आफ्नै इतिहास मेट्दैछ कांग्रेस

नेपाली कांग्रेसका नेताहरू बेलाबेलामा भन्ने गर्छन्, ‘कांग्रेसले राणा शासनविरुद्ध आन्दोलन गरेको हो । ००७ सालमा प्रजातन्त्र ल्याएको हो । प्रजातन्त्रका लागि कांग्रेसले के गरेको छैन ?’ पुराना कार्यकर्ताले यसो भन्दा ताली पिटे पनि पछिल्लो पिँढीका कार्यकर्ता भने कांग्रेसले कस्तो प्रजातन्त्रका लागि लडेको होला भनेर मज्जाले हाँस्न थालेका छन् । बिपीले समाजवादको नारा ल्याएर कांग्रेसको राजनीति गरे । त्यसैको व्याज पुराना नेताले आजसम्म खाँदै छन् । अबका पिँढीले कांग्रेसको त्यही नीतिको व्याज खान पाउने अवस्था छैन । नीतिगत रूपमा अहिले कांग्रेस कुहिरोको काग बनेको छ । कांग्रेसको नीति के हो भनेर सोधिहाले समाजवाद भन्न पछि पर्दैनन् तर समाजवाद कुन चराको नाम हो भन्ने स्वयं कार्यकर्तालाई नै थाहा छैन । नीति र सिद्धान्त केही नभएको हुँदा कांग्रेसमा अन्योल छ । क्षणिक लाभमा रमाउने कार्यकर्तालाई यो अवस्था उर्जाशील बनेको छ तर साँचो र यथार्थ पीडा मुलुकले भोगिरहेको छ ।
सहमति बिना मुलुकले निकास पाउँदैन र सहमतिको अर्को कुनै विकल्प पनि छैन भन्ने गरिन्छ । यो साँचो हो तर दलहरूका बीच सहमति हुनुभन्दा पहिले पार्टीहरू मै रहेको बेमेल र मान्छेपिच्छेका अभिव्यक्तिलाई हटाएर पार्टीगत रूपमा एउटै धारणा आउनु पर्‍यो । कुनै बेला माओवादीको ललिपपमा परेर एमाले आन्तरिक कलहको मारमा परेको थियो । जब एमालेले माओवादीको सक्कली अनुहार देख्यो त्यसपछि यो रोगबाट क्रमश: मुक्त हँुदै आएको छ भने कांग्रेसलाई अहिले त्यही रोगले छोएको छ । सत्ता पक्षले सरकार चलाउँछ । सरकारमा बस्नेले गलत मनसायले शासन चलाए त्यसलाई सचेत गराउँदै गलत काम गर्नबाट रोक्ने काम प्रतिपक्षीको हो । अहिले प्रमुख प्रतिपक्षीका रूपमा रहेको कांग्रेसले सरकारका गलत कामको दह्रो रूपमा प्रतिवाद गर्न सकेको छैन । कांग्रेस यतिबेला आफ्नो विचार र नीतिले जनताको मन जितेर सरकारको नेतृत्व गर्नुपर्ने बेलामा माओवादीले सरकारको नेतृत्व देला र प्रधानमन्त्री बनुँला भन्ने भुलभुलैयामा परेको छ । माओवादी निरंकुश र सर्वसत्तावादी दृष्टिकोणका साथ अगाडि बढेको छ । कांग्रेसका नेता माओवादीले सरकारको नेतृत्व देला भनेर पछि–पछि लागेका छन् । संसद पुन:स्थापना हुनुपर्छ भन्नेहरूको बाटो यही नै हो ।
प्रजातन्त्रमा विश्वास गर्ने, कांग्रेस पार्टीमा आस्था राख्ने कार्यकर्ताले नेता मिलेर जाउन भन्ने चाहना राखेका छन् । पार्टी एउटै भए पनि, सँगै मञ्चमा बसे पनि नेतैपिच्छेका फरक विचार र एकले अर्कोलाई गर्ने घोचपेचले कार्यकर्तालाई निरास बनाएको छ । टीकापुरमा भएको कार्यक्रममा आयोजकले तीन नेतालाई एउटै माला लगाइदिए । पार्टीगत रूपमा तीनै नेताको एउटै धारणा आओस् भन्ने कामना गरे र भने ‘जसरी धेरै फूल उनेर एउटा माला बनाएका छाँै तपाईं तीनतिर फर्केका नेताहरू पनि यही माला जस्तै एउटै नीति र सिद्धान्तमा उनीनु होस ।’ तर, कार्यकर्ताले चाहेको जस्तो काम किन गर्थे र ? उनीहरू एक आपसमा लडेका छन् । तिनीहरूले जनता, कार्यकर्ता र नेता सबैले पाउनु पर्ने जे छ त्यो सबै कांग्रेसभित्रै छ जस्तो गरेका छन् । शासन अर्काले गरेको छ । शासन चलाउनेले हिटलरी शैली अपनाएको छ । देशलाई दिनप्रतिदिन युद्धको भुमरीतर्फ लाँदैछ । कांग्रेसको ध्यान यता होइन नेबिसंघ, महिला संघलगायतका भ्रातृसंघमा आफ्ना पक्षका दुइटा सदस्य कसरी बढी बनाउने भन्नेतिर गएको छ । आफूलाई युवा नेता बताउने युवापुस्ताका नेता र कार्यकर्ता तीनै नेताको किनाराको साक्षी बनेका छन् । कांग्रेसभित्रका तरुण, विद्यार्थी, महिला आदि भ्रातृ संगठनका सदस्य बन्न लुछाचुँडी गर्दै छन् । त्यो के का लागि ? सरकारले यति निरंकुश शैलीमा शासन चलाउँदा खोई बिरोध गरेको ? खोई आन्दोलनका कार्यक्रम ल्याएर सडकमा आएको ? सबै नेता प्रधानमन्त्री, मन्त्री हुने लोभलालचमा परेका छन् । यही कारण कांग्रेसमा अहिले आगो लागेको छ । कांग्रेसका तरुण र युवा नेताहरू त्यही आगो तापेर रमाउँदै भ्रातृसंघको एउटा सदस्य बन्नका लागि नेताका गलत कामको साक्षी बनेका छन् । देश संगीन अवस्थामा पुगेका बेला पनि आँखा चिम्लिएर रमाएका छन् ।
संविधानसभा विघटनपछि अन्तरिम संविधान नै लंगडो भएको छ । संविधानका कतिपय धाराहरू औचित्यहिन भएका छन् । राजनीतिक अस्थिरतासँगै दिनप्रतिदिन संवैधानिक संकट जटील हुँदै गइरहेको छ । एघार वटा मन्त्रालय सचिव विहिन छन् । कतिपय ठाउँमा कामु दिएर काम चलाइएको अवस्था छ । भ्रष्टाचारको छानबिन गर्ने अख्तियार दुरुपयोग अनुसन्धान आयोग पदाधिकारी बिहीन भएको छ । एमाले समर्थित युवा संघले प्रचण्ड, बाबुराम र कृष्णबहादुर महराविरुद्ध हालेको भ्रष्टाचारसम्बन्धी उजुरी डस्टबिनमा हालेसरह भएको छ । निर्वाचन आयोग पनि केही दिनमै पदाधिकारीविहिन हँुदैछ । सर्वोच्च अदालतमा पनि सात स्थायी न्यायाधीश रहेकामा छिट्टै धेरैले अवकास पाउँदै छन् । उता, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसंस्थाबाट मानवअधिकार उल्लंघन गरेको आरोपमा कारवाही गर्नुपर्ने माग उठिरहेका बेला तिनै पदाधिकारीलाई पुरस्कृत र बढुवा गरिँदैछ । सरकार यसरी चारैतिर राज्य संयन्त्रका अंगलाई पदाधिकारीविहिन बनाउँदै संवैधानिक संकट गराई हिटलरी शैलीमा शासन गर्ने सोचका साथ अगाडि बढेको छ । कांग्रेस कार्यकर्ता नेताले गरेका गलत कामको सर्मथन गरेकै कारण भ्रातृ संगठनको सदस्य हुन पाएकोमा खुसी छन् । नेता पनि दुइटा सदस्य थप्न पाएकोमा विजयी भएको अनुभूति गर्दै छन् । माओवादीले गरेका गलत कामका बारेमा पार्टीमा बहस गर्नुभन्दा त्यसलाई टुलुटुलु हेर्दै एक आपसमा लडाइँ गर्दै छन् ।
असोज २ गते चार ठूला दलबीच छलफल हुँदा संविधानसभा पुन:स्थापनाभन्दा नयाँ निर्वाचनमा जाने सहमति भइसकेको हो । तर, माओवादीले सहमति नजिक पुगेको भन्दा एक कदम पछाडि फर्किएर फेरी संविधानसभा पुन:स्थापनालाई अगाडि सारेको छ । उसले सहमति हुने विषयभन्दा सहमति हुन नसक्ने विषयलाई उचालेर मुलुकलाई अस्थिरतातर्फ लैजान चाहेको छ । माओवादीले राष्ट्रपतिलाई समेत बेबकुफ बनाउँदै छ । राष्ट्रपतिले बोलाएका हरेक सर्वदलीय बैठकमा छिट्टै सहमति गर्छौ भनेर आउँछ तर सहमतिका लागि कुनै पहल गर्दैन । राजनीतिक दलहरूबीच सहमति जुटाउने प्रयास गर्नुभन्दा युरोपको कार्यकर्ता भेलालाई सम्बोधन गर्नुलाई महत्त्व ठान्छ । त्यही पार्टीले अघि सारेको संविधानसभाको पुन:स्थापनाको विषयमा कांग्रेस पार्टीका नेता अल्मलिएका छन् । माओवादीले दलहरूलाई गलत काम गर्न सिकाउँदै छ । यसको सिको कांग्रेसका देउवा गुटले गर्दै छ । नयाँ निर्वाचनमा जाने भन्ने पार्टी निर्णयलाई लत्याउँदै माओवादीले देखाएको प्रधानमन्त्रीको ललिपपमा परी मरिसकेको संविधानसभा ब्यँुताउन यो गुट लागेको छ । एकातिर सुशीलभन्दा फरक दृष्टिकोण राखे जस्तो हुने अर्कोतर्फ माआवादीको सपोर्ट गरे सुशीलसँग लड्न पनि सजिलो हुने । हिजो बिपीले समाजवादको नारा दिएर नेतृत्व गरेका थिए तर अहिले नीति छैन । व्यक्तिगत हिसावले कसको पछि लाग्दा पद पाउन सकिन्छ त्यसैको पछि लागेको छ । माओवादीले कांग्रेसलाई बिरालोले मुसा खेलाउँदा झैँ खेलाएको छ । ००७ सालमा प्रजातन्त्रका लागि लडेको कांग्रेस, इतिहासमा कहिल्यै नपरेको संकट मुलुकमा अहिले आइपरेका बेला एक आपसमा लडेर प्रजातन्त्र समाप्त पार्न सजिलो बनाउँदै छ । प्रजातन्त्र ल्याउन कांग्रेसले के गरेन भन्ने इतिहास आफँै मेटाउँदै छ ।

प्रतिक्रिया