पत्रकार सिंह माथि आक्रमणको प्रयास

बाजुरा,२५ असोज । बुधबार बाजुरा जिल्लाको सदरमुकाम मार्तडीस्थित अस्पताल लाइनमा अन्नपूर्ण दैनिकका स्थानीय सम्वाददाता प्रकाश सिंहलाई जिल्ला विकास समितिका एक जना पियनले आक्रमणको प्रयास गरेका छन् ।
मदिरा सेवन गरेर आएका पियन खड्कबहादुर रानाले सिंहलाई अभद्र गालीगलौज सहित आक्रमणको प्रयास गरेको पीडितले जनाएका छन् ।
रोशनी होटलमा खाना खाएर बसेका सिंहलाई मदिराको मातमा आएका रानाले अकस्मात गालीगलौज गर्न शुरु गरेका थिए । रानाले आक्रमणको प्रयास गरे पछि पत्रकार सिंह ज्यान जोगाएर भागेका थिए । रानाले पत्रकार सिंहलाई गालीगलौजका साथै आक्रमणमा उत्रिनुको कारण खुलेको छैन ।
यसैबीच पत्रकार महासंघ बाजुराले पत्रकार सिंहको सुरक्षाको माग समेत गरेको छ । सिंह स्थानीय रेडियो रामारोशनमा समेत कार्यरत छन् ।

प्रतिक्रिया