जनवादी कविहरू ‘झुर’ कविता लेख्छन्

विक्रमको पचासको दशकदेखि नै कविका रूपमा अभिरुचिका साथ पढिएका विनोदविक्रम केसी आवेगसहितको कलात्मक कविता लेख्छन् । उनको कविता पढेपछि पाठक अचानक चेतनाको अर्को धरातलमा अवतरित हुन्छ । धेरै समकालीनलाई उछिनेर कवितामा कलात्मक र रचनात्मक सम्भावनाको खोज गर्ने यी कवि काँठबाट लौरो टेक्दै महानगर आएर साहित्यको विस्तृत आकाशमा हस्तक्षेप गर्छन् । जीवनको सरोकार खोज्ने कविताको परम्परामा विनोदविक्रमका कविता महत्वपूर्ण प्राप्ति हुन् । ‘भोकको क्षेत्रफल’ केसीको पहिलो कवितासंग्रह हो । पत्रकार कृष्णज्वाला देवकोटाको भाषामा भन्ने हो भने ‘विनोदविक्रमका कविता समाजका ती मैला मान्छेप्रति समर्पित छन्, जसलाई इतिहासले, राजनीतिले, भूगोलले र व्यवस्थाले सधैँ ठग्दै आएको छ ।’ उनका बारे योभन्दा बढी भन्नु आवश्यक छैन, उनका कविता काफी छन्, आफ्नो समयको काव्यात्मक प्रश्नको खोज गर्न । ‘माक्र्सवादको आलोकमा म जीवन र संसारलाई हेर्न र बुझ्न खोज्छु’ भन्ने यी माक्र्सवादी कविसँग कलम वार्ता–

पहिलो कवितासंग्रह ‘भोकको क्षेत्रफल’को बजार रेस्पोन्स कस्तो छ ?
ठीकै छ, राम्रै छ, उत्साहित पार्ने खालकै छ । मेरा कविताका पारखी र शुभचिन्तक गद्गद् छन् । म पनि गद्गद् छु । तपाईंले बिक्रीका दृष्टिले सोध्नुभएको हो भने मेरो कवितासंग्रहलाई बजारले ‘कोल्ड रेस्पोन्स’ गरेको छैन । उसो त यो ‘हट केक’ पनि भएको छैन ।
तपाईं पत्रकार पनि हुनुहुन्छ । पत्रकारहरूले आफ्नो किताब हिट बनाउन भएभरका प्रचार अस्त्र चलाउने गरेका छन् । मिडियामा भएका साथी र सरसंगतलाई भरपूर प्रयोग गर्ने गरेका छन् । तपाईंको पनि त यस्तै योजना होला नि ?
म पर्याप्त ‘स्पटलाइट’मा छु । म त्यस्तो योजना बनाउन पनि जान्दिनँ, आवश्यक पनि ठान्दिनँ । अर्काे कुरा, म ठूलो कवि या लेखक बन्ने महत्त्वाकांक्षा भएको मान्छे पनि होइन । त्यसैले मलाई कुनै प्रचारअस्त्र चलाउनु छैन । ‘बजारमा मेरो किताब आएको छ है’ भन्ने जनाउसम्म दिने योजनाचाहिँ छ, इफ यू डन्ट माइन्ड †
तपाईंको कविता पढ्नेहरूले तपाईं माक्र्सवादको शास्त्रीय धारालाई पछ्याउनुहुन्छ भन्छन् नि ।
यहाँ शास्त्रीय भन्नाले ‘रुढ’ भन्न खोज्नुभएको हो भने मेरो आपत्ति छ । माक्र्सवादलाई तथाकथित सौन्दर्य चिन्तकहरूले यति जटिल र ‘मोनोटनस’ बनाइदिए कि यति सरल दर्शन अबोधगम्य हुनपुग्यो । म माक्र्सवादी हुँ । किन माक्र्सवादी भएको ? किनभने मैले निधो गर्नु थियो । निधो गर्नु थियो कि न्यायको पक्षमा उभिने कि नउभिने ? संसारभरिका दु:खी र शोषित मान्छेका पक्षमा बोल्ने कि नबोल्ने, लेख्ने कि नलेख्ने ? मैले निधो गरेँ– उभिने, बोल्ने र लेख्ने । त्यसैले म माक्र्सवादी भएँ । मेरा कविताका प्रस्तावना, आधार जे भने पनि माक्र्सवाद हो । माक्र्सवादको आलोकमा म जीवन र संसारलाई हेर्न र बुझ्न खोज्छु । पछयाउनु भनेको यही हो भने, हो म माक्र्सवाद पछयाउँछु ।
तपाईंको कवितामा राजनीतिको चर्को गन्ध आउँछ नि ।
हो, आउँछ । किनभने म कवितामार्फत राजनीति गर्छु । तपाईं मलाई यस मानेमा राजनीतिकर्मी पनि भन्न सक्नुहुन्छ । म आफूलाई प्रचण्ड, झलनाथ या शेरबहादुरभन्दा सानो राजनीतिकर्मी ठान्दिनँ । यति भनिसकेपछि मेरो कवितामा राजनीतिको चर्काे गन्ध त आउने नै भयो । तर, यो गन्धले पाठकलाई ‘रिपेल’ गर्दैन भन्नेमा म विश्वस्त छु । फेरि मैले कुनै नेतामाथि कर्खा लेखेको छैन, कुनै नेताको गाथा लेखेको छैन ।
सुन्दर प्रेम–कविता प्रेम सफल भएपछि लेखिन्छ कि असफल भएपछि ?
सफल/असफल जे भए पनि लेख्न सक्नेले सुन्दर लेख्छ । प्रेम नै नगरेकाले पनि सुन्दर प्रेम कविता लेख्न सक्छन् । भावना बेग्लै कुरा हो, अनुभव बेग्लै कुरा हो । त्यसमाथि भावना या अनुभवलाई अभिव्यक्त गर्ने शिल्प झन् बेग्लै कुरा हो ।
तपाईंका प्रेम–कवितामा पनि माक्र्सवाद घुसाइएको हुन्छ । प्रेममा पनि राजनीतिक लेप किन ?
अरे यार, प्रेम सबैभन्दा सुन्दर राजनीति हो । राजनीतिका सबै पक्ष, आयाम, सिद्धान्त प्रेममा जति प्रस्ट अरू केमा आउलान् ? फेरि जीवन पद्धति (म जीवनशैलीको कुरा गरिरहेको छैन) मै माक्र्सवाद घुसिसकेपछि प्रेम–कवितामा माक्र्सवाद घुस्नु के अनौठो भयो त ? राजनीति भनेको दल, मन्त्रालय, सिंहदरबार, नेता, मन्त्री मात्रै होइनन् । राजनीतिको ‘भोल्युम’ यति विशाल छ कि कुनै पनि कुरा यसबाट बाहिर रहन सक्दैन ।
दसवर्षे जनयुद्ध साहित्यका लागि उर्वर थियो भनिन्छ । तर, साहित्य र विश्लेषणमा हामीले युद्धलाई सधैँ अति (भहतचझभ) मा प्रतिविम्बित गर्ने कोसिस गर्‍यौँ भन्ने लाग्दैन ?
कहाँ हामीले युद्ध र यसका अनेकानेक पक्षलाई साहित्यमा उतार्ने कोसिस गर्‍यौँ र ? हामीले कि त माओवादीबाहेक अरू सबै ठीक, कि त माओवादीबाहेक अरू सबै बेठीक भन्ने धारणा या आग्रह मात्रै स्थापित गर्न खोज्यौँ । फलस्वरूप जनयुद्धबारे एउटा पनि गतिलो किताब आएन । आओस् पनि कसरी ? छापामारसँग लेख्ने कला छैन, लेखकसँग छापामारलाई ‘फिल’ गर्ने ल्याकत छैन । जनयुद्ध (या सशस्त्र विद्रोह) जस्तो विशाल ‘मुभमेन्ट’ले न साहित्यमा प्रभाव छाड्न सक्यो, न संगीतमा सार्थक हस्तक्षेप गर्न सक्यो । फिल्म र पेन्टिङमा त झन् कुरा गर्नु नै बेकार छ । उपलब्ध जनयुद्ध साहित्य यति फितलो र स्तरहीन छ कि यसले जनयुद्धकै अपमान गरेको छ । परिवर्तनका लागि ज्यान दिएका मानिसको प्रशंसामा जनवादी कविले ‘झुरतम’ कविता लेखेका छन् ।
अहिलेको कविताको केन्द्रीय स्वर के हो ?
कविताको केन्द्रीय स्वर जहिले पनि विरोध र प्रतिकार हुन्छ । अहिले पनि त्यही हो ।
अहिले साहित्यमा उत्तरआधुनिकता व्यापक चर्चामा छ, यसबारे तपाईंको बुझाइ के छ ?
उत्तरआधुनिकता मलाई दु:खी मान्छेलाई यातना दिएर दु:खको निवारण गर्न खोज्ने विचारजस्तो लाग्छ । दिग्भ्रमित मान्छेलाई जटिलभन्दा जटिल ‘लेबिरिन्थ’ मा लगेर छोडिदिन्छ यसले ।
शास्त्रीयताबाट मुक्त भनिएका मोहन कोइरालाका क्लिष्ट कविता कत्तिको रुचाउनुहुन्छ ? र, तपाईंलाई मन पर्ने कवि को–को हुन् ?
म त्यति रुचाउँदिन । मलाई मन पर्ने कवि भूपि शेरचन हुन् । उनको प्रभावबाट मुक्त हुन मलाई धेरै गाह्रो भइरहेको छ । विमल निभा, श्यामल, गोविन्द वर्तमान, मीनबहादुर विष्ट, वासु शशि मेरा प्रिय कवि हुन् । कवि हुने कुनै प्रक्रिया हुन्छ भने मेरो त्यो प्रक्रियामा यी र यस्तै केही नाम समाविष्ट छन् ।
तपाईंको कविता पढ्दा आउने जीवन दृष्टिकोण स्कुलिङको कारणले जन्मेको हो कि जन्मजात प्रभाव हो ?
शतप्रतिशत स्कुलिङको कारण हो । केको जन्मजात प्रभाव हुनु ? म गँवार आमा र अनपढ सिपाहीको छोरो । विरासतमा मैले के पाउन सक्छु ? संगतले मलाई कवि बनायो । संगतले नै मलाई पत्रकार बनायो ।
तपाईंको कविताको आयु कति ?
त्यो मलाई थाहा छैन । फेरि म लेखकहरूले आत्मरतिका लागि भन्ने गरेको ‘सिर्जनाको अमरत्व’मा त्यति विश्वास गर्दिनँ । मेरो कविताको आयु तय गर्ने अधिकार मलाई छैन । सायद अरूलाई पनि छैन । तथाकथित समालोचक र समीक्षकलाई त झन् छैन । तर, मेरा कविताको केही प्रयोजन र केही अर्थ छ भन्ने मान्छु म । त्यसो त नेपाली भाषामा लेखिएको एउटा सामान्य पर्चाको पनि औचित्य हुन्छ ।
समयसँगै कविताको मूल्य घट्दै जान्छ कि बढ्दै ?
कविताको मूल्य र औचित्य घट्दै गयो भने हामी असभ्य र बर्बर हुनेछौँ । त्यसकारण पनि कविताको मूल्य समयसँगै बढ्दै जानुपर्छ ।
यो आख्यानको युग हो भनिन्छ नि ?
प्रकाशकहरूले तोकिदिएको हो यो । भोलि चुट्किला बिक्यो भने त्यो चुट्किलाको युग हुनेछ । यो आख्यानको युग हो, कविताको युग होइन भनेर तोक्ने निकाय को हो ? पाठक हो भने उसले कविताप्रति त्यतिबिघ्न मन–नपराइ देखाएजस्तो लाग्दैन । बजार आख्यान अनुकूल भएको हो या आख्यान बजार अनुकूल भएको हो, सोच्नैपर्ला ।
तपाईं कविताको मूल स्रोत केलाई मान्नुहुन्छ ?
मान्छे, उसका दु:ख र संघर्ष । म त लालीगुराँसमा पनि रगतपच्छे छापामारको अनुहार देख्छु । त्यसैले त्यो कहिलेकाहीँ मेरा निम्ति सुन्दर हुँदैन । खासमा भन्नुपर्दा मेरो कविताको मूल स्रोत मेरी आमा हुनुहुन्छ । उहाँले गरेका दु:ख र संघर्षले मलाई कवि बनाएका हुन् ।

प्रस्तुति : दीपक सापकोटा

प्रतिक्रिया