट सम्मान हुनुपर्ने उल्लेख गर्दै महाधिबेशनबाट कलाकारहरूको हकहितका खातीर काम गर्न सक्ने नेतृत्व कलाकार संघमा ल्याउन सुझाब दिए । संघलाई सरकारले उपलब्ध गराएको जमिन उपयोग नभई फिर्ता भएको स्मरण गराउँदै त्यसका लागि सक्दो सहयोग गर्न आफू तयार रहेको उनले बताए ।
नेपाल चलचित्र निर्देशक समाजका अध्यक्ष बिमल पौडेलले कलाकार विशेष कार्यक्रममा देखाउने र अघिपछि थन्क्याउने गहना जस्तो भएको टिप्पणी गर्दै कलाकारलाई राष्ट्रको अभिन्न अंग भन्नुपर्नेमा जोड दिए । नेपाल निर्माता संघका अध्यक्ष राजकुमार राईले कलाकारको हकहितमा काम गर्न सक्ने नेतृत्व ल्याउन आग्रह गरे । ‘राजनीतिका कारण कलाकारहरू विभिन्न वर्गमा बाँडिन थालेकाले कलाकार संघको आगामी नेतृत्वले उनीहरूलाई एक पार्न सकोस्’, उनले शुभकामना व्यक्त गरे ।
प्राबिधिक संघका अध्यक्ष मनोज केसी , नेपाल चलचित्र संघका महासचिव प्रदिपकुमार उदय, द्वन्द्व कलाकार संघका अध्यक्ष योगेन्द्र श्रेष्ठलगायतले कलाकारहरू फुटेर होइन जुटेर अगाडि बढ्नुपर्ने धारण राखे ।
अभिनेत्री निशा अधिकारीद्वारा सञ्चालित कार्यक्रममा निर्माता संघका उपाध्यक्ष आकास अधिकारी, अभिनेता शिब श्रेष्ठ , बरिष्ठ कलाकार हरिहर शर्मा ,अभिनेत्री सुमिना घिमिरे, श्रृजना बस्नेत, तेजुला खतिवडा, निर्माता–नायक रोज राणा, शिव गिरीलगायत उपस्थित थिए । नेपाल प्रज्ञाप्रतिष्ठानको हलमा सम्मानको कार्यक्रम चलिरहँदा संघका विभिन्न पदका प्रत्याशीहरू प्रतिष्ठानबाहिर चुनावी माहोल तताउँदै भोट माग्नमा व्यस्त देखिन्थे ।

प्रतिक्रिया