ऋषिकेशमा एक टुक्रा जीवन

अशान्त मन । त्यही मन भएको देह लिएर हानिएँ ऋषिकेशको शान्त वातावरणमा । किन पुगेँ त्यहाँ ? के खोज्दै पुगेँ ? थाहा छैन । धर्ममा उस्तो विश्वास भएको पनि होइन । धार्मिक बन्ने अभिप्रायले हिँडेको पनि होइन । कहाँ कता केले तान्यो/ठेल्यो ? अनुत्तरित छु ।
मध्यदसैँ छ । फाट्टफुट्ट नेपाली गंगाजीको किनारमा भेटिइ नै रहन्छन् ।
‘ओहो † कुन ठाउँबाट हुनुहुन्छ यहाँ ?’
आत्मीयता वर्षन्छन्, एउटा नेपालीले अर्को नेपालीलाई भेट्दा । तर, म नेपाली खोज्दै त्यहाँ पुगेको होइन । र, त्यहाँ पुगेर नेपाल मिस गरेको पनि होइन । नेपाली दाजुभाइ, दिदीबहिनीको न्यास्रो लाग्ने भए उतै नेपालमै दसैँ बिताउन पाउने मौका छँदै थियो । यसर्थ, अन्य नेपालीबाट पर्याप्त आत्मीयता पाइरहेको भए पनि मद्वारा त्यो सहज र उस्तै सघनताका साथ ग्राह्य भइरहेको थिएन । म सम्पूर्ण निरपेक्ष छु । राष्ट्रियता, आत्मीयता, माया, आदि भावलाई छिचोलेर केही पर, केही पाउन (थाहा छैन त्यो के तत्त्व हो) म यहाँ धकेलिएको/तानिएको छु ।
मन विचलित थियो । दसैँ लागेका बेला बसका टिकट पाइने सम्भाव नै थिएन । बल्लतल्ल नेपाल आयल निगमको टयांकरमा एउटा सिट मिलाएर वीरगन्जसम्मको यात्रा तय गरिसकेपछि रक्सौल पुगेर हरिद्वारको रेल चढेँ ।
हरिद्वार रै’छ गन्जागोल, भिडभाड, प्रदूषित, विरक्तलाग्दो ठाउँ । उकुसमुकुस भयो । त्यहीँ सिद्धिने हुन् कि झैँ लाग्ने ख्वाङ्ख्वाङ् खोकिरहने बूढाबूढी देख्दा आफ्नो जवानीमाथि नै शंका हुने । त्यसैले ऋषिकेशको यात्रा तय गरेँ ।
वरपर पहाडले परिवेष्ठित ऋषिकेशलाई बीचमा गंगाजीले चिरेर बगिरहेको पहिलो दृश्यले नै मलाई तानिहाल्यो । एककिसिमले मभित्रको फ्रिक्वेन्सीसँग त्यहाँको पर्यावरणको टयुनिङ मिलेको जस्तो महसुस मैले गरेँ । मान्छेको मनको अवस्था आखिर यस्तै त हो । कहाँ कुन तत्त्वले त्योसित समन्वय राखिदिन्छ पत्तै नहुने ।
रामझुला पार गरिसकेपछि दाहिनेतर्फ होटलहरू भएको साइडतिर लागेँ । गीता भवनको पछाडिपट्टि रहेको पिंक होटलमा एउटा रुम लिएर झोला बिसाएँ । जम्मा दुई सय रुपियाँ पर्ने त्यो होटल सुविधासम्पन्न नभए पनि सफा थियो । खुला थियो । नुहाइधुवाई गरिसक्दा घाम डुब्न लागिसेको थियो ।
साँझको आरती कसरी छुटाउनु ? तर, त्योभन्दा अगाडि चियाको तलतल लाग्यो । होटलवालासँग अनुरोध गर्दा किचनको व्यवस्था नभएको बताए ।
‘बाहिरै खोज्नुपर्ला,’ मनमनै यही सोच्दै निस्किएँ । पिंक होटलअगाडिको साँघुरो गल्ली पार गरिसकेपछिको अर्को गल्लीमा एउटा चियाको स्टल फेला पारेँ ।
‘चिनी कम भएको चिया है †’ चिया अर्डर गरेर नजिकैको मूढामा बसेँ ।
गल्लीमा केही काला गाई र धेरै खैरा मानिस ओहोरदोहोर गरिरहेका थिए । प्राय: खैरा पर्यटक ‘ऊँ नम: शिवाय,’ वा ‘ऊँ’ वा ‘राधेराधे’ लेखिएका टिसर्ट अनि रुद्राक्षलगायत माला लगाएर हिँडिरहेका थिए । कुनै–कुनै गोरी पर्यटक त जानी नजानी सारी लगाएर (घिसारेर भनौँ कि †) हिँडिरहेका देख्दा म आश्चर्यचकित रहेँ ।
‘चिया लिनुस् ।’
स्टलवालाले दिएको चिया सुरुप्प पारेँ । ओहो † कम चिनी हाल्नु है भनेको मोरोले उल्टो सुन्यो कि क्या हो ।
केही नभनी तीन चार सुरुप्प पारिसकेपछि त्यो नसकिकनै त्यहीँ राखेँ । अनि, गंगाजीको किनारातर्फ लागेँ ।
अस्ताउँदो सूर्य गंगाजीमा टलक्क टल्कने प्रतिविम्बको स्वरूप लिएर अवतरित भए । मलाई केही स्न्यापहरू लिने रहर भयो । दुईचार क्लिकपछि आफ्नै प्रतिविम्बलाई पनि क्यामेरामा उतार्ने रहर जागृत भयो । आफैँले आफ्नो फोटो खिच्दा मलाई संकोच लागिरहेको थियो ।
‘म खिचिदिउँm ?’ अंग्रजीमा कसैले पछाडिबाट सोध्यो ।
फर्केर हेरेँ । एउटी राम्री, गोरी प्याजी कलरको स्लिभलेस र सेतो ट्राउजर लगाएकी गोरी पर्यटक थिई ।
मख्ख पर्दै भनेँ, ‘अवश्य पनि ।’
दुईचारवटा स्न्याप हानिसकेपछि उसित परिचयात्मक संवाद भए । अमेरिकन रै’छे ऊ । सराहा भन्थी नाउँ । उसले चैँ मलाई भारतीय नै ठानेकी रहिछ । तर, मैले आफूले नेपाली भएको बताएँ । म नेपाली भएको बताइसकेपछि ऊ झन् माइती गाउँको मान्छे भेटेको चेलीझैँ खुसी देखिई । कारण– ऊ धेरै अघि नेपाल घुमिसकेकी रहिछ ।
अनि एउटा संयोग भन्नुपर्छ कि ऊ पनि ऋषिकेशमा पिंक होटलमै बसिरहेकी रहिछ । दुई दिन भएछ बसेको । मेरै कोठादेखि दुई कोठा यता ।
आरती सुरु हुने बेला भो । हामी दुवै आ–आफ्ना हिसाबले अलग्गियौँ । आरती हुने ठाउँमा भीड अलिक बढ्यो । फोटोसेसन बढ्यो । कत्ति मान्छेहरू भजन सुन्दै गर्दा आँखा चिम्लिएर ध्यानमा बसेका थिए ।
चार पाँचवटा सिँढी भएको ठाउँको एउटा भित्तोमा अढेस लागेर म पनि नियाल्न लागेँ ऋषिकेशको सन्ध्या र त्यहाँको आरतीलाई । देब्रे साइडमा गंगाजीको काखमा शिवको विशाल मूर्ति छ । भव्य माहोल छ ।
तबसम्म म आफैँलाई चिन्न सकेको थिइनँ, म आस्तिक हुँ कि नास्तिक ? आस्तिकले भगवान्प्रति राख्ने गरेको आस्था के हो ? के त्यो भक्ति नै हो ? या अन्धभक्त ? या अर्थोक नै केही ? म के हुँ ? आस्तिक ? या नास्तिक ? दु:ख पर्दा मुखबाट फुत्किन्छ, भगवान्को नाउँ । सु:खमा मलाई चाहिएको छैन भगवान् सगवान । म आफैँ अब्बल छँदै छु नि † यसर्थ मलाई अर्धआस्तिक भने हुँदो हो । या अर्धनास्तिक ।
तर, त्यो साँझ सयौँ मानिसको भिडले देखाएको आस्थाले मलाई प्रभावित बनायो । मलाई आस्तिक बनायो कमसेकम तिनीहरूको आस्थाप्रति । एकपटक सलाम गर्न मन लाग्यो त्यो भिडले ऋषिकेशको सन्ध्या आरतीमा देखाएको आस्थालाई । आखिर मान्छेलाई सबुत अस्तित्वमा टिकाइराख्ने तत्त्व यदि केही छ भने त्यो आस्था नै त हो । अन्तिम साससम्म, अन्तिम घडीसम्म मान्छे विश्वासको लहरा समातेरै बाँचेको हुन्छ । तर, मान्छे आफ्नो अहमका कारणले त्यो देखाउँदैन । ऊ आफूभित्र विद्यमान आस्थालाई आफ्नै अहम्का अघिल्तिर हाबी हुन दिँदैन । कति हठी हुन्छन् मान्छे ? सायद म यी पंक्तिहरू कोरिरहँदा आफूभित्रको आस्था र अनास्थाको द्वन्द्व गराएर आफ्नै अहंको प्रभुत्व कायम गर्न खोजिरहेको हुँदो हुँ । तर, यो सब गर्नु भनेको हावामा पौडी खेल्नुजस्तै हो ।
मलाई यो कुरा पनि ऋषिकेशले सिकायो । त्यो पनि पहिलो दिन ।
आरती सकिएपछि म रामझुलाको पुलमा गएँ । ओहो † कस्तो बेजोड हावा † सरर धेरै परबाट पिङ खेलेजस्तो गरेर आउँदै जाँदै गर्ने हावाका झोँकाले निथु्रक्कै बनायो । मान्छे त्यही हावाको लोभले पुलभरि छ्याप्छ्याप्ती छरिएका थिए । बेलाबेलामा उत्तराखण्डका लोकल मोटरबाइकको ओहोरदोहोरले भने त्यो वातावरणलाई निक्कै नमज्जाले बिथोल्थ्यो । होइन भने त्यहाँ अरू कुरामा खोट लगाउने ठाउँ थिएन । पुलबाट वारि र पारि देखिने दुवैतिरका बजारको झिलिमिली झन् बेजोड । इन्लाइटेड नै हुन्छु कि जस्तो लाग्यो ।
निक्कै बेरसम्म त्यहाँ हावा खाइसकेपछि अब जाडोले र भोकले सताउन थाल्यो । त्यहाँको सानो चुटुक्क परेको बजार अलिकति लेकसाइडजस्तो, अलिकति ठमेलजस्तो लाग्ने । झिलिमिली । शीतल मौसम । कुनै–कुनै पसलबाट गायत्री मन्त्रको मधुरो संगीत प्रासारित भइरहेको थियो ।
ओहोरदाोहोर गर्नेमा प्राय: पश्चिमा पर्यटक नै ज्यादा देखिन्थे । भारतीयहरूमध्ये चैँ बंगाली ज्यादा । एउटा होटलमा छिरेर थाली मगाएँ । त्यो खाइसकेपछि साइबर छिरेँ । केहीबेरअघि भेटिएकी सराहालाई फेसबुकमा सर्च गरेँ तर फेला पार्न सकिनँ । अनि, लागेँ पिंक होटलतर्फ । सराहाको रुम अँध्यारै थियो । अझै आइसकेकी थिइन सायद ऊ ।
खाटमा पल्टँदै गर्दा त्यो दिनभरिका घटना स्मृतिमा ओर्लिरहे । पूरै नियाल्न पाइनसक्दै म निद्रामा विलीन हुन पुगेछु ।
अर्को दिन लक्ष्मणझुलातर्फ गएँ । उतै खाना खाएँ । फर्कने बेलामा एउटा खालीखाली ट्याम्पोमा बसेँ । भरिएपछि मात्र हिँड्ने चालकले बतायो ।
‘ऋषिकेशमा बियरसियर पाइँदैन ?’ ड्राइभरसँग गफिने मुडमा सोधेँ ।
‘यता त पाइँदैन,’ ड्राइभरले मसुमुसु हाँस्दै बतायो, ‘रायबाडा नै जानुपर्छ ।’
‘कति टाढा हो रायबाडा ?’ सोधिटोपलेँ ।
‘बीस पच्चीस मिनेट लाग्छ ।’
त्यसपछि थप प्रश्न गरिनँ । रक्सी र मासुप्रतिको सुरुचिमा उल्लेख्य कमी आएको थियो, कमसेकम ऋषिकेश छिरिसकेपछि ।
दिउँसो फेरि रामझुलामै फर्केर गंगाजीको चीसो पानीमा खुट्टा चोबलेर बसिरहेँ । यहाँ आएदेखि प्रत्येक पल मलाई आनन्द भएको छ । कहिल्यै बिर्सन नसकिने गरी बसेको छ स्मृतिपटमा गंगाजीको चिसो पानी । रामझुलामा सरर बातिएर हाउने हावाको शीतलता अझ पनि बेलाबेलामा महसुस गर्छु । सन्ध्या आरतीको माहोल र त्यहाँ भक्ति संगीतमा लीन हुने धर्मावलम्बीको आस्थाबाट कुन हदसम्म प्रभावित भएँ, साध्यै छैन ।
दसैँको टीकाको दिन थियो । सधैँ काठमाडौँमा मनाइने दसैँको माहोललाई मैले पटक्कै मिस गरिनँ । ऋषिकेशमा टीका, तासको खाल, मासु, रक्सी, भीडभाड केही पाइन्न । यहाँ सादा जीवन र सस्ता दिनचर्या छन् । यदि नेपालमा घर परिवारमा जमघट गरेर मनाइने दसैँलाई खुसी भनिन्छ भने मलाई भन्न कर लाग्छ– ऋषिकेशमा त्यो खुसी छैन । तर, दुख: पनि छैन । यहाँ कोही भोकै मर्दैन । त्यसैले कोही दु:खी छैन । बाटोमा हिँड्दाहिँड्दै साथी बन्छन् । र फेरि छुटिन्छन् । फेरि बन्छन् । जीवनजस्तै जीवन छ यहाँ ।
दिउँसो धेरै नै आलस्य भएपछि एक झमक सुत्न भनी पिंक होटलतर्फ लागेँ । आफ्नो रुम छिर्ने बेलामा सराहाको रुम नियाल्न मन लाग्यो । ऊ त्यहाँ देखिइन । त्यहीँको कामदारलाई सोधेँ । उसले बिहानै चेक आउट गरिसकिछ ।
ढोका पूरै खुलै थियो । ओछ्यानमा एउटा आधा प्रयोग गरिएको ट्वाइलेट पेपर मात्र बाँकी थियो अनि बाँकी थियो उसको शरीरबाट आउने पफ्र्युमको सुगन्ध । बाटोमा हिँड्दाहिँड्दै भेटिएर बनेकी साथी बाटोमै हराई । जीवनजस्तै जीवनको एउटा भोगाइ । आज सराहा पिंक होटलको रजिस्टरमा एउटा नाम बनेर थन्किई । र, भोलि म पनि त्यसरी नै थन्किनेछु ।

प्रतिक्रिया