होचाले देखेको अग्लो संसार

हामी अग्लो चुचुरो रहेको देशका नागरिक । हामीसँग भएको त्यही चुचुरो हाम्रो सानको कारण पनि छ । अग्लाहरूको इतिहासको विश्वमा छुट्टै सान छ , मान छ । ‘अग्लो हुनु’ भनेको जित्नु पनि त हो । नत्र सगरमाथाको अग्ल्याइका कारण हाम्रो शान कहाँ चुलिन्थ्यो र ? र, ‘अग्लो हुनु’ भनेको सेक्सपियर बन्नु , देवकोटा बन्नु या आइन्सटाइन बन्नु पनि त हो । जहाँ विचारको अग्ल्याइलाई खास उचाइ मानियोस् । यहाँ चन्द्रबहादुर डाँगीको होचाइको बारेमा लेखिन लागिएको छैन । छ त, उनको अग्लो विचारको अनि उनले देखेको अग्लो संसारको बारेमा ।
पृथ्वीमा आ–आफ्नो संघर्षयात्रा गरिरहेका करिब ८ अर्ब मानिसको कदबीचमा चन्द्रबहादुर डाँगीलाई गिनिजबुक्सले केही महिना अघि मात्र ‘होचो’को पदवी भिराइदिएको छ । उनी त्यही ‘होचो’ लेखिएको गिनिजको ‘अग्लो’ प्रमाणपत्र लिएर संसारको सर्वोच्च शिखर रहेको आफ्नो भूगोल छिरे । पहिलोपटक निकै टाढासम्म पुगेर आएका चन्द्रका लागि संसार एउटै लाग्यो, उस्तै लाग्यो । दाङको रिमखोली गाउँमा उनको घर छ । जहाँ करिब दुई सयजति घर छन् । केही घरमा सोलार प्यानल भए पनि टेलिभिजन छैन । तर, उनी फर्केपछि नेपालका टेलिभिजनमा उनी बजिरहे ।
हालैको एक दिउँसो उनी चाबहिलस्थित एक घरको भुई कोठामा भेटिए । टेलिभिजनको क्यामरा उनको अगाडि दंग परेर बसिरहेको छ । र, टिभीवालाहरू उनलाई केरकार गरेझैँ प्रश्न गरिरहेका छन् । आफ्ना दर्शकहरू धित मारेर मनोरञ्जन गरुन् भन्ने उनीहरू चाहन्छन् क्यार † उनलाई एउटै प्रश्न दसौँ पटकसम्म सोधिँदै छ, ‘बा, मस्तकी तरुनी आएर बिहे गरौँ भनी भने के गर्नुहुन्छ ?’ ७२ वर्षे वृद्ध देहलाई सुम्सुम्याउँदै चन्द्र बहादुर लामो खोकी खोक्छन् र ‘अग्लाहरू’लाई पटकै पिच्छे उत्तर दिन्छन् – ‘बुढेसकालमा क्यार्नु, गर्दिनँ म बिहे ।’ बलिउडका सुपरस्टारका बडीबाट मख्खिएका आजकालका तरुनीहरूलाई चन्द्रबहादुरप्रति कत्ति पनि मोह हुन्न भन्ने थाहा हुँदाहुँदै पनि मनोरञ्जनात्मक प्रश्नहरू चन्द्रबहादुर तिर तेर्सिएकै छन् ।
चन्द्रबहादुर देखेर ८ अर्ब मानिसहरू अचम्मित होलान् । तर, के चन्द्रबहादुरसँग मानिसहरू अचम्मित हुने उनको शरीरको उचाइदेखि मात्र हो त ? उनीसँग अरू पनि त कुरा छन् जो ८ अर्ब मानिसभन्दा भिन्न छन् । फरक यस अर्थमा कि, उनी ‘होचा’ भएर पनि ‘अग्लो’ विचार राख्छन् । दाङबाट आफूसँगै काठमाडांै आएका भतिजा तिलकबहादुर डाँगीलाई साक्षी राखेर उनी भन्छन्, ‘मेरो जीवन यहाँसम्म आइपुग्यो, मलाई अहिलेसम्म कसैले चित्त दुखाएको छैन ।’ ‘उहाँले पनि कसैको चित्त दुखाएर भनेको, दु:ख बनाएको हामीलाई कहिल्यै थाहा भएन’ भतिजाले भने ।
आफ्ना बाल्यकालका धमिला स्मरणहरू चन्द्रबहादुर टक्टक्याउँदै छन् । बुवाको अनुहार त उनलाई याद छैन । करिब १४ वर्षसम्म उनले आमाको माया अनुभव गर्न पाए । त्यसपछि त आमाले पनि उनलाई छोडेर गइन् । जिन्दगी बन्यो एक्लो । दुई दिदीहरू र उनी समेत गरे ६ भाइ उनको आमाको कोखबाट जन्मेका थिए । उनका बालसखाहरू उनै दिदी र दाजुभाइहरू भए । डाँगीले पढ्ने मौका पनि पाए । गाउँको नजिकै रहेको स्कुलमा उनले पाँच कक्षासम्म त पढे तर धेरै पढ्न टाढाको स्कुल जान उनलाई समस्या पर्‍यो । घर वरिपरि नै गोठालो बनेर गएको किशोरबेलाका पल उनको दिमागमा अहिले पनि सलबलाउँछन् । उनि भन्छन् – ‘त्यसबेला सबै साथीहरूले माया गर्थे र म पनि उनीहरूसँग खुब रमाउँथे ।’
टिभीवालाहरूले उनलाई गीत गाउन हैरान गरेपछि बल्ल बल्ल सम्झेर (बैँसबेलामा उनले यो गीत खुब गाउँथे रे) उनको मुखबाट फुत्किन्छ, ‘पानको पात , माया तिम्लाई सम्झन्छु दिनको रात, मस्र्याङ्दी सलल…।’ र, अब यही गीत टेलिभिजनको रंगिन काँचबाट निस्कदैँ गर्दा दर्शक मस्त मनोरञ्जन लिनेछन् । जसरी आफ्नो जीवनको युवाबेलाको कुनै समय चन्द्रबहादुर गाउँलेहरूलाई बडो रसिक पारामा गीत, चुट्का सुनाउँथे । उनले बजाएको मादलको आवाज सुनेर गाउँले पट्ठा पट्ठीहरू लट्ठ पर्दै आँखा जुधाउँथे । चन्द्रबहादुर त अग्ला विचारका मानिस, सबैलाई राम्रै देख्ने मानिस, उनी लट्ठ पर्दै आँखा जुधाउनेहरूलाई मुस्कान बाँड्थे । र, प्रेमभावमा मुरलीमा धुन हाल्थे । यी सबैको साक्षी छन् उनकै भतिजा जो आफ्ना काकालाई लिएर काठमाडौं आएका छन् ।
शारीरिक रूपमा होचो हुनु एक किसिमको रोग नै हो । देश , कहिल्यै पनि आफ्नो नागरिकको रोगका कारण गर्व गर्न सक्दैन । र, चन्द्रबहादुर पनि त्यही एकखाले रोगले ग्रसित व्यक्ति हुन् । उनीसहितका ६ जना दाजुभाईहरू मध्ये उनी मात्र असाधरण तवरले शारीरिक रूपमा होचिन पुगे । चिकित्सकहरूले डाँगी शारीरिक रूपमा होचो हुनुलाई ‘प्रिमोरडियल ड्वाफिसम’ भएको ठान्छन् । त्यसो त डाँगी कुनै चिकित्सकको शरणमा जानु त परको कुरा अहिलेसम्म उनले एउटा पनि औषधि खाएका छैनन् । डाँगीको २१ दशमलब ५ इन्चको उचाई विश्वको पृथक उचाई हो । यति कम उचाई भएको मानिसको मापन गिनिज बुक्सले अहिलेसम्म गरेकै थिएन । यतिका वर्षसम्म गुमनाम रहेका डाँगी अन्तत: चर्चामा आए , जब उनलाई गिनिजबुक्सले सम्मान गर्‍यो ।
डाँगीलाई नजिकबाट नियाल्नेहरू उनको खुब सम्मान गर्छन् । हाल भतिजासँगै बस्दै आएका डाँगी भाउजूलाई खुब माया गर्छन् रे † घरायसी काम देखि व्यावहारिक काममा भतिजाहरू ज्हिले पनि उनीसँग सल्लाह गर्दारहेछन् । त्यस्ता कुरामा सुझाव, सल्लाह र अर्ती दिइरहन्थे उनी । अचेल भने सल्लाह दिइरहनुपर्छ जस्तो लाग्दैन रहेछ उनलाई । अहिले त उनी वृद्ध अवस्थामा छन् । वृद्ध भत्ताबापत आएको रकमले अहिले उनलाई खानाचाहिँ पुगेको छ । उनले युरोपदेखि अष्ट्रेलियाका सहरसम्म घुमे । अहिले पनि कसले कहाँ बोलाउँछ थाहा नै हुन्न । त्यही भएर होला चन्द्रबहादुर डाँगीलाई आफ्नै गाडी भइदिए हुने जस्तो पनि लाग्ने रहेछ । भतिजा भन्छन् –‘गाडी किन्ने त हामीसँग कहाँ हैसियत छ र ?’
होचो कदका यी व्यक्तिको नजरमा संसार अग्लै छ । संसारका हरेक ‘अग्ल्याइहरू’ प्रति सकारात्मक छन् उनी । कुराकानीको हरेक वाक्यमा उनीसँग एउटा शब्द हुन्छ –‘राम्रो’ उ र, लाग्छ उनी राम्रैका लागि बाँचेका एक सकारात्मक उचाई भएका व्यक्ति हुन् । जुन भावसँग भने देशले गर्व गर्ने ठाऊँ रहन्छ । यसर्थ देशले सगरमाथा टेकेर भन्न सकोस्, ‘हामी अग्ला विचारका मानिस ।’

प्रतिक्रिया